काठमाडौं । गुल्मीको एक स्कुलमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा दुई शिक्षिकाले एकै समय पढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माविमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको जनाएको छ ।
नर्सरी तहका विद्यार्थीलाई पढाउँदै आएकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरे । “हामी त बाध्य भएर यसरी पढाउँदै छौँ”, उनले बताए, “विद्यार्थीलाई पढन असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ ।”
दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा राखेर पढाउनु परिरहेको छ । सिकाउन आफूहरुलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताउँछन । आफूहरुले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ ।
पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए । नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनको भनाई छ । कूल रु ५० लाखको लागतमा नयाँ भवन बनाइँदैछ । रासस




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
