भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नक्सा पास नगरी निर्माण गरेका संरचनालाई कानुनी दायरामा ल्याउने बताएका छन् । उनले मनोहरा करिडोरमा सडक अतिक्रमण गरी विभिन्न व्यवसायहरु सञ्चालनमा रहेकाले तिनीहरुलाई व्यवस्थित गर्नका लागि समेत कानूनी उपचार खोज्ने बताए ।
बुधबार मनोहरा जग्गा एकिकरण आयोजना अन्तर्गत अरनिको राजमार्ग दक्षिणतर्फको क्षेत्रको अनुगमन गर्दै उनले आयोजना क्षेत्रभित्र बस्ती बिस्तारसँगै सडक अतिक्रमण गरी ठेलागाडामा व्यापार गर्नेलाई नियन्त्रण गरिने बताए ।
उनले सो ठाउँको पार्कलाई खुल्ला गरी सर्वसाधारणको पहुँचमा पुर्याउने, घाट व्यवस्थापन गरी करिडोरको काम सम्पन्न गर्नुपर्ने बताउँदै त्यसका लागि नगरपालिकाले पहलकदमी लिएर अतिक्रमण भएका ठाउँहरु खाली गराउनका लागि नगरपालिकाले छिट्टै कदम चाल्ने बताए । साथै उनले व्यवसाय दर्ता अभियान पनि सञ्चालन गर्ने जनाए ।
अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो पालिका क्षेत्रका अतिक्रमण गरेका ठाउँहरुलाई हटाउने कामको धेरै प्रशंसा र थोरै आलोचना भइरहेको बेलामा मध्यपुर थिमिका नगर प्रमुख श्रेष्ठ पनि आफ्नो नगरका अतिक्रमणमा परेका ठाउँहरु खाली गराउने अभ्यासको अध्ययनका क्रममा छन् । सो सम्बन्धी नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरिसकेको छ ।
अनुगमनका क्रममा नगरप्रमुख श्रेष्ठले वि पि पार्कसँगैको ६ मिटर बाटो, मनोहरा करिडोरको ११ मिटर सडक, सनातन मनोहरा घाट, हनुमान मन्दिर परिसर र सामुदायिक भवन, करिडोरको हरियाली क्षेत्र, मनोरम ज्येष्ठ नागरिक पार्क, अरनिको राजमार्ग –खानेपानी आयोजना – खरिबोट सडकको अवलोकन गरेका थिए ।
वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोल, पूर्व वडाअध्यक्ष सुरज खड्का र स्थानीयको पनि उपस्थिती रहेको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
