सन्दर्भ : विश्व पुस्तकालय दिवस
काठमाडौं । पुस्तकलाई मानिसको सबैभन्दा राम्रो साथी मानिन्छ, यसले हाम्रो ज्ञान बढाउनुका साथै मानसिक र भावनात्मक रूप वृद्धि गर्न पनि सहयोगी साबित हुन्छ । नेपालमा पनि विगतमा धेरै सार्जजनिक पुस्तकालयहरु सञ्चालनमा रहेका थिए । तर आज सार्वजनिक पुस्तकालयहरु समयक्रमसँगै बन्द हुँदै गइरहेका छन् । हाल नेपालमा केही पुस्तकालयहरु संचालनमा छन् । ती हुन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, राणाकालमा केशर शमशेरले स्थापना गरेको नीजि पुस्तकालय जुन २०२६ सालमा नेपाल सरकारलाई हूस्तान्तरण पछि केशर पुरुतकालयको नामबाट हालसम्म संचालनमा रहेको छ । त्यस्तै मदन पुरस्कार गुठीबाट संचालन भएको मदन पुस्तकालय, भक्तपुरमा रहेको जनज्योती पुस्तकालय, भारतीय दुतावासबाट संचालित नेपाल भारत पुस्तकालय र ब्रिटिस काउन्सिलले संचालन गरेको पुस्तकालयलगायत केही पुुस्तकालय अहिले पनि अस्तित्वमा रहेको छ । तर राष्ट्रिय दुर्भाग्यवश, आजको व्यस्त जीवनमा, पुस्तकहरूबाट मानिसको दूरी बढ्दै गएको छ । बालबालिकाको कुरा गर्ने हो भने स्मार्ट फोन, टिभी र ल्यापटपको कारणले किताब पढ्ने बानी बिर्सदै गएका छन् । गर्मी बिदाको दिन रमाइलो गरी खेल्दै, कमिक्स आदि पढ्नमा बित्ने गरेको बाल्यकालका दिनहरु धेरैले सम्झेको हुनु छन् । त्यसबेला पुस्तकालयमा बालसाहित्यसँग सम्बन्धित पुस्तकहरू भाडामा उपलब्ध हुन्थ्यो तर अहिले समय फेरिएको छ, सहरमा ग्याजेटले बालबालिकाको पढ्ने बानीलाई प्रभावित गरेको छ भने गाउँ र दुर्गम गाउँमा धेरै पटक गरिबी र भौगोलिक अवस्थाका कारण, बालबालिकाको किताबमा पहुँच छैन ।
बालबालिकामा पढ्ने बानीको प्रवद्र्धन गर्न उत्तराखण्डका युवाहरूले अनौठो पहल गरेका छन् जसका कारण दुर्गम क्षेत्रमा पनि बालबालिकाले सहजै पुस्तक पाउन थालेका छन् । जुनमा यी युवाहरूले घोडा पुस्तकालय सुरु गरेको छ, जसले घोडामा पुस्तक राखेर गाउँ–गाउँ पुगी बालबालिकालाई पुस्तक उपलब्ध गराएको छ । यस पुस्तकालय मार्फत बालबालिकालाई सामान्य ज्ञान, प्रेरक मनोरञ्जनात्मक कथा र नैतिक शिक्षा सम्बन्धी पुस्तकहरू उपलब्ध गराइन्छ । बालबालिकालाई साहित्य र नैतिकतासँग जोड्ने अभियान अन्तर्गत नैनीताल जिल्लाका शुभम बधानीले अन्य केही युवाहरूसँग मिलेर यो घोडा पुस्तकालय सुरु गरेका हुन् । उनले भने, ‘हाम्रो आइडियालाई स्थानीयवासीले मन पराएर हाम्रा लागि घोडा दिएका छन् । दुईवटा गैरसरकारी संस्था पनि सहयोग गर्न अगाडि आएका छन् । जुन महिनामा सञ्चालनमा आएको यस घोडा पुस्तकालयले ५० पहाडी गाउँलाई समेटेको छ ।
उत्तराखण्डको घोडा पुस्तकालय जस्तै विश्वमा अन्य धेरै अनौठा पुस्तकालयहरू छन् । यस्तै अन्य अनौठो पुस्तकालयहरुको बारेमा जानौं ।
लुईस सोरियनोंको गधामा पुस्तकालय बिब्लियोबुरा
