विजयादशमीलाई नेपालीहरूले सबैभन्दा ठूलो चाडको रुपमा मनाउने गर्छन । यसलाई दशै पनि भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाउने भएकोले दशंै भनिएको हो । तर नेवारहरुले यसलाई मोहनी भनेर नौ दिन मान्ने गरेको छ । अन्य हिन्दु नेपालीहरुले मान्ने दशंै भन्दा नेवारहरुको मोहनीको आफ्नै बिशेषताहरु छन् । हुनत नेवारहरुले मान्ने मोहनी नखः (Mohani Nakha) पनि यिनै दस दिन भित्र मनाइन्छ । तर नेवारहरु खास गरी पहिलो दिन प्रतिपदा (नःलास्वनेगु), अष्टमि (कूछि भ्वय्), नवमि (स्याक्वत्याक्व) र दशमी (चालँ) बिेशेषरुपमा मनाउछन ।
नःलास्वनेगु
मोहनी नखः (Mohani Nakha)को पहिलो दिन, आश्विन शुक्ल प्रतिपदामा शुद्ध भई नदीबाट ल्याएको बालुवा आआफ्नो घरको आगम (आगं) अर्थात पूजाकोठामा ब्याड जस्तै बनाएर जौ, मकै, गहुँ आदि छरेर जमरा राख्ने (नलास्वाँ पीगु) गरिन्छ । यस बिधिलाई नःलासनेगु अथवा नःलास्वाँ स्वनेगु भनिन्छ । नःलास्वाँ रोपेको बालुवालाई माटोको भांडो (भ्यगः)ले छोपेर राखिन्छ । साथै शक्तिको प्रतिक कलशमा पानी भरेर देवी देवताहरुको साधना गरी पूजा गरिन्छ । अतः यस बिधिलाई नेपालीमा घटस्थापना पनि भनिन्छ । नःलास्वनेगु देखि बिधिबत मोहनी शुरु भएको मानिन्छ । नःलास्वाँ अर्थात जमरा राम्रोसंग उम्रियोस भनेर ९ दिन सम्म दिन दिनै हेरबिचार गरी पूजा गर्ने भएकोले यसलाइै नवरात्र फुल पनि भन्ने गरिन्छ ।
कूछि भ्वय्
अष्टमीको दिन नेवारहरुले कुछि भ्वय् खाने चलन छ । यस दिन घरघरमा समय्बजि राखेर गणेश र मूलढोका अर्थात पिखालखु पुजा गरी आगममा आआफ्नो पेसा अनुसारको औजार र अन्य सामग्रीहरू जस्तै कोदाली, पेन्चिस, मेसिनरी सामान, किताव कलम आदी, राखेर पूजाआजा गरिन्छ । नेवारीमा यस कार्यलाई थापँ भनिन्छ । सोही बेला तान्त्रिक विधिअनुसार खड्गलाई पनि पूजा गरी आगममा राख्ने चलन छ । यस पूजाको क्रममा एउटा महत्वपूर्ण विधि भनेको मोहनीको कालो टिका थाप्ने हो अर्थात नेवारीमा सिन्हः फय्गु भनिन्छ । एक प्रकारको बत्ति बाल्ने माटोको पाला माकःदलुमा तेलको बत्ति बालेर अर्को माटोको सानो पाला (सलिचा)ले छोपेर राखिन्छ । सलिचा भित्र जम्मा हुने तेलको बत्तीको कालो मोसोनै मोहनीको टिका अथवा मोहनी सिन्हः हो । पूजा सकिएपछि सांझ कुल परिवारका सबै सदस्यहरु एकसाथ बसेर कूछि भ्वय् खाने चलन छ । कूछि भ्वय् खाँदा केराको पातमा राखेर खाने पुरानो चलन अहिले पनि छ । चिउरा पातमा राखेर अरु विभिन्न मासुका परिकारका साथ अरु ९ प्रकारको परिकार राखेर खाने चलन छ । कुल परिवारका सबै संगै बसेर खाने भएको हुँदा यसलाई कूलछि भ्वय् भनिएको र अपभ्रंश भई कूछि भ्वय् हुन गएको भन्ने पनि बिश्वास छ ।
स्याक्वत्याक्व
