मध्यपुर थिमिमा जेसुमको मौलिक संस्कृति प्रवर्धन यात्रा

0

भक्तपुर । स्थानीय कला, संस्कृति र सम्पदालाई सिर्जनात्मक अभिव्यक्तिमार्फत उजागर गर्दै समाजमा सकारात्मक धारणा फैलाउने उद्देश्यले सुरु गरिएको ’जेसुम यात्रा’ अभियानको पछिल्लो श्रृंखला भक्तपुरको ऐतिहासिक नगर मध्यपुर थिमिमा सम्पन्न भएको छ । सात वर्षअघि स्वतन्त्र स्रष्टाहरूको समूहले सुरु गरेको यो अभियान चित्र, साहित्य र अभिनयमार्फत नेपालमा रहेको मौलिक संस्कृतिको प्रवद्र्धन गर्दै अगाडि बढिरहेको छ ।

गत सोमबार साहित्यकार, पत्रकार, चित्रकार र संस्कृतिप्रेमीहरूको टोलीले बैशाख २९ गते बिहान ८ बजे थिमिमा रहेका प्रमुख सम्पदाहरुको अवलोकन गरे । उनीहरूले मल्कालीन बालकुमारी मन्दिर, लोकेश्वर, लायकु, निगूपुखू, दिगु भैरव, सिद्धिकाली, चपाचो, नगदेशको सुनको तिकीझ्याः, सिद्धिगणेश, बोडेको पलेस्वाँ पुखू, पाँचो गणेशलगायतका सम्पदास्थल पुगेर इतिहास र संस्कृतिको अवलोकन गरे ।

थिमिका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले थिमिमा रहेका सम्पदाको इतिहास, जात्राको परम्परा र संस्कृतिको महत्त्वबारे स्रष्टाहरुलाई जानकारी दिँदै पथप्रदर्शकको भूमिका निभाएका थिए । कुमारी मन्दिर परिसरमा पुगेर टोलीमा सहभागी चित्रकारहरूले थिमिको सांस्कृतिक दृश्यलाई क्यानभासमा उतारेका थिए भने साहित्यकारहरूले कविता कोरेका थिए ।

जेसुम यात्राकी परिकल्पनाकार एवं संयोजक कवि तथा बुढानिलकण्ठ नगरपालिकाकी नगर उपप्रमुख अनिता लामाले भनिन्, “थिमिको भित्री स्वरूप हेर्दा लाग्छ, कुनै ऐतिहासिक कालखण्डमा पाइला टेकेको छु ।” लामाले बौद्ध र नेवार सभ्यताको समिश्रणमा कविता लेखेकी थिइन् । उनले जेसुम यात्रालाई सामाजिक उत्तरदायित्वको रूपमा लिएकी बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा जेसुम यात्राका संस्थापक बालकृष्ण बस्नेतले पनि थिमिको सम्पदाबाट प्रभावित भएर कविता कोरे । उनलाई पछ्याउँदै स्नेह सायमी, रामगोपाल आशुतोष, अस्मिता मानन्धर, फूलमान वल, घनश्याम खड्का, दिपेन्द्र बनेपाली, रजनी मिला, ज्ञानराम श्रेष्ठ, बुद्धिकृष्ण वागः श्रेष्ठलगायतले आफ्ना सिर्जनाको वाचन गरेका थिए ।

चित्रकार चन्द्रा श्रेष्ठले मन्दिरलाई पृष्ठभूमिमा राखेर चित्र कोरे भने दिपेन्द्रमान बनेपालीले कवि स्नेह सायमीको ‘चश्मा र आँखा’ कवितालाई दृश्यात्मक रूपमा उतारे । मिथिला चित्रकार सरितादेवी मण्डलले थिमिको जनजीवन र कृषि परम्परालाई मिथिला शैलीमा चित्रित गरिन् ।

निवर्तमान नगरप्रमुद श्रेष्ठले जेसुम यात्राको बारेमा धेरैपटक सुनेको बताउँदै, आज साक्षात् सहभागी हुन पाएकोमा यो अभियान साँच्चै प्रेरणादायी भएको विचार व्यक्त गरे । उनले सो दिनको सबै सिर्जनाहरूलाई समेटेर पुस्तकको आकारमा प्रकाशन गर्ने तयारीमा रहेको पनि जानकारी दिए ।

जेसुम यात्राका संस्थापक बस्नेतका अनुसार यो अभियान काभ्रेको धुलिखेलस्थित हजार सिँढीबाट सुरु भएर नगरकोट, धनकुटा, बुढानीलकण्ठ, चन्द्रागिरी, अनन्त लिंगेश्वर हुँदै थिमि आइपुगेको जानकारी दिए । उनले सांस्कृतिक पुनर्जागरण र सकारात्मकताको सन्देश बोकेको यो अभियान नेपाली राष्ट्रिय संस्कृति निर्माणतर्फको महत्त्वपूर्ण पाइला रहेको पनि बताए । यात्रामा लक्ष्मी माली, शशी लुमुम्बु, अनन्त वाग्ले, जयन्ती स्पन्दन, कल्पना श्रेष्ठ, नन्दु उप्रेती, सुन्दर शिल्पकार, रामदत्त मिश्र, डम्बर मिश्र, संगीतकार अशोक राई, वसन्त मुकारुङलगायतका स्रष्टाहरू सहभागी थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top