भक्तपुरमा १२ वटा बहुउद्देश्यीय सहकारी गैरकानूनी

0

भक्तपुरमा १२ वटा बहुउद्देश्यीय सहकारी गैरकानूनी


भक्तपुर । भक्तपुरमा संचालनमा रहेका १२ वटा बहुउद्देश्यीय सहकारीहरू गैरकानुनी रहेको रहेको पाइएको छ । भक्तपुर नगरपालिका क्षेत्रभित्र १२ वटा सहकारीहरू गैरकानुनी रूपमा सञ्चालन गरी राखेको पाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नगर क्षेत्रमा रहेका बहुउद्देश्यीय सहकारीमा रकम बचत नगर्न र कारोबार नगर्न अनुरोध गर्दै सूचनासमेत प्रकाशन गरेको छ । नगरपालिकाले प्रकाशन गरेको सूचनामा गैरकानूनी बहुउद्देश्यीय सहकारीहरुको नाम भने प्रकाशन गरेको छैन ।

तर नगरपालिकाले एक वर्षअघि प्रकाशन गरेको सूचनामा गैरकानूनी रुपमा सञ्चालित सहकारीहरुको नामावली प्रकाशन गरेको थियो । नगरपालिकाले गत मंगलबार प्रकाशन गरेको सूचनामा ः बागमती प्रदेश सरकारले प्रदेशकै कानुनविपरीत आव २०७७÷०७८ र आव २०७८÷०७९ मा बहुउद्देश्यीय सहकारी संस्थाहरू दर्ता गरी भक्तपुर नगरपालिकाभित्र साइनबोर्ड राखी सञ्चालनमा रहेका बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई भक्तपुर नगरपालिकाभित्र सञ्चालन गर्न स्वीकृति नदिने भनी भक्तपुर नगरपालिकाको कार्यपालिकाको २०७८÷०६÷४ गतेको बैठकको निर्णयअनुसार २०७८ कार्तिक ७ र ८ गतेको मजदुर दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दासमेत १२ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरू गैरकानुनीरूपमा भक्तपुर नगरपालिकाभित्र सञ्चालन गरी राखेको’ उल्लेख छ । सूचनामा ती सहकारीहरुमा रकम जम्मा नगर्न समेत अनुरोध गरिएको छ ।

नगरपालिकाले भक्तपुरको च्याम्हासिंह, कमलविनायक, सल्लाघारी, सूर्यविनायकलगायतका स्थानमा गैरकानूनी रुपमा बहुउद्देश्यीय सहकारी संस्थाहरु सञ्चालनमा रहेको पाइएको भनेर गत वर्ष सूचना प्रकाशित गरेको थियो ।

प्रकाशित सूचनामा गैरकानुनी रूपमा सञ्चालनमा रहेका सहकारीको नामावली समावेश थियो । ती सहकारीहरूमा कमलविनायकस्थित वृत्ति विकास बहुउद्देश्यीय सहकारी संस्था लि, क्षितिज बहुउद्देश्यीय सहकारी संस्था लि, कमलविनायक,सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लि, देगइनास्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लि, अर्थलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि, च्याम्हासिंहस्थित अनुसेवक बहुउद्देश्यीय सहकारी, सूर्यविनायकको अर्थ सागर बहुउद्देश्यीय सहकारी संस्था लि, सम्बोधन बहुउद्देश्यीय सहकारी संस्था लि, घलाटेस्थित सानो संसार बहुउद्देश्यीय सहकारी संस्था लि र सल्लाघारीस्थित समपूरक बहुउद्देश्यीय सहकारी संस्था लि र अनमोल बहुउद्देश्यीय सहकारी संस्था रहेको उल्लेख गरेको थियो । यो पटकको सूचनामा भने सहकारीको नाम उल्लेख गरिएको छैन ।

सूचनामा अगाडि भनिएको छ ः उक्त सहकारीहरुले समयमा नै अन्यत्र कार्यालय सार्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ भनी सूचना प्रकाशित गरिएकोमा हालसम्म पनि संस्थाहरु अन्यत्र नसारी सञ्चालनमा रहेको पाइएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अन्य सार्ने व्यवस्था गर्न यो सूचना प्रकाशित गरिएको छ । साथै सो सूचनालाई बेवास्ता गरी कार्यालय सञ्चालन गरिराखेको पाइएमा निमानुसार कारबाही गर्ने व्यवहोरा अनुरोध छ ।

नगरपालिकाको सो सूचनासँगै बहुउद्देश्यीय सहकारी सञ्चालकहरुले भने आफूहरुको सहकारी नगरपालिकाले भनेजस्तै गैरकानूनी नरहेको बताएका छन् । उनीहरुले आफ्नो सहकारीलाई प्रदेश कानून अनुसार दर्ता गरेको जनाउँदै नगरपालिकाकै वडा कार्यालयमा व्यवसाय दर्ता गरी कर समेत तिरेको जनाए ।

‘नगरापालिकाकै वडा कार्यालयले दर्ता गरेको सहकारी कसरी गैरकानूनी हुन्छ ?, कर चाहिँ लिने अनि सहकारीलाई गैरकानूनी भन्ने ? यो त मिलेन, हामी यसबारेमा नगरपालिकासँग बसिरहेका छौं,’ एक बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले भने । उनले भक्तपुर नगरपालिकाको कार्यपालिकाले निर्णय गर्नुभन्दा अगाडि नै प्रदेशमा आफ्नो सहकारी दर्ता भएको दाबी गर्दै नगरपालिकाले सूचनामार्फत नगरबासीमा भ्रम छरेको जनाए ।

नगरपालिकाको सूचनाप्रति पनि नगरवासीले आपत्ती जनाएका छन् । एक नगरवासीले भने, ‘नगरपालिकाले १२ वटा सहकारी गैरकानूनी भनेको छ, तर कुन कुन भनेर खुलाएको छैन, यसले नगरवासीलाई अन्योल बनाएको छ । नगरपालिकाका पदाधिकारी र शाखाका अधिकारीलाई मात्र थाहा भएर हुन्छ ?’

यस्तो छ नगरपालिकाको सूचना ः



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top