नेपालमै पहिलोपटक मष्तिष्क मृत्युबाट प्राप्त कलेजो र मृगौला दुईजनामा सफल प्रत्यारोपण

0



भक्तपुर । नेपालको स्वास्थ्य क्षेत्रमा अंग प्रत्यारोपण सेवाले एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एब प्रत्यारोपण टोलीका प्रमुख डा पुकार श्रेष्ठका अनुसार नेपालमा पहिलोपटक मष्तिष्क मृत्यु भएको व्यक्तिबाट प्राप्त कलेजो र मृगौला एउटै व्यक्ति र मृगौला अर्को व्यक्तिमा गरी दुईजनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । कलेजो र मृगौला शिव महर्जनलाई र अर्को मृगौला मात्र एक महिलामा सफल प्रत्यारोपण गरिएको हो ।

यो ऐतिहासिक प्रत्यारोपण २०८२ साल जेठ १ गते (२०२५ मे १५) सम्पन्न गरिएको केन्द्रले एक प्रत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । केन्द्रमा अनुसार यो उपलब्धि नेपालको स्वास्थ्य क्षेत्रमा अंग प्रत्यारोपण सेवाको विश्वसनीयता र क्षमतामा एतिहासिक उपलब्धि पनि रहेको जनाएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको १३ वर्षको अवधिमा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ । २०६८ फागुनमा स्थापना भएको यस केन्द्रले २०६९ सालमा डायलाइसिस सेवा, त्यसपछि मृगौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, कार्डियाक (क्याथ) लगायतका सेवा विस्तार गर्दै आएको छ ।

केन्द्रका अनुसार हालसम्म दुई तिहाइभन्दा बढी मृगौला र कलेजो प्रत्यारोपण केन्द्रबाट सम्पन्न भएका छन् । यस केन्द्रमा मानव अंग प्रत्यारोपण ऐन २०७२ र त्यसपछिको नियमावली अनुसार पियर एक्सचेन्ज, मष्तिष्क मृत भएको दाताबाट अंग प्रत्यारोपणलगायतका जटिल शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न हुँदै आएका छन् ।

२०८१ सालदेखि सुरु गरिएको एक वर्षे प्रत्यारोपण फेलोसिप कार्यक्रमले यस क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई थप दक्षता प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपालमा अंग दान र प्रत्यारोपणप्रति आमनागरिकमा जनचेतना फैलिँदै गएसँगै यस्तो महत्वपूर्ण उपलब्धिले चिकित्सा क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा सकारात्मक संकेत दिने केन्द्रलेृ विश्वास लिएको छ ।

केन्द्रले पत्रकार सम्मेलन मार्फत जारी गरेको प्रेस वक्तव्यको पूर्णपाठ

नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मृगौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मृर्गौला र कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएको छ । संसारकै सबै भन्दा जटिल शल्यक्रिया मध्येको उक्त कार्य संसारमै बिरलै हुने गरेको छ । अर्को मृगौला एक ४२ वर्षिया महिलामा प्रत्यारोपण गरिएको छ । प्रत्यारोपित व्यक्तिहरुले स्वास्थ्य लाभ गरिरहेका छन भने केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको छन ।

प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रयारोपणमा कलेजो तर्फ डा. रोशन घिमिरे र डा प्रविण महर्जनले सघाउनु भएको थियो भने मृर्गौला तर्फ डा दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा हरि प्रसाद बराल, डा रोजन अधिकारी डा विकास खड्का लगायतले सघाउनु भएको थियो । एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा.आरती राई, डा.निभा श्रेष्ठ, डा. शोभित थापा, डा रेखा श्रेष्ठ, लगायतले सहयोग गर्नुभएको थियो ।

यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा.सुमित आचार्य, डा सन्तोष सुवेदी डा रुबश नाथ योगी र डा. विक्रमवीर बज्राचार्य सहभागी हुनुहुन्थ्यो भने रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा.जस्मिन जोशी, डा. हितेश रायमाझी, डा सुधिर जोशी, डा जी एलिनले कार्य गर्नु भएको थियो । प्याथोलोजि विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे, ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा बादल महर्जन, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गर्नु भएको थियो भने नर्सिङ विभागबाट निर्देशक पुजा कोइराला, इन्चार्जहरु अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, मीना खर्वुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो । फोकल पर्सन गौरव पन्थ तथा राम चन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए ।

काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, काठमाण्डौमा मिति २०८१।०२।०१ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मृर्गौला र एक कलेजो प्राप्त भएको थियो । उक्त अङ्गदान कार्य सफल गर्नका लागि सोही अस्पतालका सञ्चालक माननीय सुनिल शर्मा, सर्जन डा रोशन घिमिरे, नेफ्रोलोजिष्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिष्ट डा विजय के.सी., पोष्ट मार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ, लगायत बाट सकरात्मक सहयोग प्राप्त भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. प्रदीप पौडेलज्यू मस्तिष्क मृत्यू पश्चात हुने अंगदान जस्तो पवित्र कार्यलाई थप प्रोत्साहान प्रदान गर्न अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी रु २ लाख तथा अंगदाता अस्पताललाई रु ७५ हजार सहयोग गर्ने घोषणा गर्नु भएकोले यस कार्यले अब गति लिने विश्वास गरिएको छ ।

कलेजो प्रत्यारोपण

केन्द्रले नेपालको इतिहासमा वि सं २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको हो भने नेपाली टोलीबाट नेपालकै पहिलो कलेजो प्रत्यारोपण डा पुकारको नेतृत्वमा २०७५ कार्तिक १२ गते भएको हो र हाल सम्म देशको सबै भन्दा धेरै (३४ जना) र संभवतः संसारकै सबै भन्दा सस्तो मुल्यमा (रु १५ देखि २० लाख) केलेजो प्रत्यारोपणमा गर्ने गरेको छ । ३ वर्षको बालक देखि ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइ सकेको छ ।

मस्तिष्क मृत्यु पश्चात प्राप्त कलेजो र मृर्गौला एकै व्यक्तिमा प्रत्यारोपण गर्नु हुँदै डा. पुकार चन्द्र श्रेष्ठ

मस्तिष्क मृत व्यक्तिबाट अंगदान र प्रत्यारोपण ः

डा. पुकारको नेतृत्वमा देशमै पहिलो पटक मिति २०७४ बैशाख २८ गते मस्तिष्क मृत व्यक्तिबाट दुई मृगौला प्रत्यारोपण गरिएको थियो । तत्पश्चात हालसम्म ६ जना व्यक्तिबाट १२ जनाको मृर्गौला र ४ जनाको कलेजो गरी जम्मा १५ जनाको प्रत्यारोपण भएको छ ।

नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन ४ देखि ६ जनाको मृत्यू हुने गर्दछ र काठमाण्डौ उपत्यकामा मात्रै वार्षिक करीब १००० जनाको मस्तिष्क मृत्यू हुने अनुमान गरिएको छ । एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ जनासम्मले पुर्नजीवन पाउन सक्दछ । जसमा दुई मृर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्र गरी ८ जनाले पुर्नजीवन पाउन सक्दछन ।

आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडाको बाबजुद पनि अरु व्यक्तिको जीवन बचाउनको लागि अंगदान गर्ने मञ्जुरी दिनु भन्दा ठूलो महादान के हुन सक्दछ र ?

