काठमाडौं । नेवारी समुदायमा वर्षदिन भरी मनाइने चाडमा सिथी नखः पनि एक हो । यो चाड मनाइसकेपछि नेवाः समुदायमा ३ महिनासम्म अरु कुनै चाड आउँदैन । अर्थात यो आउने तीन महिना भनेको नेपार समुदायको फुर्सद नहुने समय हो । यसै समयबाट माना रोपेर मुरी फलाउने सिनाज्या शुरु हुन्छ ।
यही सिथी नखःमा नेवाः समुदायमा पकाइने वः लोकप्रिय परिकार मध्ये एक हो । यो परिकार मास वा मुगीको दालबाट बनाइन्छ । वःलाई दैनिक रुपमा पनि बनाएर पनि खान सकिन्छ । यद्यपि यो नेवार समुदायका जात्रा र चाडपर्वमा भने अनिवार्य मानिन्छ । बिशेपतः सिथीनखःमा भने यसका बिभिन्न परिकार बनाएर खाने प्रचलन रहेको छ ।
पकाउने बिधिः
मास वा मुगीलाई एकदिन अघि नैपानीमा भिजाएर राख्ने गरिन्छ । त्यसपछि मास वा मुगीको बोक्रा निकाल्ने गरिन्छ । त्यसपछि सिलौटो वा ग्याण्डर मेसिनमा राखेर पिस्ने, पिसेको मास वा मुगीमा पिसेको अदुवा, स्वादअनुसारको नुन लगायत मसला मिसाइन्छ ।
त्यसपछि चुल्होमा फलामको तावा बसालेर तावा पुरै तातिएपछि त्यसमा तोरीको तेल दलेर तावालाई केही समय तताइन्छ । जब तेल पुरै तातिएपछि पिसिएको मास वा मुगीलाई हात वा कुनै डाडूको प्रयोग गरि तावामा राखेर हल्का हातले फिजाएर पकाइन्छ । एकापट्टिीको पाकिसकेपछि त्यसमा केही तेल पुनः राखेर हल्का तेल राखेर ओल्टाइपल्टाइ गरी पकाइन्छ ।
यसपछि पुनः ताउमा तेल दलेर रोटी जस्तै क्रमिक रुपमा वः पकाइन्छ । कसैले तेलमा तारेर पनि वः तयार गर्छन् । यो तातो तातोमा खानु स्वादिलो हुनुका साथै स्वास्थ्यबद्र्धक पनि हुन्छ ।
वःका प्रकार
मू र माय् वः (मुगी वा मास), तावामा तेलका साथ परम्परागत तरिकाले बनाउने गरिन्छ । यसमा केही अरु खानेकुरा मिसाइँदैन । मुगीको भए मुगी मात्र प्रयोग गरेर रोटीको आकारमा यसलाई तयार पारिन्छ ।
चटामरी वः ः यसमा चामलको पीठोको रोटी र रोटीको बीचमा मास वा मुगी राखिन्छ । मास वा मुगीबाटै यो बनाइन्छ ।
खे वः मुगी वा मासको बिचमा अण्डा राखेर पकाइने वः ।
आलु वः ः यो तेलमा आलुचप जस्तै बनाइने यस प्रकारको परिकार हो ।
ला वः (किमा) ः वःको बीचमा मासुको किमा राखेर पुनः मास पा मुगीले छोपेर यो बनाइन्छ ।
हराउँदै गएका वःका प्रकार
कक वः ः यो भक्तपुरको तलेजु पूजामा नभई नहुने बारा रहेको बताइन्छ ।
खोल्चा वः ः सानो कचौरामा मुगी वा मास राखेर तावामा घोप्टो पारेर पकाइन्छ । यसका साथै माटोको हासीमा (सानो घैंटो आकारको भाँडा, जसको पिंधमा प्वालैप्वाल भएको) भएको प्रयोग गरी खोल्चामा मास वा मुगी हासी भित्र राखेर यो प्वाल भएको भाडामा स्टिम गरेर पकाइन्छ । अहिले मःमःको भाडामा पनि खोल्चामा मुगी वा मास राखेर स्टिम गरेर पकाउन सकिन्छ । यो नेवारी परिकार योमरी पकाए जस्तै गरि पकाइने गरिन्छ ।
भू वः ः यो बिशेषत मासको दाललाई पिसेर एक इन्चीसम्म तेल अड्ने द्वाः मा १ इन्ची बाक्लो थाल आकारमा तेलमा डुवाएर पकाइने गरिन्छ । यसलाई भु वः अर्थात थाल आकारको वः भनिन्छ । यो वः मुख्यतया नेवार समुदायमा गुथि र देवताको कार्यमा प्रयोग हुन्छ । यो वः पकाउन तेलको प्रयोग बढी हुने गर्दछ ।
वः को महत्व
वः परिकार मात्र होइन, संस्कृति पनि हो । नेवार सुमदायमा जन्मदेखि मृत्युसम्मको संस्कार र अन्य शुभकार्य लगायत भोजमा वः अनिवार्य परिकारको रुपमा लिइन्छ ।
नेवार समुदायमा वःलाई पृथ्वीको प्रतीकका रूपमा लिइने संस्कृतिविद् ओम धौभडेल बताउँछन् । ‘नेवार समुदायमा सगुन दिंदा वःको माथि अण्डा, माछा, अदुवा राखेर दिइने चलन छ । यसकारण यसलाई पृथ्वीको तत्वको रुपमा पनि लिइन्छ,’ उनी भन्छन् ।
त्यस्तै वःसँग चटामरी (चामलको पीठोबाट बनाएको रोटी) अनिवार्य जस्तै हुन्छ । वः र चटामरीको सम्बन्ध नङ र मासुजस्तै हुने धौभडेल बताउँछन् । यो पोषणको हिसाबले पनि मिलेको हुन्छ । किनकि वःमा भिटामिन र मिनरल्स पाइन्छ भने चटामरीमा कार्बोहाइड्रेट । यसरी दुवै शरीरको लागि सन्तुलन मिलाएर खाने चलन छ ।
मानिसको जन्मसँगै गरिने न्वारन, पास्नी, जन्मदिन, विवाह, व्रतवन्ध, ईहिं, बारा निकाल्ने बेलामा चाहिन्छ । त्यस्तै मृत्यु संस्कारअन्तर्गत चार दिन, सात दिन, १२ औं दिनको कर्ममा नेवार समुदायभित्र वः अनिवार्य परिकार हो । वर्षभरका चाडपर्वमध्ये बाबुआमाको मुख हेर्ने दिन, दशैंको महाष्टमी, तिहारको भाइटीका, विभिन्न बाजागाजा खलः, दाफा भजन खलः को भोजमा वः अनिवार्य हुन्छ । विशेषतः सिथि नखःको दिन व, चटामरी कुमारलाई चढाएपछि मात्र अरुले खाने चलन रहेको संस्कृतिविद् धौभडेल बताउँछन् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
