भक्तपुर । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले जुजु धौ (दहि) सम्बन्धी सामाजिक सञ्जालमा फैलिएका भ्रामक प्रचारहरूको खण्डन गरेको छ । भक्तपुर नगरपालिका वार्ड नं. २, व्यासीस्थित लक्ष्मी दहि भण्डार र सैजु दुग्ध उद्योगका साथै अन्य डेरी उद्योगहरूको निरीक्षण गर्दा कुनै पनि प्रकारका अखाद्य पदार्थ, जस्तै टिस्यु पेपर, कागज, वा पानीमा नघुल्ने वस्तुहरू दहीमा मिसाइएको पाइएन । विभागले एक विज्ञप्ती प्रकाशित गर्दै बताएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालका अनुसार, मिति २०८२-०१-२६ गते गरिएको यो अनुगमनले दहीको उत्पादन र विक्री वितरणको प्रक्रियामा कुनै पनि अस्वस्थ्य घटकको उपस्थिति नदेखाएको पुष्टि भएको छ । सामाजिक सञ्जालमा फैलिएका भ्रामक जानकारीहरूले उद्योगहरूको प्रतिष्ठामा नकारात्मक असर पुर्याउन सक्ने भएकाले विभागले यसप्रकारका समाचार र सामग्रीहरू प्रसारण गर्दा सावधानी अपनाउन र जिम्मेवार बन्न आग्रह गरेको छ । विगत केही समयदेखि भक्तपुरबाट उत्पादन हुने नेपाल मात्र होइन विश्वमै नाम कमाएको भक्तपुरको जुजु धौको विषयमा अनावश्यक टिप्पणीसहित खान नहुने भन्दै सामाजिक संजालमा भ्रम फैलाउने र स्थानीयस्तरमा उत्पादन भएर पनि विश्व बजारमा ब्राण्डको रुपमा स्थापित जुजु धौ प्रति नकारात्मक भावना फैलाउने उद्देश्यबाट भएको भ्रामक प्रचार प्रति उपभोक्तामा सचेतना जगाउन विभागले प्रेस नोट जारी गरेको हो । किनकी हालसम्म सो धौको सेवनबाट मानव स्वास्थ्यमा कुनै असर नगरेको व्यवसायीको भनाई छ ।
प्रेस नोटमा भनिएको छ, “सामाजिक सञ्जालमा पोस्ट गरिएका तथ्यहीन भिडियोहरू उद्योगलाई नकरात्मक प्रभाव पार्न सक्छ, जसले राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पुर्याउन सक्छ ।”
साथै, खाद्य व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तर ऐन, २०८१ को पालन गर्न आग्रह गरिएको छ । विभागले खाद्य पदार्थको गुणस्तर र स्वच्छता सम्बन्धी कुनै पनि गुनासो भए विभाग र मातहतका कार्यालयहरूमा सूचना दिन पनि अनुरोध गरेको छ ।