भक्तपुर । लोकतान्त्रिक मूल्य र मान्यतालाई पूर्ण रुपमा अङ्गीकार गरी स्वच्छ मर्यादित चुनावी अभ्यासको प्रंवद्र्धनलाई प्राथमिकतामा राख्दै एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सभ्य रूपमा सम्पन्न गरिएको छ । भानु, लक्ष्मी, लेखनाथ र मोति चार सदनका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि गरिएको निर्वाचनले राष्ट्रिय निर्वाचनको झल्को दिएको थियो ।
लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति विकास गर्ने उद्देश्यले आयोजना गरिएको निर्वाचनमा कक्षा ७ देखि १० सम्मका ४६८ विद्यार्थीहरूले मतदाताको रूपमा सहभागी जनाएका थिए । उम्मेदवारहरूको नाम दर्ता, चुनाव चिन्ह वितरण, र प्रचारप्रसारदेखि मतगणना आदि प्रक्रियाहरू विधिवत तथा औपचारिक ढङ्गले अघि बढाइएको थियो ।
चुनावी प्रचार प्रसारमा उम्मेदवार तथा सदनात्मक सदस्यहरुको उत्साहपूर्ण सहभागिता देखिएको थियो । मतदाता शिक्षाको रूपमा मतदान प्रक्रिया, मत बदर हुन सक्ने अवस्था, आचारसंहिता र स्वस्थ प्रतिस्पर्धाको महत्वबारे विद्यार्थीहरूलाई पूर्व–अभिमुखीकरणसमेत प्रदान गरिएको थियो ।
निर्वाचन व्यवस्थापनमा पनि विद्यार्थीहरूले नै प्रमुख निर्वाचन आयुक्त, मतदान अधिकृत, पर्यवेक्षक, सुरक्षाकर्मी लगायतका सम्पूर्ण जिम्मेवारी बहन गरेका थिए । मतदान हुने अघिल्लो दिन नै मतदाता परिचयपत्र वितरण गरिएको थियो ।
बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएको र मतदान पश्चात् मतपेटिका सिलबन्दी गरी विद्यालयका प्रधानाध्यापक, प्रशासकीय प्रमुख, सहायक प्रधानाध्यापक, पर्यवेक्षक तथा उम्मेदवार प्रतिनिधिको रोहवरमा मतगणना गरिएको थियो । यस निर्वाचनमा आठ पदका लागि २१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रमाणपत्रसहित बधाई तथा सम्मान व्यक्त गरेका थिए । उनीहरूले विद्यालयको मूल्य, मान्यता र अनुशासनको रक्षा गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने सफथ लिए । विद्यालयमा गरिएको यो चुनावी अभ्यासले विद्यार्थीहरूमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ । निर्वाचन कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन कार्यमा माध्यमिक तह संयोजक निरण मानन्धर लगायत सामाजिक अध्ययन विभागका शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो ।