एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजबाट सुरू

0


एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजबाट सुरू


काठमाडौं । नेपाल मन्दलमा रहेको काठमाडौं, भक्तपुर, ललितपुर र थिमि लगायत नेवार समुदायको बसोबास रहेको नेपालको सबै स्थानमा बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ ।

वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास होेस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना हुन्छ । नेपाल संवत्को नवौं महिनामा पर्ने योे पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।

धर्म सञ्चय गर्ने महिनाका रुपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ । भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ । त्यस्तै उपत्यकाका अन्य भागहरुमा पनि शहरमा रहेका चैत्य, मन्दिर र धार्मिक स्थलको परिक्रमा गरि दर्शन गर्ने परम्परा रहेको छ । यस महिनामा हुने पर्ब मनाउन बौद्ध धर्मालम्बीहरुको गुँला बाजा गुथि नै स्थापना गरेको हुन्छ ।

यस दिनबाट एक महिनासम्म परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास रहेको छ ।

प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेलामा काठमाडौँ तथा आसपासका क्षेत्रहरुमा एकाबिहानै सुमुधर बाजाका साथ सर्वसाधारणहरु नगरको परिक्रमा गर्ने गर्छन् ।  साथै यो एक महिना माछामासुका साथ मद्यपान लगायत अन्य लतहरु छोड्ने र शुद्धचित भएर साधा जीवन बिताउने अभ्यास गरिने गर्दछ ।

सो पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककालदेखि नै अभ्यासमा रहेको जनविश्वास छ । बौद्ध विद्वान् भिक्षु तपस्सी धम्मका अनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्यमा परिक्रमा तथा सेवा गर्ने चलन रहेको र त्यही सेवालाई कालान्तरमा ‘गुँला धर्म’ भनिएको हो । भाषा वंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो परम्परा चलाएका हुन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top