भक्तपुर । मोहनीको चालँ अर्थात दशमीको मध्यरातको समयमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग) जात्रा सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्यो (खड्ग देवता)लाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ ।
मोहनी नखःको दशमीको राती तलेजु आगम मन्दिरको खँकुथि कोठावाट तान्त्रिक विधिपूर्वक पुजा गरिएका बलिपात्र र शस्त्र, अस्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने गर्दछ । जात्राको क्रममा तलेजुमा सम्वद्ध राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकवाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पुजा र दर्शन गर्न दिने परम्परा रहेको छ ।
पायःद्यो दरवार स्क्वायर स्थित स्वर्णद्धार पुगेपछि पंक्तिवद्ध रुपमा प्रतिक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन् । तलेजु भवानीवाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो नवदुर्गा देवगण सहित यात्रापथमा अगाडि बढ्ने प्रचलन रहेको छ । जात्रा चन्द्रमासको तिथि र गतिका आधार मनाइन्छ ।
यसैगरी राती नै भक्तपुरको तलेजु भवानीका वाहनको प्रतिक सेतो घोडाको जात्रा सम्पन्न भएको छ । ऐतिहासिक तथा साँस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष दशमी र एकादशीको रात्रीकालिन समयमा गर्ने परम्परा रहेको छ । जात्रा अगाडि तलेजुका चार मुल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पुजा, टिका साइत पुजा गरी विर्सजन पुजा सम्पन्न गरिन्छ । पुजा सम्पन्न भएपछि घोडालाई विधिवत रुपमा पुजा गरी भेडा बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाइ घोडा जात्रा शुरु गरिने पुजारी नरेन्द्र जोशीले बताउनुभयो ।
घोडालाई तलेजुको मूलचोकवाट बाहिर ल्याईसकेपछि भक्तपुर नगरको तल्लो टोल दरवार क्षेत्रवाट खौमा, इटाछें, भार्वाचो, बंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो टोल दरवार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिने गरिन्छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
