भक्तपुर । नगरपालिका भित्र संचालनमा रहेको शिशु स्याहार केन्द्रको रुपमा खोलिएका मन्टेश्वरीले लिने शुल्क न्यून आय भएका अभिभावकहरुले आफ्ना छोराछोरी पढाउन नसक्ने अवस्था आएपछि मध्यपुर थिमि नगरपालिकाले न्युन शुल्कमा शिशु स्याहार केन्द्र खोल्न लागेको जनाएको छ । नगरपालिकाले आफ्नो लगानीमा शिशु स्याहार केन्द्र खोल्ने अवधारणा सार्वजनिक गरेको छ । निजी स्तरबाट सञ्चालित मन्टेश्वरीमा महँगो शुल्क तिर्नु पर्ने भएकोले नगरबिासीहरुको सुविधाको लागि भन्दै नगरपालिकाले शिशु स्याहार तथा बालबिकास केन्द्र खोल्न लागेको हो ।
नगर सभाबाट पारित निर्णय अनुसार नगरबासीलाई शिक्षामा सहज पहुँच सुनिश्चित गर्न लिएको नीतिलाई कार्यान्वयन गर्न वडा स्तरमा प्रत्येक वडामा एउटा बाल विकास केन्द्र खोल्न लागेको जनाएको छ । नगर भित्र सञ्चालनमा रहेका मन्टेश्वरीहरुले मासिक १० हजार भन्दा बढी शुल्क लिँदा न्यून आय भएकाको छोराछोरीले पढाउनै नसक्ने अवस्था आएपछि नगरपालिकाले सस्तोमा पढाउने गरी केन्द्र खोल्न लागेकोे हो ।
आर्थिक रुपमा सबैको पहुँच हुने गरी शिशु स्याहार केन्द्र तथा बाल विकास केन्द्र खोल्न लागेका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । नगरपालिकाको गत आइतबार बसेको कार्यपालिका बैठकले नगरका सबै वडामा लागत साझेदारीमा शिशु स्याहार तथा बालबिकास केन्द्र सञ्चालन गर्ने कार्यविधि समेत पारित गरिसकेको उनले बताए । शिक्षा क्षेत्रमा नगरपालिकाको यो एउटा पाईला भएको उनले बताए।
सोको लागि आवश्यक भौतिक संरचना नगरपालिकाले व्यवस्थापन गरी दिने र साझेदारीको रुपमा टोलमा क्रियाशिल कुनै संस्थासंग सहकार्य गरी सञ्चालन गर्न लागिएको नगरपालिका स्रोतले जनाएको छ ।