– बसन्त महर्जन
चेपाङ समुदायको परम्परागत धार्मिक तथा सांस्कृतिक जीवनमा नुवाङ्गीको महत्व त्यही हुन्छ, जुन महत्व ब्राह्मण–क्षेत्रीका लागि दशै, नेवारका लागि मोहनी, थारूका लागि माघी, राई–लिम्बु का लागि साकेला र तामाङ, गुरूङ, शेर्पा आदिका लागि ल्होसार । चेपाङको नुवाङ्गीमा सहभागी हुने मौका मिल्दा एक खालको जुन उत्साह मनमा जागेको थियो, जाने ठाउँका चेपाङहरूले सर्लक्कै क्रिश्चियन धर्म अपनाइसकेको तर संस्कृति जोगाउनका लागि भएपनि नुवाङ्गी मनाउन लागेको भनेपछि थप जिज्ञासा भयो । गन्तव्य हो, मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको राक्सिराङ गाउँ नै । प्रत्येक भदौ २२गते नुवाङ्गी मनाउने परम्परा छ ।
क्रिश्चियन धर्म अपनाइसकेपछि गाउँमा परिवर्तन आएको अनुभव धेरै जसोले सुनाए । परिवर्तनको तात्पर्य शिक्षा, स्वास्थ्य र रहनसहन हो । मैले सोधें, “नुवाङ्गी र अरू पनि संस्कार र संस्कृतिमा परिवर्तन आयो र चौपट भयो नि, होइन र ?”
मैंले यस्तो प्रश्न गर्दा गाउँमा कोही चेपाङ टाउको कन्याउँदै हाँसे भने कोही जवाफ दिनुको साटो भाग्न खोजे । कोहीले यस्तो जवाफ दिए, “उता गएपछि यस्तो यस्तो गर्नु हुँदैन भन्छ, पहिला त नुवाङ्गी मानेकै हौं त । अब के गरौं के गरौं ।” अनि अलि टाठोबाठोले यस्तो जवाफ दिए, “संस्कृति बचाउनु पर्छ । हामी चेपाङको पनि आफ्नै इतिहास, संस्कृति र संस्कार छन् । यी कुराहरूलाइ बचाउनु पर्छ । यसैको लागि भनेर पनि हामीले म्युजियम बनाएका छौं, नुवाङ्गी यस्तो हुन्छ भनेर देखाउनका लागि सांस्कृतिक कार्यक्रमको योजना गर्न थालेका हौं ।
राक्सिराङ गाउँ पालिका भवन परिसरमा ठूलो मञ्च बनाएर आयोजना गरेको सांस्कृतिक कार्यक्रम राति अबेरसम्मै चल्यो । नुवाङ्गीको मुख्य पाटो भनेको नयाँ अन्नलाई घरमा भित्र्याएर खानु अघि पान्दे (झाँक्री) द्वारा ढ्वाङ्ग्रो ठटाउँदै विधिपूर्वक पूजा गरेर पित्रलाइ चढाउने हो । त्यही गाउँमा पान्देहरू नभएपनि अन्यत्रबाट ल्याएर नुवाङ्गीको पूजा विधि प्रदर्शन गरियो, साथै अन्य कार्यक्रमहरू पनि ।
क्रिश्चयन धर्म अपनाइ नसकेको घरमा हुने नुवाङ्गी कस्तो हुन्छ त ? रात भर चलेर भोलि विहानभरसम्म रहने भएका कारण अर्काे दिनमा अर्कै गाउँमा हेर्न जाने कार्यक्रम बन्यो ।
अर्काे दिन पनि नुवाङ्गीमा सहभागी भइयो । संस्कृति अध्ययनका एक अध्येताका लागि सांस्कृतिक जीवनमा आएको परिवर्तन अवलोकन गर्न पाउनु ठुलो अवसर भयो।