कात्तिक ३०, काठमाडौं । काठमाडौंको न्हापांगु पलाः नेवाः मिसा पुचःले ४२ जना जेष्ठ नागरिकहरुलाई सामुहिक म्हपूजा गरेको छ । नेपाल संवत् नयाँ वर्षको पहिलो दिन अर्थात् कछलाथ्व पारु तिथिमा पुचःले सामुहिक म्हपूजा कार्यक्रम सम्पन्न गरेको हो । सामाजिक क्षेत्रमा काम गर्दै आएको पुचःले प्रत्येक वर्ष जेष्ठ नागरिकहरुको सुस्वास्थ्य, सुखी जीवन र दीर्घायुको लागि कामना गरी म्हपूजा गर्दैआएको छ । ‘हामीले प्रत्येक वर्षको म्हपूजा कार्यक्रममा ३५ जना जेष्ठ नागरिकहरुलाई सम्मिलित गराउँदै आएकोमा यो वर्ष संख्या थप भएको छ । लकडाउन भएको सालमा तीन वर्ष गर्न सकेनौं । घरबाट निस्किन बन्देज लगाएको भएर मात्र ती वर्षका कार्यक्रम स्थगित भएका हुन् ।’ पुचःकी अध्यक्ष शिला सायमिले बताइन् । संस्थाको निजी स्रोतले पुचःले विभिन्न खाले वार्षिक कार्यक्रम गर्दै आएको सायमिको दाबी छ ।
‘ज्याथजिथि मुनाः झी निभाः पाना’ भन्ने नारा दिएर क्वहिटी टोलको पुचःले यस वर्ष क्वहिटी बहालमा सामुहिक म्हपूजा कार्यक्रम सम्पन्न गरेको हो । ज्याथजिथि मुनाः झी निभाः पानाको अर्थ जेष्ठ नागरिकहरुलाई भेला गराएर न्यानो घाम तापौं भन्ने हुन्छ । नेवार समुदायले नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा गर्छन् । म्हको अर्थ शरीर हुन्छ । आफ्नै शरीरलाई पूजा गर्ने परम्परा म्हपूजा हो । म्हपूजामा शरीर, मन, वचन एकाग्र गरेर सुस्वास्थ्यको कामना गर्दै मण्डला बनाएर आफ्नै शरीरलाई पूजा गर्छन् । काय, वाक र चित्तको परिशुद्धि तथा एकाग्रताले व्यक्तिमा सिर्जना हुने नराम्रो विचार नष्ट हुने विश्वास गरिन्छ । व्यक्तिको चित्त एकाग्र भएको अवस्थामा धर्माेदय हुने मान्यता छ । पुचःले यसअघि जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको थियो । २०७२ सालदेखि डे कियरको रुपमा बाजेबज्यैहरु लक्ष्यित गरेर विभिन्न खाले गतिविधि सञ्चालन गर्दै आएको छ । भजन कीर्तन गराउने, धार्मिक कथा वाचन, नाचगान गर्ने/गराउने तथा विभिन्न कार्यक्रममा पुचःले जेष्ठ नागरिकहरुलाई सहभागी गराउँदै आएको छ ।