भक्तपुर । मध्यपुर थिमिको उकालोमा रहेको ऐतिहासिक हितिफल्चा पुनःनिर्माण गर्ने क्रममा खन्दा हिति (ढुङ्गेधारा)को अवशेष भेटिएको छ । थिमिको शंखधरचोकबाट उत्तर तर्फ पुरानो वस्ती प्रवेश गर्ने उकालोको बालकुमारी, तछुटोल र इकुडोल जाने बाटोमा रहेको ऐतिहासिक हिति फल्चा पुननिर्माणको क्रममा ढुंगेधाराको अवशेष भेटिएको हो ।
जिर्ण अवस्थामा रहेको पाटी सामान्य रूपमा पुनःनिर्माण गर्ने सोच बनाए तापनि हितिको पुरातात्तिवक अवशेष र पानी बग्ने नाल नै भेटिएपछि डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । यसबारे नगरपालिकाका जनप्रतिनिधि तथा इन्जिनियरहरूसँग परामर्श गरी केकस्तो रुपमा निर्माण गर्ने बारे पछि निर्णय गरिने बताइएको छ ।
मध्यपुर थिमिको क्वालाखुताँ (बालकुमारी उकालो) मा रहेको हितिफल्चामा २०४७ सालमा प्रगति वाचनालय एण्ड फुटबल टिम स्थापना गरि स्थानीय युवाहरूले क्लब संचालन गरेका थिए । फल्चा (पाटी)भित्र नै ढुङ्गेधारा रहेको दुर्लभ तथ्य फेला परेको उपभोक्ता समितिका सचिव डा रामहरि श्रेष्ठले बताए ।सो फल्चालाई पहिले हितिफल्चा भनिने गरिएता पनि त्यसको प्रमाण नरहेको अवस्थामा अवशेष नै भेटिँदा निकै उत्साहित भएको सचिव श्रेष्ठले बताए ।
ऐतिहासिक नगर प्रवेशको क्रममा वस्ती बाहिर प्रवेशद्वारका साथमा पाटी र हिति हुनु स्वभाविक भएतापनि पाटीभित्रै हिति रहनु दुर्लभ तथा महत्वपुर्ण रहेको देखिन्छ । यसबारे थप अध्ययन हुनुपर्ने स्थानीयको भनाइ छ ।






%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