अष्टमीको रातलाई कालरात्री पनि भनिन्छ । नेवारहरु यसलाई स्याक्वत्याक्व अर्थात जति मार्यो उति जित्ने भन्ने चलन छ । उक्त रात नेवारहरुले अजिमा र विभिन्न शक्तिपिठहरुमा गई हाँस कुखुरा बोका आदिको बलि दिएर पूजा गर्न चलन छ । यो दिन कलकारखाना, मेशिन, मोटर मोटरसाइकललाई पूजा गर्यो भने बर्षभरी दुर्घटनाबाट जोगिन्छ भन्ने जनविश्वास रहेको छ । यो कार्य नवमीको दिन सम्म पनि जारी रहन्छ । यो दिन बलि दिएको जनाबरहरुले फेरी अर्काे जुनीमा जनाबर भएर जन्मनु नपर्ने भन्ने बिश्वासले यसलाई नेवारहरुले स्याक्वत्याक्व भनेको बुझिन्छ ।
तर पछिल्लो केही समयदेखि बिस्तारै बलि दिने प्रथा कम हुँदै गएको पाइन्छ । किनभने दुर्गा भवानी भनेको जगदम्बा अर्थात जगतकी आमा भएकी हुनाले र सबै प्राणिहरु आफ्ना सन्तान भएको कारणले आफ्नै सन्तानको बलि आमाले कसरी स्वीकार्छन् ? यो त मान्छेहरुको मिथ्या दृष्टी हो भनी बलि प्रथालाई त्याग्नेहरु धेरै हुन थालेका छन् । यथार्थमा बलि भनेको आफू भित्रै भएका विकारहरु, जस्तै राग, द्वेस, लोभ, मोह, क्र्रोधलाई संहार गर्नु नै हो । यो कार्य सजिलो अबश्यै छैन । तसर्थ आफूभित्रै भएका बिकारहरुलाई संहार गर्न सक्ने शक्ति हासिल गर्न सकौं भनेर तान्त्रिक बिधिद्वारा पुजा गरी शक्तिको आराधना गरिएको हो । तर कालान्तरमा मानिसहरुले हाँसलाई रागको प्रतिक, बोकालाई द्वेसको प्रतिक, रांगालाई क्रोधको प्रतिक आदि मानेर ती जनावरहरूलाई नै वध गर्ने गलत प्रचलन ल्याएको हुन सक्दछ । बलि नदिने अहिंसाबादीहरुले हांसको फुल राखेर पुजा गर्ने गरेको पनि पाइन्छ ।
नवमीको दिन नेवारहरुले सीकाभू अर्थात बलि दिएको जनाबरको टाउकोको बिभिन्न अंगहरु आँखा, कान, जिब्रो आदि परिवारको सबैभन्दा जेठो थकालिदेखि क्रमैसंग प्रसादको रुपमा दिने चलन छ । बलि नदिने परिवारमा सिकाभू हुदैन । सबै पूजाबिधि सकेपछि सबै परिवारजनसंगै भोज खान्छन् ।
चालँ
नेवारहरुले दशमीको दिन चालँ गर्ने चलन छ । यो दिन घरको सबैभन्दा जेठो ब्यक्तिले बिहानै नुहाई धुवाई गरी पवित्र भई आगममा मोहनी पूजा सम्पन्न गर्दछ । मोहनीको प्रसाद स्वरुप फूल ग्रहन गरी, कालो मोहनी टिका लगाइसकेपछि आगमको देवी देवताको देवत्व प्राप्त हुने भन्ने मान्यता छ । परिवारको जेठो ब्यक्तिथकालीले जहान परिवार सबैलाई क्रमैसँग मोहनी सिन्हः (कालो टिका), नःलास्वाँ र रातो कोखा सहित पूजामा राखेका औजार सामग्रीहरु हस्तान्तरण गर्छन् । यसरी प्रसाद लिंदा आफु भन्दा ठुलालाई ढोग्नु पर्छ र ठुलाले पनि सुख समृद्धि, सुस्वास्थ्यको कामनासंगै सत्य र न्यायको पक्षमा जुझ्न सक्ने शक्ति होस आदी भनेर आशीर्वाद दिन्छन् । यहाँनिर आफ्ना चित्तमा लिप्त बिकारहरु नाश गर्न सक्ने शक्ति होस भनी आशिर्वाद दिंदा अझै उपयुक्त हनेछ ।
