ललितपुर । ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साड लिएर त्यसलाई अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ राखिएको छ । यो मेसिनले मासिक १५ सय लिटर अक्सिजन उत्पादन गर्छ । मेसिनले उत्पादन गरेको अक्सिजन वातावरणमा नै मिसिन्छ । जबकि धेरै अक्सिजन उत्पादन गर्ने भनिएको पिपलको रुखले मासिक ५० लिटर अक्सिजन उत्पादन गर्ने अध्ययनहरुले बताउँछ ।
बागमती प्रदेश सरकार र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने संस्था इसिमोडको सहयोगमा च्याउ बायो टेक्नोलोजीजले उक्त मेसिन निर्माण गरेको हो । यो मेसिन अहिले ललितपुरको पुल्चोक र जावलाखेलमा राखिएको छ । उक्त मेसिनको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, बागमती प्रदेश सांसद विजय के.सी. श्रेष्ठ र पूर्वमन्त्री इन्द्र बानियाँले संयुक्त रुपमा उद्घाटन गरे ।
नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण अहिलेको मुख्य चुनौती भएको बताए । ललितपुर महानगर नयाँ र नौलो काम गर्न रुचाउने नगर रहेको बताउँदै वातावरण संरक्षणमा युवा पुस्ताले गरेको कामको प्रसंशा गरे ।
बागमती प्रदेश सांसद विजया केसी श्रेष्ठले पूर्वमन्त्री इन्द्र वानियाँले प्रदेशभित्र रहेका नगरपालिका जहाँ धेरै प्रदुषण छ, त्यहाँ यो मेसिन राख्नुपर्ने बताए । बागमती प्रदेशले प्रदेशभित्रका अन्य नगरपालिकाका विभिन्न स्थानमा यो मेसिन राख्ने व्यवस्था मिलाउनुपर्ने बताए । उनले युवा वैज्ञानिकहरुको कामको उच्च प्रसंशा गरे ।
नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका बाँनियाले विकासलाई प्रविधिसँग जोड्नु अत्यावश्यक भएको बताए । शिक्षाविद् केदारभक्त माथेमाले नेपालमै बसेर काम गर्ने च्याउ बायो टेक्नोलोजीजका युवाहरुलाई सरकारले प्रोत्साहित गर्नुपर्ने बताए । च्याउ बायो टेक्नोलोजीजका संस्थापक मेकानिकल इन्जिनियर गुन्जन घिमिरेले हावामा भएको कार्बनडाइअक्साइडलाई अक्सिजन बनाउने बताए । यो मेसिन विरुवाको विकल्प नभएको बताउँदै प्रदुषण धेरै भएको ठाउँमा यो मेसिन राख्न सकिने बताए ।