भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा दोश्रो नगरस्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०८० शुक्रबारबाट सुरु भएको छ । उक्त प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
प्रतियोगितामा नगरका १८ सामुदायिक बिद्यालयसहित कुल ३७ वटा विद्यालयका एक हजार दुई सय २८ जना विद्यार्थीहरु सहभागी भएको उदघाटन कार्यक्रममा जानकारी दिएको छ । प्रतियोगिता अन्तर्गत विभिन्न ६ वटा विधाहरुमा प्रतिस्पर्धा हुने छ जसमा एथलेटिक्स, कबडी, मार्सल आर्टस्, भलिवल, कराँते र उसु प्रतियोगिताहरु संचालन हुने जनाइएको छ । प्रतियोगिता अन्तर्गत उदघाटनसँंगै शुक्रबारदेखि नै प्रतिस्पर्धाहरु पनि सुरु गरिएका छन् । प्रतियोगिताको तीन नै दिन छुटाछुटै ठाउँंहरुमा प्रतियोगिता हुने जनाइयो । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई सम्वन्धित वडामा नै वडा अध्यक्ष वा जनप्रतिनिधिहरुबाट खेलको समाप्तीसँंगै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिएको कार्यक्रममा जनाइएको छ ।
प्रतियोगिताको उदघाटन मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले संयुक्त रुपमा सानोथिमिस्थित मध्यपुर युथ एसोसिएसनको खेल मैदान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले किताबी ज्ञानसंगै खेलकुदलाई पनि संगै आगाडी लानुपर्ने बताउँदै नगरपालिकाको ऐन पालना नगर्ने विद्यालयलाई यस प्रतियोगितामासमेत भाग लिनबाट बन्चित गरिएको जानकारी दिए ।
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सुजाता बाडेलगायतले प्रतियोगिताबारे चर्चा गरेका थिए । उदघाटन कार्यक्रम मध्यपुर थिमि नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा भएको थियो । उदघाटन कार्यक्रममा नगरपालिकाभित्रका नौ वटै वडाका वडा अध्यक्षहरु पनि अतिथिका रुपमा रहेका थिए ।
प्रतियोगिता अघि विभिन्न स्कुलका विद्यार्थीहरु र्यालीसहित उदघाटनस्थलमा सहभागी भएका थिए । कार्यक्रमको क्रममा विभिन्न स्कुलका विद्यार्थीहरुबाट नृत्यहरु पनि देखाइएको थियो ।