भक्तपुर । समय सापेक्ष पाठ्यक्रम अनुसार पठनपाठन गराउँदै आएको विनायक शिक्षा निकेतनले यही २०८१ फागुन २३ गते चौथो Student Quality circle स्कुल कन्भेन्सनको आयोजना गरेको छ । विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मास्टर ट्रेनर तथा मध्यपुर हब कोअर्डिनेटर प्रेमप्रसाद निरौला, मास्टर ट्रेनरहरू उत्तरकुमार सुब्बा र तुल्सीहरी प्रजापतिको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कक्षा ४ देखि ९ सम्मका १२ वटा सर्कल सहभागी रहेको उक्त कन्भेन्सनको मुख्य उद्देश्य विद्यार्थीहरूलाई हरेक समस्या समूहमा पहिचान गरी त्यसको समाधान आफै कसरी गर्न सकिन्छ र त्यसका लागि के कस्ता टुल्स र विधिहरु प्रयोग गर्न सकिन्छ । कसरी विद्यार्थीलाई असल र स्मार्ट बनाउने भन्ने रहेको सहायक प्रिन्सिपल निरौलाले जानकारी दिए ।
कार्यक्रमको समापन समारोहमा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल प्रजापतिले विद्यार्थीहरूको सर्वाङ्गिण विकास, वाकपटुताको विकास तथा असल ,चरित्रवान, दक्ष र नेतृत्व क्षमता वृद्धि गर्न तथा हरेक क्रियाकलाप समूहमा गर्न सिकाउने उद्देश्य राखी विगत ६ वर्षदेखि कोर्सकै रुपमा एक्सक्युसीलाई पठनपाठन गराउँदै आएको र जसले विद्यार्थीहरुलाई पढाइका साथै अन्य क्षेत्रमा सफल बनाउन प्रयत्नरत रहेको कुरा बताए ।