जनताको निस्वार्थ सेवाले नेमकिपाको भक्तपुरमा बहुमत ः बिजुक्छे

0

जनताको निस्वार्थ सेवाले नेमकिपाको भक्तपुरमा बहुमत ः बिजुक्छे


भक्तपुर । मंसिर ४ को निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले चुनाव चिन्ह मादलमा मत दिने जनतालाई शनिबार विजयोत्सवको बृहत र्याली सहित धन्यवाद दिएको छ । भक्तपुर नगरपालिका वडा नं. ७ पार्टी कार्यालय गोल्मढीबाट सुरु भएको धन्यवाद र्यालीमा नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले मादल चिन्हमा छाप लगाई मत दिने जनतालाई धन्यवाद दिँदै नेमकिपामा जनताको सेवा निस्वार्थ रुपले गर्ने भावना रहेको कारण भक्तपुरका जनताले पक्षपातरहित मतदान गर्दा अत्यधिक बहुमत ल्याएको बताउनुभयो । 

नेमकिपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम सुवालले गोल्मढी, सुकुलढोका, साकोठा, टौमढी, नासमना, सिद्धपोखरीमा उपस्थित जनतालाई सम्बोधन गर्दै जितको लागि भोजभतेर तथा पैसा बाँडेर जनताको मत किन्ने प्रवृति भक्तपुरमा नरहेको हुँदा जनताले दिएको विश्वासको मत अनुसार देश नै संकटमा पर्ने नागरिकता विधेयक खारेज गराउन संसद र सडकमा जनतासँग बरोबर छलफल गरी संघर्ष गर्ने बताए ।

संसदमा नीतिनियम तथा कार्यक्रम, विभिन्न किसिमका विधेयक तथा अन्तराष्ट्रिय सन्धी सम्झौता माथि छलफल गर्नुपर्ने बताउँदै निर्वाचित सुवालले कृषिमा आत्मनिर्भरको लागि रासायनिक मल कारखाना स्थापना, भारतीय अतिक्रमित भूभाग फिर्ता, भारतीय सेना फिर्ता तथा असमान सन्धी सम्झौता खारेज गराउन संसदमा संघर्ष जारी राख्ने बताए । नेमकिपाको प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार अनुराधा थापामगरले भ्रष्टाचारी, चेलीबेटी बेचबिखन तथा मानव तस्कर गर्नेहरुलाई मृत्युदण्ड दिन संविधान संशोधनको लागि अझै संघर्ष गर्नुपर्ने बताउँदै मादल चिन्हमा मत दिने जनतालाई धन्यवाद दिए ।

बागमती प्रदेशसभामा निर्वाचित नेमकिपाका सुरेन्द्रराज गोसाईले जनताको भावना अनुरुप निस्वार्थ रुपले देश र प्रदेशको लागि आवश्यक नीति निर्माणमा मन, बचन र कर्मले लाग्ने प्रतिबद्धता व्यक्त गरे । उक्त धन्यवाद र्यालीमा विभिन्न टोलका धिमेबाजा, बाँसुरी बाजा, गीतसंगीत तथा नाचगानको झाँकीले थप आकर्षण बनाएको थियो ।

भक्तपुर क्षेत्र नं १ (क) का उम्मेदवार मीनबहादुर बाटा, प्रदेश २ (क) र (ख) का उम्मेदवारहरु क्रमश रमेश वैद्य र सरोजराज गोसाई लगायतका उम्मेदवारहरु सहभागी रहेको सो र्यालीमा दसौं हजारको सहभागिता रहेको थियो । उक्त र्यालीले भक्तपुर नगर परिक्रमा गर्ने क्रममा दरबार स्क्वायर, चोछैँ, भोलाछेँ, महालक्ष्मी, कमलबिनायक, च्याम्हासिंह, सूर्यमढी र दत्तात्रय हुँदै पार्टी कार्यालय गोल्मढीमा पुगेर सम्पन्न भएको थियो । 

साथै यही मंसिर ११ र १२ गते पनि चाँगुनारायण नगरपालिकाको विभिन्न वडामा विजयोत्सवको धन्यवाद र्याली हुने जानकारी नेमकिपाले गराएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top