लुइस सोरियानोको यो पुस्तकालय कोलम्बियामा धेरै लोकप्रिय छ । लुइस कोलम्बियाको एक ग्रामीण क्षेत्रमा एक शिक्षक थिए । यो क्षेत्र पिछडिएको र धेरै केटाकेटीहरुसंग किताब थिएन । सोरियानो चाहन्थे कि हरेक घरको हरेक बच्चाहरुले किताबहरु पढ्न सकून, त्यसैले सन् १९९७ मा उनले गधामा किताबहरू राखेर पुस्तकालय सुरु गरे जसको नाम बिब्लियोबुरो हो । कोलम्बियामा, पुस्तकालयलाई बिब्लियोटेका र गधालाई बुरो भनिन्छ – यसरी दुबै नामहरू मिलाएर बिब्लियोबुरो भयो । यो पुस्तकालय दुई गधाहरू – अल्फा र बिटोमा चल्छ । बच्चाहरूलाई पुस्तकहरू उपलब्ध गराउन लुइसले आफ्ना दुई गधाहरू – अल्फा र बिटा प्रयोग गर्छन् । उनी गधामा किताब बोकेर लामो दुरीको यात्रा गर्छन् । उनको ’गधा पुस्तकालय’मा इतिहास, भूगोल, गणित, दर्शन जस्ता विषय बाहेक बालबालिकाका लागि बालसाहित्य पुस्तकहरू पनि छन् । सन् १९७२ मा ला ग्लोरियामा जन्मेका लुइसले गधामा करिब ७० पुस्तक बोकेर हिँडेका छन् । जब लाडकरले यो पुस्तकालय सुरु गरे, मानिसहरूले उनको खिल्ली पनि उडाए तर चाँडै मानिसहरूले लुइसको मिशनको महत्व बुझे र उनका पुस्तकहरूको संख्या अहिले सात हजार नाघेको छ ।
मेल बक्स लाइब्रेरीः पुस्तकहरू उठाउनुहोस्, पढ्नुहोस् र फिर्ता गर्नुहोस्
यस्ता पुस्तकालयहरू प्रायः युरोपेली देशहरूमा देखिन्छन् । मानिसहरू यहाँ उपयोगी पुस्तकहरू सार्वजनिक स्थानहरू जस्तै पार्क वा सडकको कुनै विशेष ठाउँमा राख्छन् । पढ्नमा रुचि राख्ने व्यक्तिले यी किताबहरू उठाएर पढेर त्यही ठाउँमा राख्छन् । मानिसहरूले यति इमान्दारिता देखाउँछन् कि किताब पढेपछि फिर्ता राख्न बिर्सँदैनन् । एउटा किताब पढेर फिर्ता राखेपछि मात्र अर्को पुस्तक उठाउछन् । यी मेलबक्स पुस्तकालयहरूमा कम्तिमा १० पुस्तकहरू राखिएका हुन्छन् । यी पुस्तकालयहरू २००९ तिर सुरु भएका थिए ।
केन्या र पाकिस्तानमा ऊँटमा पुस्तकालय
केन्यामा ऊँट पुस्तकालयहरू धेरै लोकप्रिय छन् । यहाँ पुस्तकहरू ऊँटमा चढाएर पाठकहरु समक्ष पु¥याउने गरिन्छ । केन्यामा सन् १९८० को दशकमा ऊँटबाट किताबहरू पु¥याउने काम सुरु भएको थियो । जसमा ऊँटमा बक्स राखेर किताबहरू भरिन्छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तमा पनि कोरोनाको प्रकोपका समयमा पुस्तकालयलाई ऊँटमा चढाएर सुरु गरिएको थियो । प्रत्येक हप्ता क्यामल लाइब्रेरी इरानबाट केही किलोमिटर टाढा बलुचिस्तान प्रान्तको दुर्गम गाउँहरूमा पुग्छ । बलुचिस्तानमा धेरै थोरै मानिसहरू शिक्षित छन्, यहाँ महिला शिक्षाको दर २४ प्रतिशत छ, जुन विश्वमा सबैभन्दा कम हो । सिन्ध प्रान्तमा अझै पनि त्यस्ता क्यामल पुस्तकालयहरू कार्यरत छन् । राजस्थानको जोधपुरमा पनि कोरोनाको समयमा बालबालिकाहरूले पुस्तकहरूमा पहुँच पुग्न सकोस् भनेर क्यामेल लाब्रेरी शुरु गरिएको थियो ।
मिनी ट्रकहरूमा बिब्लियोमोटोकारा पुस्तकालय
