भक्तपुर । ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा शुक्रबार प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा नर्सिङको २० औं ब्याचका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि प्रेम सुवालले ख्वप बहुप्राविधिक अध्ययन संस्थानले नर्सिङ स्वीकृतिका लागि सीटीईभीटीबाट सम्बन्धन प्राप्त गर्न सुरुवाती दिनहरुमा थुपै्र चुनौतीहरुको सामना गर्नुपरेको जानकारी गराएका छन् ।
राणाशासन र पञ्चायती शासनमा जस्तै बहुदलीय व्यवस्थामा पनि विद्यार्थीहरुलाई पढ्न कठिन भइरहेको बताउँदै उनले संसदमा समय समयमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरु निःशुल्क गर्नुपर्ने माग उठ्ने गरेतापनि त्यसको सम्बोधन हुन नसकेको जानकारी गराए ।
नर्सिङ सञ्चालन गर्न १०० शेय्याको आफ्नै अस्पताल हुनुपर्ने भनी एक वर्ष ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङको पठनपाठन बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै उनले युवाहरुलाई देशमै रोजगारीको सिर्जना गरी आफ्नै देश बनाउनुपर्ने कुरा सोही कार्यक्रम मार्फत बताएका छन् ।
बोली व्यवहार राम्रो बनाई धैर्यताका साथ निडर भई आफ्नो क्षेत्रमा काम गर्न आग्रह गर्दै उनले पढाइलाई विशेष ध्यान दिनुपर्ने र आफ्नो विषयमा विशेषज्ञता हासिल गर्ने ढंगले उच्च शिक्षा अध्ययन गर्न मार्गनिर्देश गरेका छन् ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुले परीक्षाको नम्बरमा भन्दा पनि आफ्नो क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने बताए । समाजवादी सिद्धान्त अनुरुप नागरिकहरुको जन्मदेखि मृत्युसम्मको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने व्यवस्था गरेको बताउँदै उनले सोही सिद्धान्त अनुरुप भक्तपुरमा काम भइरहेको जानकारी दिए । १०० शैय्याको आफ्नै अस्पताल चाहिने आवश्यकता बोध गर्दै हाल विशेषज्ञ सेवासहितको स्वास्थ्य उपचार प्रदान गर्दै आइरहेको ख्वप अस्पतालले निःस्वार्थ उपचारमा जनताको सेवा गर्ने उद्देश्य लिएको जानकारी दिए ।
शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाई लगायतमा तुलनात्मक रुपमा व्यवस्थित नगरको रुपमा भक्तपुर नपाले काम गरिरहेको बताउँदै भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा अगाडि बढाई देशभरिका विद्यार्थीहरुलाई पठनपाठन सहज वातावरणको व्यवस्था गर्ने कार्य गरिरहेको बताए ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शैक्षिक ऋण, छात्रवृत्ति प्रदान गरिरहेको जानकारी गराउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउन नगरपालिका सदैव लागि परिरहेको जानकारी दिए । सोही कार्यक्रममा कलेजका प्राचार्य रत्नसुन्दर लासिवा र नर्सिङका विभागीय प्रमुख इश्वरी डंगोल र शिक्षिका रबिना सुवालले पनि मन्तव्य राखेको थियो ।



%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
