मौलिक कला र संस्कृतिका धनी नेवाः समुदायमा वर्षभरि मनाउने विभिन्न चाडपर्वमा मंसिर शुक्ल पूर्णिमाको दिन मनाउने योमरी पुन्हि पनि एक प्रमुख हुन । यहाँ योमरीको खास अर्थ योगुमरी अर्थात मनपर्ने मिठाई हो । प्रत्येक महिनामा पर्ने पूर्णिमाको दिन विशेष परिकार खाने चलन नेवार समाजमा छ । यसमध्ये मंसिर शुक्ल पूर्णिमाको दिन योमरी खाने चलन छ । योमरी खाने विशेष दिन भएको कारण यो दिन योमरी पुन्हि वा पूर्णिमाबाट चिनिन्छ । त्यसो त चन्द्रमाको गति अनुसार वर्षभरि आउने विभिन्न बारह पूर्णिमा मध्ये यो पूर्णिमालाई योमरी पुन्हीका साथ कतै थिंला पुन्ही कतै धान्य पुर्णिमाबाट पनि चिनिन्छ । जहाँ थिंला पुन्ही नेपालभाषाको महिना जनाउने आफनै शब्द हुन त धान्यपणर््ोिमाबाट यो पर्व धानसँग सम्वन्धित रहेको देखिन्छ ।
योमरी नेवाः समाजको एउटा मह्त्वपूर्ण सामाजिक तथा सास्कृतिक पहिचान पनि हो । योमरीको सास्कृतिक महत्व धेरै छ ।
त्यस्तै यहाँका किसानवर्गमा योमरीको अझ ठुलो महत्व छ । कृषि कार्यमा ब्यस्त हुने किसानवर्गमा योमरीको अझ धेरै महत्व देखिन्छ । योमरी पुन्हीको दिन किसानवर्गका नवविवाहिता छोरीकहाँ माइती पक्षले १६ वटा योमरी सहित कु (भोज भाग) पठाउनुपर्छ । त्यस्तै विवाहित छोरी गर्भवति हुँदा माइती पक्षले दही च्यूरा खुवाउने क्रममा बढीमा १०८ वटा र घटीमा ४८ वटा योमरी पनि पठाउनु पर्छ । नेवारहरुको मौलिक सस्कृति मानिने गुठीमा समेत योमरी खाने प्रचलन छ । यहि योमरी पूर्णिमा ताका प्राय सवै नेवारहरुको गुठी मनाउने चलन छ । नयाँँ घर बनाउँँदा छानाबाट योमरी गुडाउने अर्को एउटा सास्कृतिक मान्यता यहि समाजमा छ । तर अचेल योमरीको सट्टा लडुको प्रयोग भएको पाईन्छ । त्यस्तै योमरीको तन्त्रसँग पनि उत्तिकै सम्वन्ध छ । यसको कारण प्राय दिक्षा पूजामा योमरीको आवश्यकता पर्छ ।
अझ नेवार समाजमा योमरीकै्र जात्रा पनि हुन्छ । त्यसमा पाटनको प्रसिध्द मछिन्द्रनाथको जात्रा अन्र्तगत नरिवल खसाल्ने जात्रामा पटक पटक योमरी खसाली जात्रालुहरुलाई झुक्याउँदाको क्षण रमाईलो हुन्थ्यो । अचेल योमरी खसाल्ने परम्परा लोप भैसक्यो । यता पाटनकै लुभुमा मंसिर शुक्ल पूर्णिमाको दिन हुने महादेवको जात्रामा योमरी चढाउने चलन छ । बनेपाको प्रसिध्द चण्डेश्वरीको जात्रामा पनि योमरी प्रसादको रुपमा उपयोग गर्ने प्रचलन छ । यसबाट योमरी एउटा खाने परिकार मात्र हैन ,बरु समस्त नेवार समाजकै पहिचान हो भन्ने देखिन्छ ।
