आ.व.२०७९/८० मा भएका प्रगति बारेको समिक्षा कार्यक्रम

0

आ.व.२०७९/८० मा भएका प्रगति बारेको समिक्षा कार्यक्रम

 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आ. व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम, बजेट, कार्य योजना र सेवा प्रवाहको बारेमा भएका प्रगतिको विषयमा समिक्षा गरेको छ । साथै सोही अवसरमा नगरसभाबाट पारित चालु आ. व. २०८०/०८१ को विनियोजन ऐन २०८०, नीति तथा कार्यक्रम, बजेट र योजनासहितको पुस्तिका समेत लोकार्पण गरेको छ ।

कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले वार्षिक समिक्षाले नगरपालिकाको सेवा प्रवाहको स्तर मापन हुने र आगामी वर्षको लागि आवश्यक नीति निर्माण र योजना कार्यान्वयनका लागि मार्गदर्शन हुने भएकाले यसको महत्व रहेको बताए । उनले वार्षिक रुपमा भएका प्रगतिको तुलनात्मक नतिजाको लागि पनि समिक्षा गर्नु आवश्यक भएको चर्चा गर्दै यसले कर्मचारीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै उपप्रमुख विजयकृष्ण श्रेष्ठले समिक्षामा प्रस्तुत भएको प्रगति प्रतिवेदनले वडा र विषयगत शाखाहरुले एक वर्षमा के कति कार्य गरे, ती कार्य गर्दा के कस्ता समस्या र कठिनाई आइपरे भन्ने बारे जानकारी हुने र यसले आगामी दिनमा कार्य योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदीले समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनको विस्तृत अध्ययनबाट सार्वजनिक सुनुवाई मार्फत नगरवासी समक्ष पुर्याउने र नगरपालिकाको सेवा प्रवाहका बारेमा नगरवासीको धारणा संकलन गरी सुधार ल्याउन सहयोग पुर्याउने विचार व्यक्त गरे ।

आ.व.२०७९/८० मा भएका प्रगति बारेको समिक्षा कार्यक्रम

कार्यक्रममा नगरपालिकाको १ देखि ९ नं. सम्मा वडा कार्यालय, २ वटा महाशाखा र १५ वटा विभिन्न विषयगत शाखाहरुले आर्थिक वर्ष २०७९÷०८० मा भएका कार्यहरुको प्रगति प्रपतवेदन प्रस्तुत गरेको थियो । वडा अध्यक्ष र वडा प्रशासकिय प्रमुखहरुले कार्यालयले वार्षिकरुपमा गरेका सेवा प्रवाह अन्तर्गत राजश्व संकलन, सिफारिस, नाता प्रमाणित, बसाई सराई, घटना दर्ता र योजना कार्यान्वयनको अवस्था बारे जानकारी दिएका थिए । साथै सेवा प्रवाहमा आईपरेका कठिनाई, समस्या र चुनौतीका बारेमा पनि जानकारी दिएका थिए ।

यस्तै महाशाखा र विषयगत शाखाहरुले पनि मानव संशाधन, सेवा प्रवाहको अवस्था, उपलब्धी, चुनौती प्रस्तुत गर्दै लक्ष्य अनुरुप भएका प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणका क्रममा केही वडा प्रशासकिय प्रमुखहरुले नगरपालिकाले पहिलो पटक बृहत समिक्षा गरेको उल्लेख गर्दै कर्मचारीहरुलाई क्षमता विकासको लागि आवश्यक तालिमको आवश्यक भएको बताए ।

त्यस्ते कार्यक्रममा नगरपालिकाको न्याय समितिको प्रगति प्रतिवेदन र नगरपालिका अन्तर्गत सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको प्रगति विवरण अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रोशनले प्रस्तुत गरेको थियो । उनले गत बुधवारबाट अस्पतालले थप सेवा अन्तर्गत सिटि स्क्यान सेवा सञ्चालन भएको जानकारी दिए । साथै अस्पतालले गुणस्तरीय सेवाको लागि अस्पताल प्रशासन र नगरपालिकाबाट आवश्यक पहल भइरहेको जानकारी गराएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top