भक्तपुर । बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित भेरब मन्दिर परिसरमा रहेको दबुलीमा हजारौं नगरवासी र बिशिष्ट व्यक्तिहरु सामु जयजयकारको ध्वनीसँगै जिब्रो छेडाएका छन । ‘येंयाँ पुन्हीको अवसरमा हुने म्ये प्वा खनेगु’ जात्रा अन्तर्गत उनले जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएका हुन ।
दिनभरको मौन व्रत लिएका बालकरामले जिब्रो छेडाउनु अघि बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मका विभिन्न मन्दिर तथा देवालयमा बत्ति दिदै दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरेपछि उनलाई दुई जनाले समाएर उल्टो दिशा हिडाए जिब्रो छेड्न तयार पारिएको दबुलीमा लगिएको थियो ।
त्यसपछि सयौं जनमानसका सामु नकर्मीले एक महिना अघि निर्माण गरी शुद्ध तोरीको तेलमा डुवाएर राखेको करिव १० इन्च लामो सुईरोबाट थिमिका कमीनायोले बालकरामको जिब्रो छेडी दिएका थिए । योसँगै श्री भैरवनाथकी जय, श्री बालकुमारी माईकी जय, श्री सिद्धिकाली माईकी जयका जयजयकारका ध्वनी गुन्जिएको थियो ।
जिब्रो छेडेसँगै बालकरामलाई बाँसबाट बनेकोे भ्य (महादिप) काँधमा बोक्न लगाई भैरवनाथ मन्दिरको परिक्रमा गरी आफ्नो टोल चोडेस्थित गणेशको दर्शन गरेका थिए । त्यसपछि भुलाँखेल, सिद्धिकाली मन्दिर,ं सानोथिमि, पेप्सीकोला हुँदै एअरपोर्टको उत्तरपुर्वको बाटोबाट गुहेश्वरी,ं पशुपतिको दर्शनका लागि गएका थिए । त्यस्तै पशुपतिबाट सोही बाटो फकिएका उनी बोदे नगर परिक्रमा पछि बालकुमारी मन्दिर परिसर पुगेका थिए ।
यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले जिब्रोको सुइरो निकालिन्छ ।
सुईरो निकालिसकेपछि जिब्रो छेडाएको प्वालमा बालकुमारी मन्दिर भित्र रहेको नासःद्यः (नित्यनाथ) को माटो राखिदिन्छ । अनि सुईरोलाई बालकुमारी मन्दिर भित्रको थाममा ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुईरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले बालकुमारीमा रहेको महाद्यः फल्चामा केही समय बिश्राम पश्चात घर गई मान्यजनबाट कार्य सफलतापूर्वक सम्पन्न भएकोले सगुन लिन्छ र जात्रा समापन हुन्छ ।
उक्त जात्रा अवलोकनका लागि संघीय सरकारका सँस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती, भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापा, बागमती प्रदेशका कृषि तथा सहकारी मन्त्री राजेन्द्रमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।