काठमाडौं । भक्तपुर र ललितपुरको बीचमा रहेको लुभुमा योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग फेला परेकोे छ । महालक्ष्मी नगरपालिका वडा नं. ८ मा रहको लुभुको अन्नडोलमा मल्ल राजा योगनरेन्द्र मल्लको नामांकित शिवलिङ्ग फेला परेको हो । उक्त ठाउँमा घर बनाउने प्रयोजनका लागि इनार खन्ने क्रममा शिवलिङ्ग भेटिएको स्थानीय प्रकाश थापाले जानकारी दिए ।
उनले सो शिवलिङ्ग आफ्नो घरमा सुरक्षित राखेका बताएका छन् । अक्षर उत्कीर्ण शिवलिङ्गको ऐतिहासिकताबारे अध्ययन गर्न उपप्राध्यापक सुरेश बखुन्छें, सञ्चारकर्मी हरिसुन्दर छुकां, आर्किटेक्टर सिर्जना प्रजापति र इन्जिनियर तुल्सीलाल बासुकलाको टोली उक्त स्थानमा पुगेका थिए ।
टोलीले उक्त शिवलिङ्गमा उत्कीर्ण अक्षर र शब्द अध्ययन गर्ने क्रममा उक्त शिवलिङ्ग योगनरेन्द्र मल्लको पालाको भएको बताएका छन् । उक्त शिवलिङ्गमा नेपाल संवत् ८१६, योगनरेन्द्र मल्ल, शिवलिङ्ग, न्येमा, , लुवु, माघ शुक्ल लगायतका अक्षर रहेको बताएका छन् ।
सो शिवलिङ्गको गोलाई १२ इन्च, जलद्रोणीसहित १६ इन्च र उचाइ ६ इन्च रहेको छ । केही भाग चोइटिएको कारण अध्ययनमा केही कठिनाइ भएको र शिवलिङ्गमा रहेको अभिलेखको लिप्यान्तरपछि थप तथ्य खुल्ने टोलीले जनाएको छ ।