भँगेराको संख्या घट्दै

0

भँगेराको संख्या घट्दै


भक्तपुर । हामीहरुको बस्ती वरिपरि धेरै देखिने र बिश्वका हरेक मानववस्तीमा पाइने भँगेराको सङ्ख्या पछिल्लो केही वर्षयता क्रमश घटदै गएको पक्षीविद् हेमसागर बरालले बताएका छन् । “भँगेरा निकै मायालु र मेहनती चरा हो । यो चरा विशेषगरीे घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षितस्थलमा रहेका प्वालमा गुँड बनाई बस्दछ”,पक्षीविद् बराल बताउछन् ।

खैरा, फुस्रा र केही सेतो रङ भएको एक सानो जातको चरा प्रजातिमा पर्ने भँगेराको आयु तीनदेखि पाँच वर्षसम्मको हुन्छ । यसको पखेटाको फैलावट २१ सेमी तथा लम्बाइ १२ देखि १८ सेमीसम्म हुन्छ । यसको गति र उडान क्षमता कम हुन्छ । यसको औसत तौल ४० ग्रामसम्म हुन्छ ।

ध्वनि प्रदूषण, बासस्थानको अभाव, कृषिमा अत्यधिक किटनाशक औषधि र विषादीको प्रयोग आदिले पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भँगेराको सङ्ख्या घट्दै गइरहेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले बताएका छन् । उनले भने, “अहिले बनेका घरमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो प्वाल र सुविधा छैन । बिजुली बत्तीको झिलीमिली र रङरोगनको गन्धले पनि तिनलाई त्यहाँ बासस्थान बनाउन सहज छैन । गुँड बनाउन खरपातको अभाव, सहरीकरण र बढ्दो ध्वनि प्रदूषणले पनि तिनलाई असहज बनाएकोछ ।”

“किसानको साथी भनेर चिनिने भँगेराले धान, चामल, गहुँ, घरको जुठ्यानमा रहेका खाना आदिका साथै अन्नबालीमा लाग्ने हानिकारक कीरा फट्याङ्ग्र्रा तथा लार्भा खाई कृषि उत्पादनसमेत बढाउन सहयोग गर्दछ”, कुर्मी भन्छन् । “एकदिन राति गाउँभरिका भँगेरा एक्कासी कराउँदै बाहिर आएँ, यति राति किन भँगेरा कराएको भनेर मानसि बाहिर निस्कँदा एकजनाको खलिहानमा आगो लागेको रहेछ”, समाजसेवी रम्मा कुर्मीले सम्झिए, “पछि सबै जना गएर आगो निभायौँ ।”

लुम्बिनीका पूर्वनगरप्रमुख चौधरीका अनुसार, “पहिलेका घरको संरचना अहिलेको भन्दा भिन्न थियो । ढुङ्गा, माटो, काँचो इँटा र काठ आदिले बनेका हुन्थे । घरको वरिपरि प्वाल राखिन्थे, जसलाई भँगेराहरूले गुँड बनाउन प्रयोग गर्थे र बिहान बेलुको भँगेराको चिरबिर आवाज सुन्न पाइन्थ्यो ।”

“तीमध्ये धेरै किरा बालीलाई नोक्सान गर्ने खालका हुन्छन”, नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत समेत रहेका नेपालीले भने । बढ्दो आधुनिकता, प्रदूषण र सुरक्षित बासस्थानको कमीले यसकोे जीवनचक्र नै सङ्कटमा परेको छ । भँगेराको सहअस्तित्वलाई स्वीकार गरेर यसलाई जोगाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भँगेरा हाम्रा केही मान्यता र विश्वासका आधार समेत रहेको बताए । उनले भने, “भँगेराले कहिले पानीमा नुहाउँछ त कहिले धुलोमा । धुलोमा नुहाएको दिन पानी पर्ने र सात पाइला हिँडेको देखेमा अलच्छिना हुने जनविश्वास पनि छ ।” गाउँघर नजिकै विषालु सर्प, हिंस्रक जनावर वा दैवीय प्रकोप आदि आउँदा पनि भँगेराले कराएर सचेत गराउँछ भन्ने विश्वास गरिने उनले बताए । हानिकारक किरा, फट्याङ्ग्रा, सडेगलेका अनाज आदि खाएर प्रकृति र वातावरणलाई सफा राख्ने भँगेरा संरक्षणमा सबै लाग्नुपर्ने उनको सुझाव छ ।

मानव ढुङ्गेयुगबाट कृषियुगमा प्रवेश गरेदेखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकिँदै गएको पक्षीविद् भुपाल नेपालीको भनाइ छ । उनले थपे, “भँगेराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, करेसाबारी र बगैँचा आदिमा बस्न रुचाउँछन् र त्यही गुँड बनाएर बच्चा पनि कोरल्छन् ।” अहिलेसम्म यसको सङ्ख्यात्मक तथ्य नभएको उनले जानकारी दिए ।

नेपालमा हालसम्म आठ सय ९० बढी प्रजातिका चरा पाइन्छन् । तीमध्ये भँगेरा पनि एक प्रजाति हो । नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा, पीत कण्डे भँगेरा र स्पेनिस भँगेराहरु पाइन्छन् । अन्य प्रजातिका भँगेराहरुले बाहिरै अन्यत्र स्थानमा बस्न मन पराउँछन् । हालसम्म विश्वमा ३२ प्रजातिका भँगेरा भेटिएका छन् ।

पुरानो र परम्परागत भँगेरामैत्री घर नहुनु, रुख बिरुवा विनास हुनु, प्रदूषण, चेतनाको कमी, अहाराको कमी, बालीनालीमा प्रयोग हुने विषादी तथा यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र शिकार गर्ने प्रबृत्तिले पनि यो चराको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक अध्ययनले मोवाइल फोन र यसको टावरको र्याडिएसनको कारणले भँगेरामा असर परेको पंक्षीविद् नेपालीको भनाइ छ । भँगेरा हाल विश्वबाट घट्दै गइरहेको अवस्थामा यसको महत्व र संरक्षण गर्न जरुरी छ । बेलायतमा भँगेरा संकटग्रस्त चरा हो । उनका अनुसार विश्वका करिब ८० प्रतिशत चराको सङ्ख्या घटेको तथ्याङ्क छ तर भँगेराबारे अनुमान मात्रै छ ।

भँगेरा संरक्षण गर्ने उद्देश्यले प्रत्येक चैत ७ गते अर्थात् २० मार्चका दिन विश्व भँगेरा संरक्षण दिवस नेपाललगायत विश्वभर मनाइन्छ । यो दिवस सन् २०१० देखि विश्वव्यापी रुपमा मनाउन थालिएको छ भने नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो । नेपाल पक्षी संरक्षण सङ्घले विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक सङ्घसंस्थाको सहकार्यमा भँगेरा पहिचान, गणना तथा विभिन्न चेतना अभिवृद्धिमूलक कार्यक्रम गर्दै नेपालमा यो दिवस मनाउने गरेको छ । रासस

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top