वर्षको एकदिन मंसिर शुक्ल पूर्णिमाको दिन त सवैको घरघरमा योमरी खाने परम्परा छ । चामलको पिठो, चाकु, तील, नरिवलको धुलो आदि सामाग्रीबाट योमरी बनाईन्छ । सर्वप्रथम एउटा भाँडोमा पानी तताईन्छ । त्यसमाथि प्वाल प्वाल परेको अर्को एउटा भाँडो राखिन्छ । चामलको पिठो मुछिन्छ । त्यसको लागि तातो पानी प्रयोग गर्नु राम्रो मानिन्छ । यसरी राम्रो सगँ मुछिसकेको पिठोको एउटा सानो डल्लो हातमा लिई अर्को हातको चोर औंला घुसाई बिस्तारै बिस्तारै घुमाउनु पर्छ । यसो गर्दा एकातिर चुच्चो परेको हुन्छ भन्ने अर्कोतिरप्वाल सहित फुकेको भाग हुन्छ । त्यहि प्वालबाट अर्को भाँडामा तयार पारेको चाकुको मिश्रण हाल्नुपर्छ । त्यसपछि उक्त प्वाल बन्द गरि त्यहाँ डाँफे चराको जुरो झैं आकार निकालिन्छ । यसरी तयार भएको योमरीलाई मम पकाउने जस्तो प्वाल प्वाल परेको भाडाँमा राखी त्यसमाथि अर्को भाडाँले छोपी दिन्छ । तल राखेको भाडाँको पानी उम्ली वाफबाट योमरी पाक्छ । यसरी बनेको योमरी ताततातो खानुको मज्जै अर्को हुन्छ । योमरीमा चाकु बाहेक पिंधेको मुगीं, मासु, खुवा, गुँडपाक आदि राखी बनाउन सकिन्छ ।
मंसिर शुक्ल पूर्णिमाको अघिल्लो रात वर्षभरिको सवभन्दा लामो रात मानिन्छ । असार शुक्ल पूर्णिमाको दिन वर्षको सवभन्दा लामो दिन मानिन्छ । हामीकहाँ एउटा के भनाई चलेको छ भन्ने मंसिर शुक्ल पूर्णिमाको अघिल्लो राती सुतेर नपुग्ने र असारशुक्ल पूर्णिमाको् दिन काम गरेर नथाक्ने ब्यक्ति कहिल्यै सुखी हुदैंन भन्ने गरिन्छ । यसमा यहि मंसिर शुक्ल पूर्णिमाको अघिल्लो रात लामो रात भएको कारण गृहिणीहरु चाँडै उठी योमरी बनाउन तिर लाग्छ । योमरी बनाउने क्रममा ढुकुटीमा राखी पूजा गर्न मायो बायो नामका दुई अलग्ग तर ठूला योमरी पनि बनाउँछ । त्यसपछि चाकु, मुगीं, खुवा , गुँडपाक जस्ता विविध परिकारका योमरीहरु तयार गर्छ । र सर्वप्रथम घर टोल वरपरका देवदेवीको लागि चढाउने योमरी छुट्टाईन्छ । र देवदेवीलाई पूजा गरि योमरी चढाईन्छ । पहिला पहिला भए गीत गाँउदैं योमरी माग्न आउनेको लागि पनि योमरी भाग लगाउने गर्दथ्यो । जुन अचेल हराईसकेको छ । बाँकी योमरी परिवारजन विच खाने गर्छ ।
हेर्दा सवै योमरी एउटै जस्तो लागे पनि खासमा यो दुई प्रकारका हुन्छ । एउटा त्रिकोण आकारको हुन्छ त अर्को लट्टु आकारको हुन्छ । यहाँ योमरी भन्नासाथ यहि लटु आकारको भन्ने संकेत गर्छ । नेवार समाजमा यहि किसिमको योमरीको अत्यधिक प्रयोग भएको पाईन्छ । लटु आकारको योमरीमा प्रायगरि चाकु तीलको झोल हाल्ने गरिन्छ । यसप्रकारको योमरीलाई स्थानीय नेपाल भाषामा मायो भन्ने चलन छ । र त्रिकोण आकारको योमरीलाई बायो भनिन्छ । यसमा विशेष गरि मसलायुक्त मुगीको लिटो हालिन्छ । जसको स्वाद नुनिलो हुन्छ । यसप्रकारको योमरीमा मुगीं बाहेक मास, केराउ, खुवा, गुँडपाक, मासुको किमा जस्ता विविध परिकार राख्ने चलन छ । यहाँ मायो