अहिलेसम्मकै ठूलो परिमाणमा अखाद्य सामग्री जफत, रु. तीन लाख जरिवाना

0

अहिलेसम्मकै ठूलो परिमाणमा अखाद्य सामग्री जफत, रु. तीन लाख जरिवाना


भक्तपुर । भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’ मा शुक्रबार छापा मारी रु. १४ लाख बराबरको बिभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरि नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा किरा परेको, कुहिएको चालम, दाल र तेल जफत गरि नष्ट गरेको हो ।

व्यापारी महेश ठकुल्लावटले सञ्चालन गरेको स्टोरको चार तले घर र एउटा टहरामा गोदाम गरि राखेको खाद्यान्न मध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरि पुन प्याकेजिङ गरि बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो । सहायक प्रजिअ शर्माले भन्नुभयो, “उपभोक्ताले दिएको उजुरीका आधारमा हामीले तत्कालै अनुगमन गरेका हौ, तर यहाँ त अचम्मै देखियो, बिग्रिएका चामल रिफाइन गरि बिभिन्न ब्राण्डका नयाँ बोरामा पुनः प्याकिङ गरि बिक्री गरिदो रहेछ ।”

व्यापारीले गोदाम घरमै मेशिन राखी बोरामा कुहिएका, घुन र किरा परेका चामललाई मेशिनमा राखेर किरा, घुन छुट्याई, चामललाई पुन सेतो बनाएर बिभिन्न नामका बोरामा प्याकिङ गरेर त्यही सिलाएर पुनः बिक्री गर्ने गरेको पाईएको उहाँले जानकारी दिनु भयो । टोलीले गोदाम घरबाट ६ घण्टा लगाएर ११९ क्विन्टल चामल, नौ क्विन्टल ७५ किलो दाल, ६३६ लिटर तेल जफत गरि भक्तपुर नगरपालिकाद्धारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “अब फेरी बजारका कुनै पनि खाद्य स्टोरमा यस्तो लापर्वाहीको पराकाष्ट देख्न नपरोस, प्रत्येक व्यवसायी र यसका छाता संगठन उपभोक्ताको अधिकारप्रति जिम्मेवार बन्दै नियम पालना गर्नु पर्यो, एउटा पक्ष, व्यक्ति र निकायले मात्रै यो बेतिथिलाई रोक्न सकिदैन, त्यसैले सबै व्यवसायी, उपभोक्ता, जिम्मेवार नियामक निकायबीच सक्रिय समन्वय हुनु पर्यो अनि मात्रै रोक्न सक्छौँ ।” म्याद गुज्रेको सामान पुनः बिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको बताउदै उहाँले नियमानुसार रु. तीन लाख जरिवाना गरिएको बताउनु भयो ।

अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले यो अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नु परेको बताउदै यसैलाई आधार मानेर अरु व्यापारीले पनि यस्ता गल्ती नगर्न सचेत गराउनु भयो । बिग्रिएको कुनै पनि खाद्यान्न बिक्री गर्न पाइदैन, यहाँ त चामल लगायतका खाद्यान्न पुन प्याकेजिङ गरि बिक्री गरेको पाईयो भन्दै उहाँले अधिकार व्यापारीलाई नभएको बताउनु भयो ।

अनुगमनकामा उद्योग वाणिज्य संघ भक्तपुरका सचिव एवं संघका अनुगमन समिति संयोजक विश्वराम दुवालले चामलमा घुन मात्रै नभई किरा पनि भेटिएको, भुँईभरि चामल छरिएको, मुसाको लिँडहरु चामलमा रहेको, कुहिएको चामल बिक्री गरेको पाईएको बताउनु भयो । उहाँले बिग्रिएको एउटै चामल बिभिन्न ब्राण्डका नयाँ बोरामा प्याकिङ गरि फरक मूल्यमा बिक्री गरेको भन्दै सामानको मूल्य लिए पछि राम्रो सामान बिक्री गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले यो घट्ना व्यापारीको प्रतिनिधि घट्ना मात्रै भएको भन्दै बजारका धेरै व्यापारीले यस्तो धन्दा चलाएको सूचना आएकाले बजार अनुगमनलाई कडाई गरेर कारबाहीलाई फराकिलो पार्नु पर्ने बताउनु भयो । आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उहाँले अब यस्ता गोदाममा छापा मार्नु पर्ने औषधिमा पसलमा समेत छापा मारेर कारबाहीको दायरामा ल्याउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

अहिलेसम्मकै ठूलो परिमाणमा अखाद्य सामग्री जफत, रु. तीन लाख जरिवाना


व्यापारी ठकुल्लावटले भने घुन लागेको चामललाई सफा गरेर नयाँ बोरामा प्याकिङ गरेर बजारमा पठाउने गरेको स्वीकार्दै रिप्याकिङ गर्ने अनुमति लिनु पर्छ भन्ने थाहा पाए पनि थोरै परिमाणमा बिग्रने भएकाले अनुमति नलिएको दाबी गर्नु भयो । बिग्रिएको दाल खुल्ला रुपमा बिक्री गर्ने, म्याद गुज्रिएको तेल दुनोट बनाउने व्यवसायीदेखि बिभिन्न परिकार बनाउने होटलहरुमा बिक्री गर्ने गरेको अनुगमनको क्रममा पाईएको छ ।

भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले उक्त स्टोरलाई भक्तपुर नगरपालिकाले दुई पटक जरिवाना लगाए पनि अटेर गरेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले यसअघिको अनुगमनमा रु.२५ हजार जरिवाना लगाएर सचेत गर्दा पनि अटेर गरेको पाइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top