काठमाडौं । इरानका दुई लोकप्रिय अभिनेत्रीहरू देशभर चलेको विरोध प्रदर्शनलाई समर्थन जनाएपछि पक्राउ परेका छन् । हेंगामेह घाजियानी र कातायोन रिआहीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत सेप्टेम्बरदेखि देशव्यापी बनेको प्रदर्शनमा ती दुई अभिनेत्रीले समर्थन जनाएका थिए । जहाँ धार्मिक रित अनुसार हिजाब नपहिरिएको आरोपमा पक्राउ परेकी २२ वर्षीया माशा अमिनीको हिरासतमै मृत्यु भएपछि देशव्यापी रुपमा प्रदर्शन हुँदै आएको छ ।
स्थानीय मिडियाका अनुसार टेलिभिजन सिरिजमा चर्चित अभिनेत्री रिआहीलाई आइतबार इरानी सुरक्षा फौजले पक्राउ गरेको हो । टिभी सिरिज “जोसेफ द प्रोफेट” र “द टेन्थ नाइट” साथै “द लास्ट सपर” जस्ता फिल्ममा अभिनय गरी चर्चा कमाएकी अभिनेत्री रिआहीले अमिनीको मृत्युपछि आफ्नो इन्स्टाग्राममा स्कार्फ बिनाको एउटा भिडियो पोस्ट गरेकी थिइन् ।
यस्तै “एज सिम्पल एज द्याटु, डेज अफ लाइफु” जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री घाजिआनीले पनि आफ्नो इन्स्टाग्राममा गत शनिबार स्कार्फ बिनाको भिडियो सार्वजनिक गरेकी थिइन् । इन्स्टामा उनले आफ्नो भिडियो राख्दै उक्त भिडियो नै आफ्नो अन्तिम हुनसक्ने लेखेकी थिइन् । “यदि मलाई केही भयो भने, म मेरो अन्तिम स्वाससम्म सधैं इरानका जनताको साथ रहनेछु” उनले लेखेकी थिइन् ।
घाजिआनी भिडियो सार्वजनिक गरेको भोलिपल्ट नै सुरक्षा फौजबाट पक्राउ परेकी हुन् । उनीहरूलाई इरानी सुरक्षा विरुद्ध गतिविधि गरेको र इरानी शासनविरुद्ध प्रोपगान्डा फैलाएको आरोप लगाइएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