योमरीले स्त्री र बायो योमरीले पूरुषप्रति संकेत गरेको देखिन्छ । यी दुवै प्रकारको योमरीलाई सृष्टिका प्रमुख तत्व योनी र लिंगको रुपमा लिन सकिन्छ । त्यसो त योमरी आफैंलाई देवताको प्रतिकको रुपमा लिने गरिन्छ । विशेष गरि धन वा अन्नको प्रतिकका् रुपमा लिईन्छ । यसदिन किसानवर्गले खेतबाट ढुकुटीमा भित्रयाएको नयाँ धानको थुप्रो माथि योमरी राखी पूजा गर्ने गर्दछ । त्यसबेला अलि ठुलो आकारको मायो बायो योमरीको साथ चामलको पिठोबाट बनेको श्री गणेश,श्री लक्ष्मी, श्री कुवेर ,कछुवा, ख्याक आदि मूर्तिहरु बनाई धानको थुप्रोमा राखी पूजा गर्छ । त्यसको चारदिन पछि विवाहिता छोरीहरु बोलाई लक्ष्मीको प्रसादको रुपमा योमरी बाँडिखाने गर्छ ।
यसरी योमरीको पूजा गरेमा वर्षभरि घरको अर्थ स्थीर हुन्छ अनि धनधान्यले परिपूर्ण हुन्छ भन्ने मान्यता छ यसको पछाडि एउटा किवंदन्ति प्रचलित छ । थिला पुन्हिको दिन धनका राजा कुवेर मगन्तेको भेषमा पान्चाल देशका सुचन्द्र वैश्यको घरमा माग्न पुगेछ । त्यस समय सुचन्द्रका श्रीमतिले बडो मिठो बोलीले आउनुस बस्नस भनी सत्कार गरि मिठो मिठो खान दिई राम्रो लुगा समेत दिएछ । यसबाट अति प्रसन्न भई कुवेरले आफनो सक्कली रुप दर्शन दिई मार्ग शुदिको दिन विमिरो, चामलको पिठो र चाकुले बनेको योमरी ढुकुटीमा राखी पूजा गर्नु र चार दिन पछि हेर्न निर्देशन दिएछ । कुवेरले भन्ने झैं मंसिर शुक्ल पूर्णिमाको दिन विमिरो, योमरी सहित पिठोको लक्ष्मी, गणेश, कुवेर , ख्याक, कछुवा आदि ढुकुटीमा राखी पूजा गरेछ । र चार दिन पछि हेर्दा उक्त विमिरो फल सुनमा परिणत भएको पाएछ । त्यसबाट सुचन्द्र वैश्यले प्रशस्त धन आर्जन गरेछ । यसबेला देखि प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन योमरीको पूजा गर्नुको साथै खाने चलन रहयो ।
यसरी हिन्दु धर्मालवम्वीहरुले योमरीलाई लक्ष्मी एवं कुवेरको रुपमा पूजिएको हुन्छ त यता बौध्द धर्मालवम्वीहरुले चैत्यको रुपमा लिएको देखिन्छ । योमरीको आकार समेत कतै कतै चैत्य झैं देखिन्छ ।
नेवार समाजमा प्राय गरि हत्केलामा अट्ने खालका योमरीहरु बन्ने गरिन्छ । र पूजाको लागि त्यो भन्दा अलि ठुलो योमरी बन्छ । तर मान्छेकै जिउ जत्रो ठुलो आकारको योमरी पनि बन्छ भन्दा नपत्याउन सक्ला । भक्तपुरको गोल्मढी टोलमा एक मुरी धानको र्छवटा ठुला ठुला योमरी बनाउने प्रथा यधपि छ । भक्तपुर गोल्मढीका रंजीतकारहरुको एउटा गुठीले यो परम्परा धान्दै आएको छ । प्रत्येक वर्ष योमरी पूर्णेको दुई महिना अगाडि आउने कोजाग्रत पूर्णिमाको राती गोल्मढी टोलको चैत्य अगाडि यो योमरी प्रदैशन गरिन्छ । माटोको घैंटामा विभिन्न रगंहरु राखी पुरै घैंटालाई