काठमाडौं । ससाना बालबालिकाहरुले बालबालिकाका समाचारहरु मुलधारका मिडियाहरुले उचित ठाउँं नदिएको गुनासो पोखेका छन् । बालबालिकाका विषयमा समाचार माध्यमहरुमा प्राथमिकता दिन उनीहरुले अनुरोध गरेका छन् ।
अन्तर्राष्टिय वाल अधिकार दिवस २०८० को अवसरमा चाइल्ड नेपालले बालबालिकाको नेतृत्वमा सम्पादक र बालबालिकाहरुवीच आइतबार राजधानीमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी बालबालिकाहरुले मिडियाको भूमिका व्यापक हुने भएकाले बालबालिकाका समाचारलाई महत्वका साथ स्थान दिन अनुरोध गरेका थिए । बालबालिकाहरुबाट सञ्चालित कार्यक्रममा उनीहरुले सहभागी सम्पादकहरुलाई आ–आफना प्रश्नहरु राखेका थिए । सधैं प्रश्न सोध्ने काममा रहने सम्पादक पत्रकारहरुलाई बालबालिकाले प्रश्न गर्ने र सम्पादक पत्रकारहरुले उतर दिने कार्यक्रमले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
कार्यक्रममा बालबालिकाहरुले पत्रपत्रिकामा बालबालिकामाथि हुने यौन दुव्र्यवहारका समाचार छापिने तर त्यसलाई फलोअप नगरिदिंदा अपराधीले उन्मुक्ति पाउन सहज भइरहेको गुनासो गरे । उनीहरुले बालबालिकाले मातृभाषामा पढन पाउने अधिकार संविधानले सुनिश्चित गरे पनि त्यो कार्यान्वयनमा नआएको भन्दै यसलाई कार्यान्वयन गराउन संचारमाध्यमले केकस्तो भूमिका खेलिरहेको छ भनी प्रश्न राखेका थिए । साथै उनीहरुले अपांगता भएका बालबालिका, तेश्रो लिंगी बालबालिकाहरुको पक्षमा समाचार सम्प्रेषण गरिदिन अनुरोध गरेका थिए । साथसाथै उनीहरुले बालबालिकाहरुले बुझने गरी पत्रकारको भाषामा अझ बढी सामान्यीकरण गरिदिन पनि अनुरोध गरे ।
कार्यक्रममा रिपव्लिका दैनिकका सम्पादक कोषराज कोइराला, दी हिमालयन टाइम्स दैनिकका सम्पादक राजन पोखरेल, गोरखापत्रका कार्यकारी सम्पादक जुनारबाबु बस्नेत, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्हेवागवा, समूहका पूर्व अध्यक्ष एवं पत्रकार बविता शर्मा, सामुदायिक रेडियो प्रसारक संघ (सीआईएन) का सम्पादक दीपक आचार्यलगायतले बालबालिकाहरुको जिज्ञासाका बारे आ–आफनोतर्फबाट उत्तर दिएका थिए । कार्यक्रमको उदघाटन आयोजक चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले गरेका थिए । सवै बालबालिकाका लागि सबै अधिकार मूल नाराका साथ यो वर्ष संसारभर अन्तर्राष्टिय वाल अधिकार दिवस मनाइँंदै छ ।