भक्तपुर । यसवर्षको ‘येंयापुन्ही का दिन हुने म्ये प्वा खनेगु जात्रा’मा मध्यपुर थिमिका बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर पशुपतिको दर्शन र परिक्रमा गरी फर्कने बताएका छन । येंयापुन्हीको दिन म्ये प्वा खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको भेलामा उनले जिब्रो छेडेर पशुपतिको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिएका हुन ।
उनले यस पटक दोस्रो चाृेटी जिब्रो छेड्न लागेको हो । उनले यसभन्दा अघि २०७५ सालमा जिब्रो छेडाएको थियो । मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन हुन्छ । बिस्काः जात्राको अवसरमा बैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोदे नगरमा र येंयापुन्ही अर्थात आश्विन शुक्ल पुर्णिमाको साँझ मध्यपुर थिमि–५ स्थित दिगु भैलः मन्दिर परिसरको दबुली दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा छ । जुन यसवर्ष असोज १२ गते थिमिमा म्ये प्वा खनेगु (जिब्रो छ्ड्ने) जात्रा हुँदैछ । बोदेको जात्राले सदियौंदेखी निरन्तरता पाइरहेको छ भने थिमिको जात्रा नियमित सञ्चालन भएको पाईंदैन । लामो समय रोकिएको यो जात्राले २०७४ सालमा पुनर्जिवन पाएको थियो । करिव दुई दशक रोकिएको यो जात्रालाई २०७४ सालमा विरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर पुर्नजिवन दिएको थियो । २०७५ मा बालकरामले जिब्रो छेडाए भने २०७६ साल पछि कोरोनाका कारण रोकिएको यो जात्रा गत वर्ष पुनः विरेन्द्रभक्तले जिब्रो छेडाएर निरन्तरता दिएको थियो ।
बोदेको जिब्रो छेड्ने जात्रामा जस्तो निश्चित परिक्रमा मार्ग यस थिमि दिगुलीमा हुने जात्रामा नहुने भएकोले जिब्रो छडाउने व्यक्तिको स्वइच्छामा परिक्रमा गर्ने प्रचलन रहेको छ । यो भन्दा पहिले पनि जिब्रो छेडाएर पशुपति र चाँगुनारायणको दर्शन र परिक्रमा गरेको जनश्रृती रहेको छ
कार्यक्रममा मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठले बालकरामको साहसले भावी पुस्तामा जिब्रो छेडाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले बालकरामको संस्कृति प्रतिको लगावलाई उच्च सम्मान दिनुपर्ने बताए । उपप्रमुख श्रेष्ठका अनुसार जिब्रो छेडाएर बाँसबाट बनेकोे महादिप काँधमा बोकेर थिमिबाट पशुपतिको दर्शन गरी पुनः थिमिको बालकुमारी मन्दिर परिसरसम्मको यात्रा निक्कै कठिन भएपनि बालकरामले जुन सहास देखाएको छ, त्यो उनको संस्कृति प्रतिको लगावलाई उच्च सम्मान गर्नुपर्ने बताए ।
नगरको मुर्त अमुर्त कला संस्कृतिको संरक्षणमा आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको मध्यपुर थिमि नगरपालिकाले जिब्रो छेड्ने जात्रालाई पनि आर्थिक सहयोग उपलब्ध गराउँदैं आएको छ । सोही अनुसार यसवर्ष पनि नगरपालिकाले उचित सहयोग उपलब्ध गराउने उपप्रमुख श्रेष्ठले बताए ।
थिमिको जिब्रो छेड्ने जात्राको लागि जात्राको आठ दिन अगाडि शुक्रवार असोज ५ गते द्यः दुसालेगु चलन रहेको छ । त्यसको लागि बालकुमारी मन्दिरमा एघार वटा किसली चढाउनु पर्दछ र रातोभालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्राका दिन राजप्रतिनिधिको रुपमा दबलीमा राखी जिब्रो छेडाउने गरिनछ । ईन्द्रजात्रा अर्थात चतुर्दशीको दिन बालकुमारीमा पुन पुजासहितको रातो भालेको बलि दिई छ्वयला ब्वः भोज खुवाउने चलन छ ।
त्यसको भालिपल्ट येंयापुन्ही अर्थात आश्विन शुक्ल पुर्णिमाको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गरि बेलुकापख (साँझ) बालकुमारी देखि दिगुली स्थित दिगुभलःसम्मको बाटोमा रहेका मन्दिरहरुमा बत्ति दिदै जानु पर्दछ । त्यसपछि दिगुभैलः मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैलः द्योको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैलः द्योको सामुन्ने मुख फर्काई उल्टो दिशा तफए हिडाई दबलीमा पु¥याईन्छ ।
दवलीमा पुगेपछि नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्ये (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमी नायोले सुइरो निकालिन्छ र जिब्रो छेडिएको स्थानमा नासःद्यः परिसरको माटो राखिदिन्छ । अनि सुईरोलाई बालकुमारी मन्दिर भित्र रहेको ठाममा ठोकिन्छ ।
बालकुमारी मन्दिर परिसरमा सुईरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिन्छ र भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा जानुपर्ने प्रचलन रहेको छ ।
जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा अशान्त नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनताहरुलाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरे पश्चात आश्विन शुल्क पूर्णिमाका दिन सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराए भूतप्रेत र राक्षसहरु यस ठाउँमा साहसिक व्यक्तिहरु रहेको ठानी दुःख दिन नसक्ने जनश्रुति रहेको छ ।