चामलको पिठोले योमरीको रुपमा छोपीएको हुन्छ । यी योमरीहरुलाई चैत्यको अगाडि लहरै प्रर्दशन गरिन्छ । थुप्रै जनसमूदायको उपस्थितीमा संकेत प्राप्त हुनासाथ सवैजना योमरी लिन तँछाडमछाड गर्छ । योमरी लिने धुनमा योमरी भित्रको रंग छयापा छयाप हुन्छ । त्यो दृश्य अति रोमान्चक हुन्छ । उनै गुठियारहरु पुन अर्को त्यस्तै ठुलठुला योमरीहरु लिई भक्तपुरको तल्लो भेगको बोलाछें टोलको अखुं बहाल पुग्छ । त्यहाँ भित्र रहेको चैत्य अगाडि पनि सोही तवरले योमरी प्रर्दशन गर्छ । र मनोरन्जन पश्चात सवैजनालाई सम्येबजी बाडिँदिन्छ । र योमरीको जात्रा सम्पन्न हुन्छ । यसबाट योमरी बनाउने चलन योमरी पूर्णेको दुई महिना अगाडि नै भएको देखिन्छ । अनि योमरी भन्दा अगाडि नेवार समाजले योमरी झैं चामलको पिठोले बनेको मुटुमारी भनिने रोटीको उपयोग गरेको पाईन्छ । नेवार सस्कृतिमा म्हपूजा, जन्मदिन, भिंरथारोहण जस्ता विविध अवसरमा नभई नहुने यी मुटुमारीकै विकसित रुप योमरी हो । वास्तवमा योमरी कृषिसँग सम्वन्धित एक सांस्कृतिक पहिचान हो ।
योमरी कहिले देखि प्रचलनमा आएको हो कहिंकतै स्पष्ट उल्लेख नभए पनि नेवारहरुको मूख्य पेशा कृषि नै भएको सन्र्दभमा योमरीको प्रचलन प्राग ऐतिहासिक काल देखि नै भएको हुनुपर्छ । त्यसो त योमरीसँग सम्वन्धित एउटा लोकप्रिय गीतमा समेत कृषिको लागि मरिमेट्न् एक वर्ग र कृषिबाट भएको आम्दानीमाथि रजाँई गर्ने अर्को वर्गको उल्लेख छ । त्यतिमात्र हैन , नेवार समाजमा अचेल लोप हुन लागेको बुरांज्या कालो धान राख्ने गर्दा समेत धानको थुप्रो भित्र योमरी राख्नेबाट योमरी र कृषि विच प्रत्यक्ष वा परोक्ष सम्वन्ध रहेको पुष्टि हुन्छ ।
कृषि अर्थात खेतको काम गर्ने ब्यक्ति सधैं ब्यस्त हुने गर्छ । यसवर्गलाई यहाँ ज्यापू भन्ने गरिन्छ । योमरी कृषिकै एउटा उपज, त्यसैले केही समय यतादेखि योमरी पूर्णिमाको दिनलाई ज्यापू दिवसको रुपमा मनाउने गरेको छ ।
काठमाण्डौ उपत्यका लगायत नेवार वस्तीहरुमा यसदिन परम्परागत भेषभुषामा योमरीसँग सम्वन्धित विभिन्न कार्यक्रमहरु हुने गर्छ । योमरी पूर्णिमा त्यस्तो एउटा संस्कृति हो जसको सम्वन्ध साहित्यसँग पनि छ । यसदिन टोल टोल वस्ती वस्तीमा समूह समूह बनाई आफनै भाषाको गीत गाई योमरी माग्ने चलन छ । त्योछिं त्यो, बकछिं त्यो, लातापाता कुलेचां जुछिं त्यो, थुपालेया सामा वल, योमरी छग तियो । योमारी तुयु, उकिया दुने हाकु । नयेबलय माकु, हामो नापां चाकु ।। ब्युम्हा ल्यासे, मब्युम्हा सितीकुति बुरी ।। यस्ता गीतगाई केटाकेटी देखि युवाहरु समेत घरघरमा योमरी माग्ने चलन छ ।
