आइएल लिगमा शीर्ष खेलाडीको पारिश्रमिक ४ लाख ५० हजार अमेरिकी डलर

0


आइएल लिगमा शीर्ष खेलाडीको पारिश्रमिक ४ लाख ५० हजार अमेरिकी डलर


काठमाडौं, एजेन्सी । यूएईको फ्रेञ्चाइज लिग इन्टरनेसनल लिग टी–२० (आइएल टी–२०) ले विश्वका शीर्ष खेलाडीलाई एकै सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको छ । यो पारिश्रमिक क्रिकेट लिगमध्ये भारतको इण्डियन प्रिमियर लिग (आइपिएल) पछिको सबैभन्दा बढी हो । जसले गर्दा यूएईको टी–२० लिग आइपिएलपछिको आकर्षक लिग खेल बन्ने भएको छ । 

आइएल टी–२० ले प्रतियोगितालाई आकर्षक र विश्व क्रिकेटको ध्यान तान्न खेलाडीलाई मोटो रकमको पारिश्रमिक दिने योजना बनाएको हो । मोटो रकमकै कारण विश्वका प्रतिष्ठित खेलाडी प्रतियोगिता खेल्न आउने अनुमान गरिएको छ ।

खेलको लागि इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले स्वीकृती दिए पनि लिगको स्वामित्व भने हुनेछैन  । इसिबीका उपाध्यक्ष खालिद अल जरुनी र बोर्डका महासचिव मुबाशिर उस्मानीको नेतृत्वमा लिगको व्यवस्थापन हुनेछ ।

जनवरी २०२३ मा हुने लिगका हरेक टोलीले खेलाडीको तलबका लागि २.५ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउने प्रावधान राख्ने तयारी गरिएको छ । आइपिएलमा सबैभन्दा धेरै कमाउने खेलाडीले प्रति सिजनमा २ मिलियन डलर पाउँछन् । यस्तै, पाकिस्तान सुपर लिगमा २ लाख डलर, द हन्ड्रेडले १ लाख ६४ हजार डलर र बिग ब्यास लिगमा सबैभन्दा बढी प्रतिसिजन २ लाख ३८ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने गरेका छन् ।

यूएईको लिगमा ६ टोलीको सहभागिता रहनेछ भने एक टोलीमा १८ खेलाडी हुनेछन् । लिग २०२३ को ६ जनवरीबाट १२ फेब्रुअरीसम्म हुने तालिका छ । डबल राउण्ड रोबिनमा खेलाइने प्रतियोगिताको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।

लिगका ६ मध्ये तीन टोली आइपिएल फ्रेन्चाइजको स्वामित्वमा छ । मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले युएईको लिगमा पनि टोली किनेका हुन् । बाँकी तीन टोली ल्यान्सर क्यापिटलको स्वामित्वमा छन् ।  

लिगको उद्देश्य एक्सपोजर प्रदान गर्ने र युएईका नयाँ प्रतिभा खोजी गर्ने बताइएको छ । एक टोलीका १८ खेलाडी मध्ये १२ विदेशी खेलाडी राख्न सकिनेछ । एक टोलीमा कम्तिमा तीन यूएईका खेलाडी, दुई एसोसिएट देशका खेलाडी र यूएई यू–२३ टोलीको एक खेलाडी हुनुपर्छ । प्लेइङ सेटमा कम्तिमा एक यूएई र एक एसोसिएट खेलाडीसहित बढीमा नौ विदेशी खेलाडी हुन सक्छन् । 

लिगमा बढीमा ३ लाख ४० हजार अमेरिकी डलर पारिश्रमिक र घटीमा १० हजार अमेरिकी डलर पारिश्रमिक हुनेछ । टोलीले बोनसको रुपमा ५ लाख अमेरिकी डलरसम्म बाढ्न सक्नेछ । पाँच खेलाडी सिधा छनोट गर्न सकिनेछ भने बाँकी खेलाडी ड्राफ्ट र अक्सनबाट छनोट हुनेछन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top