भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको २०७८ को कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मध्यपुरथिमि स्थित सिबर्ड इन्टरनेशनल कलेजका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
‘नेतृत्व र विकासका लागि शिक्षा’ भन्ने नाराका साथ २०६१ सालदेखि भक्तपुरको शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सिबर्ड इन्टरनेशनल कलेज मध्यपुरथिमिले उत्कष्ट कलेज बन्न सफल भएसँगै यहि भदौ १९ गते कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका सभापति एवं कलेजका अध्यक्ष श्यामकृष्ण मानन्धरले राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सिबर्ड इन्टरनेशनल कलेजले विज्ञान संकायमा ३.८२ जिपिएका साथ शत प्रतिशत विद्यार्थी उत्तीर्ण गरि भक्तपुरमै उत्कृष्ट कलेज बन्न सफल भएको बताउनु भएको छ ।
उहाँले सिबर्ड कलेजमा व्यवस्थापन, कानुन र शिक्षा विषयमा समेत उत्कृष्ट नतिजाका साथ विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको बताउनु भयो । अध्यक्ष मानन्धरले भक्तपुरलाई शैक्षिक गन्तव्यको आधार बनाउन मध्यपुर थिमिमै सक्षम नागरिक तयार गर्न कलेज प्रशासन, व्यवस्थापन र टिम हरपल लागिपरेको बताउनु भयो । उहाँले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा कलेजका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले अबका दिन अझै चुनौतीपूर्ण रहेकाले सोचविचार गरेर अगाडि बढ्नु पर्ने औल्याउनु भयो । कलेजले उत्कष्ट नतिजा ल्याएकोमा जति खुसी छौँ, त्यति नै यो सफलतालाई आगामी वर्षमा पनि कायमै राख्न चुनौती थपिएको भन्दै उहाँले निरन्तर कलेजलाई सफल बनाउन सबैको योगदान उत्तिकै रहने बताउनु भयो ।
त्यसअवसरमा एकेडेमिक डाइरेक्टर बिजयचरण श्रेष्ठले स्थापनाकालदेखि नै कलेजले शैक्षिक इतिहासमा आफ्नो छुट्टै पहिचान कायम गर्दै आएको चर्चा गर्दै हरेक पटकका परीक्षामा उत्कृष्ट अंकका साथ शत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउँदै आएको बताउनु भयो । उहाँले कलेजको उत्कृष्ट पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
