एजेन्सी । अमेरिकामा टिकटक प्रतिबन्धको नाटक सकिएको छैन । सुरक्षा कारण देखाउँदै अमेरिकाले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाएको केही समय पछि पुनः ७५ दिनको लागि प्रतिबन्ध हटाएको छ । तर अचम्मको कुरा के छ भने डोनाल्ड ट्रम्पको यो कदमका बाबजुद पनि टिकटक अमेरिकी एप स्टोरबाट बाहिरिएको छ । अब टिकटक अमेरिकी खरिदकर्तालाई नबेचेसम्म यो अमेरिकाको एप्पल वा गुगल एप स्टोरमा फर्किने छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार टिकटकको सञ्चालन ७५ दिन बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकामा टिकटकका लगभग १७ करोड प्रयोगकर्ता छन् र ट्रम्पको जितमा टिकटकले ठूलो भूमिका खेलेको छ ।
बाइडेनले लगाएका थिए प्रतिबन्ध
प्रतिवेदनमा जनाए अनुसार राष्ट्रपति बाइडेनको प्रशासनको पहिलो वर्षमा टिकटकमाथि प्रतिबन्ध लगाउनु असम्भव देखिन्थ्यो । यद्यपि, अप्रिल २०२४ मा, राष्ट्रपति बाइडेनले टिकटकको मूल कम्पनी बाइटडान्सले ९ महिना भित्र अमेरिकी खरीददारलाई एपको स्वामित्व हस्तान्तरण गर्नुपर्ने र त्यसपछि मात्र यसले अमेरिकामा आफ्नो अस्तित्व जोगाउन सक्ने कानूनमा हस्ताक्षर गरे । बाइडेन प्रशासनलाई डर थियो कि यो चिनियाँ एप अमेरिकीहरूको जासुसी गर्न वा डेटा सङ्कलन र सामग्रीको हेरफेर मार्फत गोप्य रूपमा अमेरिकी जनमतलाई प्रभाव पार्न प्रयोग गर्न सकिन्छ ।
यदि एप स्टोरमा "TikTok" खोजे भने के हुन्छ ?
युएसए टुडेको रिपोर्ट अनुसार, गुगल प्ले स्टोरमा टिकटक खोज्ने एन्ड्रोइड प्रयोगकर्ताहरूले एपको आइकन देख्नेछन्, तर त्यसमा क्लिक गर्न सकिने छैन । त्यसमा एउटा सन्देश देखिन्छ, जसमा लेखिएको छ – के तपाईं टिकटक खोज्दै हुनुहुन्छ ? त्यसपछि एउटा नोट आउँछ, जसमा भनिएको छ कि हालको अमेरिकी कानुनी आवश्यकताहरूका कारण यो एपको डाउनलोड रोकिएको छ । साथै, टिकटक खोज्ने आईफोन प्रयोगकर्ताहरूलाई एउटा सूचना प्राप्त हुन्छ जसमा भनिएको हुन्छ – टिकटक र अन्य बाइटडान्स एपहरू तपाईंको देश वा क्षेत्रमा उपलब्ध छैनन् ।