इटालियन शिक्षक एन्टोनियो ला काभाले सन् २००० मा यस प्रकारका पुस्तकालय सुरु गरेका थिए, जसले गाउँ–गाउँ घुमेर बालबालिकालाई मनपर्ने पुस्तकहरू उपलब्ध गराउँथै । ला काभाको विश्वास छ कि किताब बिना बालबालिकाको संसार उजाड छ । यस सेवानिवृत्त विद्यालय शिक्षकले दुर्गम क्षेत्रहरूमा बस्ने बालबालिकाहरूलाई आफ्ना मनपर्ने पुस्तकहरू पु¥याउन आफ्नो तीन पाङ्ग्रे सवारी साधनलाई मोबाइल पुस्तकालय, बिब्लियोमोटोकारोमा परिणत गरे । उनको मोबाइल पुस्तकालय इटालीको सान पाउलो अल्बानीज जस्ता पहाडहरू पार गर्दै दुर्गम गाउँहरूमा पुग्न सक्षम छ, जहाँ प्राथमिक विद्यालय उमेरका दुई बच्चाहरू मात्र छन् । ला काभाको मान्यता छ सकेसम्म धेरै बालबालिकाहरू समक्ष साहित्यको आनन्द फैलाउनु महत्वपूर्ण छ ।
टेङ्क गाडीमा पुस्तकालय
अर्जेन्टिनाको ब्यूनस आयर्समा राउल लेमेसोफले आफ्नो फोर्ड फाल्कन कारलाई १९७९ मा आर्मी टेङ्क जस्तो अनौठो आकार दिएका थिए । अज्ञानको अन्धकार हटाउन र ज्ञानको ज्योति फैलाउन प्रयोग गर्दै आएको उनको ‘वेपन अफ मास इन्स्ट्रक्शन’ मा करिब ९०० पुस्तक राख्ने ठाउँ छ । एउटा भिडियोमा, लेमसोफलाई राजधानी ब्यूनस आयर्सको सडकमा गाडी चलाउँदै र बालबालिका, युवा र वृद्धवृद्धाहरूलाई पुस्तकहरू वितरण गरिरहेको देख्न सकिन्छ । उनी भन्छन्, ’पुस्तक किन्ने जो कोहीलाई म यति मात्र भन्छु कि तपाईंले यसलाई पढ्नुपर्छ ।
भारत पहिलो डुङ्गा पुस्तकालय कोलकातामा सुरु
पश्चिम बंगाल सरकारले राजधानी कोलकातामा डुङ्गा (बोट) लाइब्रेरी सुरु गरेको छ । यो आफ्नो किसिमको पहिलो पुस्तकालय भएको बताइएको छ । यस पुस्तकालयमा बालबालिकाले डुङ्गा चलाउँदा किताब पढ्न सक्नेछन् । डुङ्गामा निःशुल्क वाईफाईको सुविधासमेत दिइएको छ । ‘यंग रिडर्स बोट लाइब्रेरी’मा बालबालिकाका लागि अंग्रेजी र बंगाली भाषाका ५०० पुस्तकहरू राखिएका छन् । यो डुङ्गा पुस्तकालयमा तीन घण्टाको यात्रा हुनेछ । यो डुङ्गा मिलेनियम पार्कबाट सुरु भएर बेलुर मठ जेट्टीसम्म जान्छ र त्यहाँबाट फर्किने गर्दछ । यसको शुल्क बालबालिकाका लागि ५० रुपैयाँ र वयस्कका लागि १०० रुपैयाँ तोकेकोछ ।
यसै प्रकारका डुङ्गा लाइब्रेरी युरोपेली राष्ट्र नर्वेमा पनि इपोस नामको तैरिरहेको पुस्तकालय थिया । जो २०२० मा बन्द भएको थियो । यो तैरने पुस्तकालयले नर्वेको होर्डल्यान्ड, सोगेन ओग जोर्डने र मोरे ओग रोम्सडल काउन्टीहरूमा पुस्तक वितरण गर्दथ्यो । सन् १९५९ मा सुरु भएको यो जहाज पुस्तकालय सेवाले यी तीन काउन्टीका साना ठाउँमा वर्षमा दुई पटक भ्रमण गर्दथ्यो । जहाजको कप्तान बाहेक, दुई पुस्तकालयकर्मी र दुई मनोरन्जनकर्ता (जोकर र एक्रोब्याट) पनि नियुक्त गरियो । सन् २०२० मा यस जहाजको अन्तिम यात्रा कोभिड–१९ को प्रकोपका कारण रद्द गर्नुपरेको थियो र योसँगै जहाजको पुस्तकालय औपचारिक रूपमा बन्द गरिएको थियो ।
- एजेन्सीको सहयोयमा




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
