अब नेपालमै मुटुको कृत्रिम भल्भ राख्न सकिने

0

अब नेपालमै मुटुको कृत्रिम भल्भ राख्न सकिने


काठमाडौं । नेपालमै मानिसको मुटुमा कृत्रिम भल्भ राख्न थालेपछि विदेशमा उपचार गराउन जानेको संख्यामा उल्लेखिय रुपमा कमी आएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्भ राख्ने गरेको छ । यसअघि यस कृत्रिम भल्भ राख्न बिरामी भारतलगायत अन्य देश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्भ नेपालमै राख्ने गरेका छन् ।

हृदय केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले अहिलेसम्म छ जना बिरामीमा मुटुको कृत्रिम भल्भ राखिएको जानकारी दिए । एक कृत्रिम भल्भ ह्याम्स अस्पतालले पनि राखेको छ । उनले एक बिरामीको सफलतापूर्वक कृत्रिम भल्भ राखेपछि आत्मविश्वासले अन्य बिरामीको पनि राख्न थालेको बताए । नेपालमा पहिलो पटक केन्द्रले नै गएको वर्ष फागुनमा मानिसको मुटुको कृत्रिम भल्भ राखेको हो ।

मुटुको कृत्रिम भल्भ राख्न नेपालमा २५ देखि ३८ लाखसम्म र भारतमा ६० देखि ८० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । उनका अनुसार एक हप्ताभित्र पुनः एक बिरामीको पनि मुटुको कृत्रिम भल्भ राख्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार मुटुको कृत्रिम भल्भ राख्न वार्षिक झन्डै १२ जना बिरामी भारत जाने गरेकोमा केन्द्रले नै मुटुको भल्भ राख्न थालेपछि भने एक बिरामी मात्र भारत गएको आफूले जानकारी पाएको उनले बताए ।

मुटुको एओर्टिक भल्भ साँघुरो र उमेरका कारणले छाती चिरेर शल्यक्रिया गर्न जोखिम भएपछि यस भल्भको स्थानमा नयाँ कृत्रिम भल्भ राख्ने गरिन्छ । यस विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमले निर्मित तार अर्थात् ‘क्याथेटर’द्वारा मानव निर्मित भल्भ मुटुभित्र छिराएर एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ । मुटुको एओर्टिक भल्भ साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ । उहाँका अनुसार यस एओर्टिक भल्भको वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धावस्थामा शल्यक्रिया गर्न असहज हुने हुँदा भल्भ नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्भ साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ ।

यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्भ प्रत्यारोपण गरिने विधि हो । वृद्धावृद्धामा यस रोगको शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने उनले बताएका छन् ।

केन्द्रले कृत्रिम मुटुको भल्भ भारत, नेदरल्यान्डलगायत देशबाट ल्याउने गरेको छ । बिरामीको मुटुमा २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका कृत्रिम भल्भ राख्ने गरिन्छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top