भक्तपुर । मध्यपुर थिमिमा सापारु अर्थात गाइजात्राको भोलीपल्टबाट चार दिन संचालन हुने लाय्कु भैलः प्याख कार्य बुधबारबाट थिमिको लाय्कू (दरबार परिसर) भित्र शुरू भएको छ ।
मध्यपुर थिमि नगरपालिकाको मुख्यतया ३ वटा नगरहरु थिमि, नगदे, बोदेमा सापारु अर्थात गाइजात्राको भोलिपल्टबाट चार दिनसम्म बिभिन्न प्रकारका सांस्कृतिक नाचहरुको मन्चन हुने गर्दछ । जुन नाचबाट नगरबासीहरुले मनोरञ्जनका साथै आत्मसन्तुष्टी पनि लिने गर्दछ । बिगतमा अहिले जस्तो मनोरञ्जनको माध्यम नहुँदा नगरबासीहरुको लागि असारको सिनाज्या पछिको फुर्सदको समय मनोरञ्जन र हर्षोउल्लासका साथ मनाउने परम्परा रहेकोले यो मानव मष्तिष्कलाई जागरुक बनाउने तान्त्रिक प्रक्रिया पनि हो ।
गथांमुगःचह्रेको दिन नित्यनाथको पूजाआराधना गरि लाय्कु भैलः नाचको बिधिवत प्रशिक्षण शुरू गर्ने परम्परा रहेको लाय्कु भैलःका गुरु अर्जुन श्रेष्ठले बताएका छन् । नाच लाय्कु (दरबार परिसर)मा नै हुने गर्दछ ।
लाय्कु भैलःमा ज्यापुंगःचा एक जना, भैरब २ जना र दागिं २ जना गरि ५ जना कलाकारहरु हुने गर्दछ ।
यस बर्षको नाचमा ज्यापुंगःचामा रिसल साःछेँ श्रेष्ठ, न्हापा भैलःमा उज्वल छुँ श्रेष्ठ, लिपा भैलःमा रोमन चितुवा श्रेष्ठ, न्हापा दागिंमा सुजल सिबंजा श्रेष्ठ र लिपा दागिंमा श्रयण छुँ श्रेष्ठले भूमिका निभाउने भैलः गुरु श्रेष्ठले जानकारी दिए ।
थिमिको लाय्कू भैलः नाच, भक्तपुरको नवदुर्गा नाच, बोडेको निलबाराही नाचको शुभारम्भ यही गथामुगःका दिनबाट हुने परम्परा रहेको र यी नाच ने.सं. ६३३ मा भक्तपुरका तत्कालिन राजा सुवर्ण मल्लले चलाएको बंशावलीमा उल्लेख छ ।