होलैसुङ र हलेसी गढी पुस्तक तथा वृत्तचित्र लोकार्पण

0

 

होलैसुङ र हलेसी गढी पुस्तक  तथा वृत्तचित्र लोकार्पण

–सुम्दिमा रानोहोँछा 

काठमाडौ –प्रदेश नम्बर–०१ खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अवस्थित हलेसी गढी सम्बन्धी  ऐतिहासिक विषयवस्तु सहितको सामग्री संग्रहित पुस्तक ‘होलैसुङ र हलेसी गढी’ एवम्  ‘हलेसी गढी वृत्तचित्र’ लोकार्पण गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक  गत आइबार नगरपालिका सभाहलमा एक कार्यक्रमको आयोजना गरी  “पुस्तक तथा वृत्तचित्र“ लोकार्पण गरिएको हो । सो ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले लोकार्पण गरेका हुन् । ऐतिहासिक स्थल हलेसी गढीको इतिहासलाई अभिलेखीकरण र  संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरणका लागि इतिहास खोतली पुस्तक र भिडियो वृत्तचित्रमा संग्रहित गरिएको हलेसी गढी संरक्षण कार्यदलका संयोजक भूपेन्द्रकुमार राईले बताएका छन् ।

ऐतिहासिक हलेसी गढी पुस्तक ३ भाषा नेपाली, चाम्लिङ र अंग्रेजीमा प्रकाशित  गरिएको छ । संरक्षण कार्यदलले दिएको जिम्मेवारी अनुरुप मुन्दुम अध्ययन, अनुसन्धाता भोगीराज चाम्लिङले इतिहासकार, विज्ञ, लेखक, संस्कृतिविद् र ऐतिहासिक गढी सम्बन्धी जानकार स्थानीयहरुसँगको अध्ययन मनन् र छलफलका आधारमा ‘होलैसुङ र हलेसी गढी’ को दस्ताबेजीकरण गरेको बताइएको  छ ।

त्यस्तै  ऐतिहासिक हलेसी गढी सम्बन्धी भिडियो वृत्तचित्र पत्रकार दिपेन्द्र राईको लेखन तथा निर्देशनमा तयार भएको जनाईएको छ । इतिहास अध्येताका अनुसार हलेसी गढीमा करिब चार सय वर्ष पहिले किरात राजा होलेसुङले राज्यसत्ता सञ्चालन गरेका थिए । इतिहासमा हलेसी थुमका तिनै प्रथम कविला होलेसुङकै नामबाट त्यस ठाउँको नाम  हलेसी रहन गएको उल्लेख छ ।

ती किराती राजा होलेसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा विक्रम संवत् १८३० भदौमा पृथ्बीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको मुन्दुम संस्कृति अध्येता चाम्लिङ बताउँछन् ।

ऐतिहासिक स्थान हलेसी गढी सम्बन्धी पुस्तक तथा वृत्तचित्रले भविष्यमा गढीको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा सरोकारवालाले  गरेका  छन् । ‘ऐतिहासिक हलेसी गढीको इतिहास, कथा–कहानी पुर्खाले भन्दै गए, सन्ततिले सुन्दै आएतापनि  स्मृतिका कुरा पुस्तान्तरणसँगै क्रमशः विस्मृत तर्फ उन्मुख हुँदै गएका छन् ।  

ऐतिहासिक गढीमा रहेका पुर्खाको चिनो, पुरातात्विक महत्वका विभिन्न भौतिक पहिचान हराउँदै नासिँदै गइरहेको अवस्थामा गढीको अस्तित्व जोगाएर यसैबाट आत्मसम्मान र आयश्रोत प्राप्त गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने नैतिक दायित्व र जिम्मेवारी बोध गरी कार्यसम्पादन  सम्पन्न गर्न सफल भएको कार्यदल सम्योजक  भूपेन्द्रकुमार राईको भनाइ छ ।

यसबाट इतिहास, संस्कृति र गढीलाई पर्यटनसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टेवा पुग्ने अपेक्षासमेत गरिएको छ । ऐतिहासिक होलैसुङ र हलेसी गढी’ पुस्तक  एवं ‘हलेसी गढी वृत्तचित्र’ लोकार्पण समारोहमा  ’कवि तथा गीतकार भुपाल राई, किरात राई यायोक्खाका पूर्व अध्यक्ष,  संस्कृतिकर्मी चतुभक्त राई, डा. धनप्रसाद सुवेदी, डा.भक्त राई, लेखक चन्द्रकुमार राई हतुवाली, संस्कृतिकर्मी शालिक सताशक, दलका स्थानीय नेता, कार्यकर्ता, वडाध्यक्ष लगायतको   उपस्थितिमा कार्यक्रम समापन भएको थियोे । 

हलेसी तुवाचुङ नगरपालिकाको पहलमा गत २०७८ असार २१ गते हलेसी गढीको संरक्षण र सम्बर्द्धनका लागि  पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । मध्यपहाडी लोकमार्गको फलस्वरूप जयराम–हलेसी सडक अन्तर्गत दुर्छिमको छापडाँडा भन्दा केही माथि र रावाचुङगढी नजिकै रहेको हलेसीगढी पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य एवम् ऐतिहासिक अध्ययनको केन्द्रको रुपमा विकासको गति अघि बढेको छ ।

सल्लाघारीमा अवस्थित हलेसी गढीले कीर्तिपुर दरबार, पाटन दरबार, हनुमानढोका  दरबार, गोरखा दरबारको जस्तै ऐतिहासिक महत्व बोकेको भए पनि प्रचारद–प्रसारको अभावका  साथै सडक सञ्जालको असुविधाको ओझेलमा परेको स्थानीय वासिन्दा बताउँछन् ।

साभार– सुम्निमा साप्ताहिक


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top