काठमाडौं । ललितपुरको पुल्चोक, महापाल, मंगल बजार, पाटन सुन्धारा हुँदै बुद्ध बिहारसम्म ई–बग्गी (इलेक्ट्रिक रिक्सा) गुड्न थालेको छ । फागुन १९ अर्थात् सोमबारदेखि ललितपुरका यी ठाउँमा ई– बग्गी चल्न थालेको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बिहान १० देखि साँझ ६ बजेसम्म पुल्चोकदेखि बुद्ध विहारसम्म ई–बग्गी पुग्दै फर्किरहेको जानकारी दिए ।
उनका अनुसार परीक्षण अवधिभर यो बग्गीमा निःशुल्क यात्रा गर्न सकिनेछ । “ललितपुरमा पर्यटकहरू घुम्न त आउँछन् । तर उनीहरू पाटन दरबार स्क्वायर र मंगलबजारमा मात्र सीमित छन् । उनीहरूलाई ललितपुरको अन्य पर्यटकीय स्थलमा पनि घुमाउने उद्देश्यले परीक्षण गरिरहेका छौँ,” उनले भने ।
परीक्षण सफल भए एक महिनापछि थप ४ ओटा ई–बग्गी किन्ने र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना रहेको हाछेथुले सुनाए । उनका अनुसार भविष्यमा लगनखेल, कुमारी पाटी जावलाखेल हुँदै पुल्चोक फर्कने रुटमा चलाउने गरी योजना बनेको छ । “यो रिक्सा सानो गल्लीमा पनि जान सक्छ । विद्युतीय भएका कारण वातावरणमैत्री पनि छ,” उनले भने ।