बसन्तपुरमा धाः बाजा प्रदर्शनी सम्पन्न

0

बसन्तपुरमा धाः बाजा प्रदर्शनी सम्पन्न


काठमाडौं । देशभर रहेका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा संघले १२ वटा टोलमा रहेका विभिन्न खलः, पुचः र गुथिलाई सम्मिलित गराएको थियो । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा बसोबास गर्दै आएका मानन्धरहरुले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । काठमाडौंको लाय्कू साः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः, पाक्व पुखूद्यां सनाः खलः, कीर्तिपुरको श्रीपञ्चमी मानन्धर गुथि, चन्द्रागिरीको मच्छेगाँ मानन्धर गुथि, फयख्वाः मानन्धर गुथि रामकोट र जापाली (वाँख्यो दाफा भजन खलः) काभ्रेका मानन्धरहरुले मौलिक बाजा प्रदर्शनी गरेका थिए ।

बाजा प्रस्तुति गरेका कलाकारहरु मध्ये अधिकांश १५ देखि ४० वर्षभित्र उमेर समूहका किशोर, किशोरी, युवा तथा महिलाहरु थिए । संघले सांस्कृतिक धरोहरलाई नयाँ पुस्तामा हस्तान्तरण गरी अमूर्त सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वाग्मती प्रदेश सांसद तथा पूर्वमन्त्री माननीय बसन्त मानन्धरले पुर्खाबाट निरन्तर रुपमा हस्तान्तरण हुँदै संचालनमा रहेको मौलिक बाजाको संस्कृतिलाई संरक्षण गर्ने काममा सक्दो सहयोग गर्ने बताए । सांस्कृतिक सेतु मार्फत समुदायलाई जोड्नुपर्ने सैद्धान्तिक मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्ने माननीय मानन्धरको भनाइ थियो । त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले देशकै गहनाको रुपमा रहेको अमूर्त सम्पदा संरक्षण, प्रवद्र्धन र विकासको लागि स्थानिय सरकारले काम गर्दै आएको बताए । उनले संस्कृतिलाई अर्थ व्यवस्थासँग जोडेर आर्थिक उपार्जनको माध्यम बनाएर अघि बढ्न सके यस्ता खाले गतिविधिको औचित्य पुष्टि हुने समेत जानकारी दिए । प्रवक्ता मानन्धरले महत्व बाजा बजाउनेसँगै यसको महत्व, विशेषता र बाजासँगको जीवन दर्शनलाई अध्ययन गर्न आह्वान गरे ।

हुनपनि गुंला पर्वको अवसरमा बौद्धमार्गी नेवार समुदायले विभिन्न मौलिक बाजा बजाएर प्रत्येक बिहान स्वयम्भू महाचैत्य दर्शन गर्न जाने परम्परा रहेको छ । बज्रयानी बुद्ध धर्म अनुरुप श्रृंगभेरी अवदानको किंवदन्तीमा मौलिक बाजा बजाएर चैत्य सेवा गर्दा पुण्य प्राप्त भएको र वियोगमा रहेका दम्पतीको पुनर्मिलन भएको उल्लेख छ । गुंला पर्वकै अवसरमा नेकू, चति, धाः, पस्ता, ताः, खिं लगायतका मौलिक बाजा बजाउँदा दिवंगत परिवारजनले आत्मशान्ति प्राप्त गर्ने समेत जनविश्वास गरिन्छ ।

वीरगञ्ज पर्सौनीलाई प्रतिनिधित्व गरी केन्द्रीय मानन्धर संघमा सभापति बनेका मनोज कुमार मानन्धरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधिसभाका सांसद माननीय सपना राजभण्डारी जोशी, वाग्मती प्रदेशका सांसद माननीय बसन्त मानन्धर, शैलेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, १३ का ध्रुवनारायण मानन्धर, २० का राजेन्द्र मानन्धर, श्री शार्दूल जंग गुल्मपति नेपाली सेनाका मेजर पूर्ण प्रजापति, सम्पदा विभाग उपप्रमुख श्रीजु प्रधान, १२ वटै टोलका कजि तथा बाजा गुरुहरु, संघका प्रवुद्ध व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रमलाई केन्द्रीय मानन्धर संघको सञ्चार उपसमिति र युवा उपसमितिले संयोजन गरेको थियो ।







Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top