चालँ अर्थात दशमीको दिन काठमाडौ उपत्यकाको शहरहरुमा र अन्य नेवार बस्तिहरुमा पायो वा खड्ग जात्रा निकालिन्छ । घरघरमा पनि आगममा पूजा गरिराखेको खड्ग जेठो पुरुष सदस्यले बोकेर आगम बाहिर ल्याउछ । सबै घरपरिबारले खड्ग ढोग्दछन् । यसो गर्नाले खड्गसिद्धी प्राप्त भई शक्ति हासिल हुने बिश्वास छ । खड्ग बोक्ने पायोमा पनि देवी प्रबेश गर्ने भएकोले पायो कांप्न थाल्दछ । त्यस पछि कुभिन्डो, उखू र अदुवाको बोटलाई खड्गले हाने पछि पायो पनि सम्पन्न हुन्छ । किम्बदन्ति अनुसार भगवतिले महिषासुरको बध गर्न खोज्दा ज्यान जोगाउन कुभिन्डो, उखु र अदुवाको बोटमा प्रबेश गरेकोले ती बस्तुहरुलाई पनि काट्ने गरेको भनिन्छ । अर्काे दृष्टिकोणले पायो निकाली कुभिन्डो आदी काट्नु भनेको अन्याय अत्याचारउपर सत्य र न्यायको बिजय भनेर पनि बुझ्ने गरिन्छ । पायो अर्थात खड्ग घरभित्र मात्र होइन, बाहिर समुदायमा पनि धुमधामसंग जात्रा नै गरिन्छ ।
नेवारहरुमा आफन्तहरुको घरघरमा टिका जाने चलन छैन, तर चालँ देखि कोजाग्रत पुर्णिमासम्म छोरी, बहिनी, ज्वाई, भान्जा भान्जिहरुलाई भोज खान निम्तो दिने गरिन्छ । यसलाई नखत्या व्बनेगु भनिन्छ ।
आश्विन शुक्लदेखि पुर्णिमासम्म १५ दिन मोहनी भनेतापनि नेवारहरुले धुमधामसंग मनाउने मूख्य यी चारदिन हून ।
दसैं बारे जनजातिहरुको दृष्टिकोण
नेपालमा शासकीय संरचनामा संघियताको बहस शुरुभएदेखिनै बिभिन्न जातजातिहरुको समाबेशिकरण र जातिय पहिचानको मु्द्दा बाहिर आउन थाल्यो । पहिचान खोज्ने क्रममा आआफ्नो भाषा, संस्कृति, धर्म, परम्पराको बिशिष्टता खोज्दै जांदा कैयौ जनजातिहरु जस्तै गुरुंग, मगर, राई, लिम्बु, थारु आदीले आफुहरु हिन्दु नभएको भन्दै दशैं मान्न छोडेको पाइन्छ । नेवारहरुमा पनि धेरै बौद्ध नेवारहरुले दशंै मान्न छोडेको पाइन्छ । बौद्ध नेवारहरु मध्ये पनि बज्रयानी बौद्धहरु भन्दा थेरवादी बौद्धहरुले मान्न छोडेको पाइन्छ । हिन्दु नेवारहरुले पनि धेरैले मोहनीको पूजाआजामा बलि प्रथालाई त्यागेको पाइन्छ ।
दशै मान्नु नमान्नु आआफ्नो बिचार होला । तर दशै वा मोहनीको मुल सन्देश, जुन असत्य र अन्यायमाथि सत्य र न्यायको बिजय हुन्छ भन्ने छ, सबैको निमित्त अनुकरणीय छ । मोहनीमा मुलत शक्तिरुपि देवी देवताहरु भगवति, भैरव, अजिमा आदीको पूजा गरी आफुमा पनि शक्ति प्राप्त होस भनी कामना गरिन्छ, जुन शक्ति अन्याय र अत्याचारको बिरुद्धमा प्रयोग होस । बलि भनेर अबोध पशु पंक्षिहरुलाई मार्नु भन्दा आफ्नो चित्तमा भएका दानबरुपी राग, द्वेष, क्रोध, लोभ, मोहलाई संहार गर्न सकौ, यही कामना गरी मोहनी मनाउं ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
