मन्त्री नै हुन्छु भनेर राजनीति नगरेको–मन्त्री किराती

0

मन्त्री नै हुन्छु भनेर राजनीति नगरेको–मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बधाई तथा कार्यकाल सफलताको  शुभेच्छा पछिको सामूहिक तस्बिर  ।
– शान्ता चाम्लिङ

काठमाडौ – नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्ति भएका माननीय सुदन किरातीलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को एक प्रतिनिधिमण्डलले  सरकारी निवास पुल्चोकमा आइतबार भेट गरी कार्यककाल पूर्ण सफलताका लागि  शुभकामना सहित हार्दिक बधाई ज्ञापन गरेको छ । गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री किरातीले आफूलाई निर्वाचनमा विजय गराउन समाज, समुदाय र हरेक जिल्लावासीका साथै उपस्थित भूतपूर्व सैनिकहरुको थोरबहुत हर प्रकारको सहयोग, सद्भाव रहेकोमा धन्यवाद व्यक्त गर्दै आफू पनि गोरखा परिवारकै सदस्य हुनको नाताले विशेषगरी ब्रिटिस गोरखा माथि भएको असमानता, अन्याय जस्ता विभेदको अन्त्यका  लागि नेपाल सरकारको तर्फबाट आफूले सक्ने कार्य गर्न सम्माननीय प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग कुरा गर्ने बताएका थिए ।

यसैगरी मन्त्री किरातीले आफू सर्वसाधारण नागरिकका सरोकारका विषयमा अलिकति पनि पछि नहट्ने प्रतिबद्धता जाहेर गर्दै आफूले सानो भन्दा सानो कार्यबाट सुधार शुभारम्भ गर्ने बताउँदै यस क्रममा कुनै बाधा विरोध आइपरे पनि  सामना गर्नेछु । मन्त्रीको कुर्सी मेरा लागि आगो हो, त्यो आगोमा बसेर आमनागरिकको पक्ष अनि  स्वार्थमा सही काम गर्दा खरानी भइन्छ भने पनि आफूलाई कुनै विस्मात नहुने उल्लेख गर्दै आफू बच्चामा हवाईजहाज देख्दा रुने र मन्त्री हुन्छु नै भनेर राजनीतिमा नलागेको भएपनि आज हवाईजहाज र संस्कृति मन्त्री बनेको हंस्यौली गर्दै संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिइरहदा आफूले चुनौती र अवसर दुवैको सामना गर्न पर्ने प्रसंग कोट्याउदै नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वायुसेवा प्रदायक लगायतमा देखिएका र सुनेका विकृति विसंगतिको अन्त्यका लागि आफूले मिहिन तवरबाट नियाल्दै  सर्वसाधारण नागरिकलाई रुपान्तरणको अनुभूति दिलाउन अठोटका साथ लागि परिरहेको बताएका थिए ।

उक्त कार्यक्रममा गेसोका सभापति कृष्णकुमार राईले सर्वप्रथमतः गोरखाको छोरा राष्ट्रको मन्त्री जस्तो गरिमामय पदमा नियुक्ति हुनु भएकोमा हामी समस्त गोरखाहरुलाई गर्वानुभूति तथा खुशी लागेको बताउँदै हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गरेका थिए । यसैक्रममा सभापति राईले आमनागरिकको सवालमा काम गर्दा निर्धक्क, निडर, निशंकोच भएर जति गरिन्छ त्यो भन्दा अन्य पक्षको काम गर्दा बहुत होशियारीपूर्वक कार्य सम्पादन गर्न सुझाउदै विभिन्न अप्ठ्यारा अनि बाधा अवरोध पार्ने असहज परिस्थितिको पूर्ण रुपले निषेध गर्न पनि सुझाव दिएका थिए । त्यसैगरी सभापति राईले माननीय मन्त्री किराती गोरखाकै सन्तान हुनको नाताले अब नेपाल सरकार मन्त्रिपरिषद् सदस्यको हैसियतले  मन्त्रिपरिषद् बैठकमा ब्रिटिस गोरखाहरुको समस्या समाधानमा विशेष भूमिका निर्वाह गर्दै सम्बद्ध  पक्षको ध्यानाकर्षण गराउन पनि आग्रह गरेका थिए ।

त्यसैगरी प्रतिनिधिमण्डलका अन्य सदस्यहरुले पनि मन्त्री किरातीलाई सुझाव दिदै सक्दो आमनागरिकको सेवा, सुविधा, सुशासन, देशको विकास र सम्वृद्धिका लागि कदम अगाडि बढाउन अनुरोध गरिएको कार्यक्रममा गेसोका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सहकोषाध्यक्ष र केन्द्रीय कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top