यहाँ खेती गर्ने किसान देखि कुत उठाउने तलसिंगको अवस्था उजागर छ । अनि योमरी माग्ने क्रममा दिने जति तरुनी, नदिनेलाई बुढीको संज्ञा दिनुबाट योमरी माग्नुको उद्येश्य मायापिरती गाँस्नु हो भन्ने बुझिन्छ ।
नेपाल मन्दलमा मोहनी र स्वन्ती पछि जाडो बढ्न शुरु हुन्छ । यसैलाई दृष्टिगत गरि कार्तिक शुक्ल पून्हीका दिन तातातो सखरखण्ड, पिंडालुको साथ भुटेको मकै, भटमास, केराउ खाँदा शरिरलाई न्यानोपन प्राप्त हुन्छ । अझ एक महिना पछि अर्थात मंसिर शुक्ल पूर्णिमासम्म चिसो झन बढेको हुन्छ । र त्यो चिसोबाट बच्न ताततातो योमरी खाइन्छ ।
योमरी भित्रको चाकुले शरिरलाई उर्जा प्राप्त हुन्छ । साथै स्वन्तीपछि धान काट्ने समय सामाज्याबाट चिनिन्छ । यहि सामाज्याबाट प्राप्त भएपछि वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरिन्छ । त्यहि चामलको पिठोबाट योमरी बनाइन्छ । मंसिर शुक्ल पूर्णिमाको दिन यसरी बनाएको योमरी केही खाने, केही बाँडने र केही पूजा गर्ने चलन छ ।
योमरी सवै नेवाः समुदायको मौलिक सांस्कृतिक पहिचान हो । सवै नेवाःको घर घरमा यस दिन योमरी पाक्छ । बिहान सवेरै देखि घरका गृहिणीहरु योमरी पकाउन ब्यस्त हुन्छ ।
तर यहीकै रैथाने नेवार भएर पनि भक्तपुरको टौमढी, गाहिटी, बोलाछें लगायतका स्थानहरुमा बस्ने यस पक्तिकार समेतका धौभडेलहरुको यस दिन योमरी पकाउन हुदैंन । यस सम्वन्धमा एउटा लोकोक्ति पनिे छ ।धेरै पहिले एक पटक सधैं झैं मंसिर शुक्ल पूर्णिमाको दिन धौभडेल परिवारमा योमरी बनाउदै खादैं गरेको थियो । धौभडेल परिवार धेरै ठूलो थियो । बुहारीहरु धमाधम योमरी बनाउँदै थियो । परिवारका सदस्यहरु बन्दै गरेको योमरी खादैं थिए । घरका मूलि पनि योमरी खान भनी भान्छामा आउँदा त एउटै योमरी तयार भएको पाएन । यत्रो बिहान देखि बनाएको योमरी बारे सोधखोज गर्दा कामले लखतरान भएकी बुहारीहरुलाई रिस उठेछ । बुढोसँग बुहारीहरुको ठाकठुक परेछ । यसबाट बुढोलाई साहृै रिस उठेछ र रिसकै झोकमा बुढाले प्याच्च भनिदिएछ, अव आइन्दा योमरी पुन्हीको दिन तिमीहरुले योमरी पकाए त्यो मेरो टाउको पकाए सरह हुनेछ । त्यहि समय देखि योमरी पून्हीका दिन धौभडेलहरुले योमरी पकाउन छाड्यो । आजसम्म पनि योमरी पून्हीका दिन कोही पनि धौभडल बन्धुहरुको घरमा योमरी पाक्दैन । त्यसको अर्थ धौभडेलहरुले योमरी खानै नहुने भने हैन । अरुवेला जहिेले योमरी पकाउन सकिन्छ । त्यहि योमरी पून्हीको एकदिन मात्र पकाउन नहुने हो । अनि योमरी पकाउन नहुने भनी आफन्त छरछिमेकी साथीभाईहरुले धौभडेल बन्धुहरुलाई योमरी दिन ल्याउँछ ।
योमरीसँग जोडिएको धौभडेलहरुको यो लोकोक्ति धेरैको लागि नौलो हुनसक्छ ।
– ओम धौभँडेल




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