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल सम्म भएका मुख्य मुख्य उपलब्धीहरु

  • स्थापना २०६८ फगुन (२०१२ फेब्रेवरी)
  • डायलाइसिस सेवा आरम्भ २०६९ कार्तिक २७ (२०१२ नोभेम्बर १२)
  • मृगौला प्रत्यारोपण आरम्भ २०६९ माघ ६ (२०१३ जनवरी १९)
  • निःशुल्क डायलासिस सेवा आरम्भ २०६९ चैत्र १६ (२०१३ मार्च २९)
  • मानब अंग प्रत्यारोपण ऐन २०७२ फागुन १३ (२०१६ फेब्रुवरी २५)
  • देशकै पहिलो पियर एक्सचेन्ज मृगौला प्रत्यारोपण २०७३ श्रावण १२ (२०१६ जुलाई २७)
  • कार्डियाक सर्जरी २०७३ मंसिर २ (२०१६ नोबेम्बर १७)
  • मानव शरीरको अंग प्रत्यारोपण नियमावली २०७३ मंसिर १६ (२०१६ डिसेम्बर १)
  • देशकै पहिलो पहिलो कलेजो प्रत्यारोपण २०७३ मंसिर २२ (२०१६ डिसेम्बर ७)
  • देशकै पहिलो निःशुल्क मृगौला प्रत्यारोपण २०७४ बैशाख २ (२०१७ अप्रिल १५)
  • देशकै पहिलो मष्तिस्क मृत्यु भएकोबाट मृगौला प्रत्यारोपण २०७४ बैशाख २८ (२०१७ मे ११)
  • देशकै पहिलो मष्तिस्क मृत्यु भएकोबाट कलेजो प्रत्यारोपण २०७५ कार्तिक १२ (२०१८ अक्टोबर २९)
  • एक वर्षे प्रत्यारोपण फेलोसिप कार्यक्रम सञ्चालन २०८१ फागुन २८ (२०२५ मार्च १२)
  • मष्तिस्क मृत अंगदातावाट प्राप्त मृगौला र कलेजो देशमै पहिलो पटक एकै व्यक्तिमा सफल प्रत्यारोपण २०८२ जेष्ठ १ (२०२५ मे १५)
  • देशको सबैभन्दा धेरै मृगौला (१४२१) र कलेजो (३४) प्रत्यारोपण

समन्वय इकाईको व्यवस्था ः

नेपाल सकारले मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपणको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई समन्वय इकाइ तोकेको छ । उक्त इकाइका राष्ट्रिय संयोजक डा कल्पना कुमारी श्रेष्ठले अंग दान र अंग प्रत्यारोपण कार्य सरकारी ऐन नियम बमोजिम पारदर्शी ढंगले हुने भएको हुँदा यस कार्यमा सबैको सहयोगको लागि आह्वान गर्नुभयो । अंग फेल भएका व्यक्तिहरु अंग प्राप्त गर्नका लागि समन्वय इकाइमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा आफ्नो नाम लेखाउन र ३÷३ महिनामा अद्यावधिक गर्न आग्रह गर्नु भयो । आफ्नो मृत्यू पश्चात अंग गर्न चाहाने जो सुकैले घरमा बसी बसी अनलाईन मार्फत वा मोवाइल एम्स बाट फारम भर्न सकिने तथा भौतिक रुपमा केन्द्रमा आई अंगदान सम्बन्धी मञ्जुरीनामा दर्ता गर्ने व्यवस्था समेत मिलाइको छ ।

प्रत्यारोपण सेवा विस्तारमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको भूमिका र आवश्यकता .

देशको सातवटै प्रदेशमा प्रत्यारोण सेवा विस्तार गर्ने योजना बनाएको यस केन्द्रले चार वटा प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको ( बागमती, गण्डकी, कर्णली, लुम्बिनी.) र बाँकी तीन वाटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको छ । तर प्रत्यारोण सेवा विस्तारका लागि आवश्क विशेषज्ञ जनशक्ति उत्पादन गर्न केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा विलम्ब भइ रहेको छ भने उपयुक्त जग्गाको प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट ३०० देखि ५०० बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको छ । केन्द्रले भक्तपुर इट्टा टायल कारखाना रहेको उद्योग मन्त्रालय मातहतको जग्गा ( लिज डेढ वर्ष अघि नै समाप्त भईसकेको), सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालको जग्गा मध्ये कुनै एक ठाउँको जग्गा प्रप्ती गर्न गरेको पहल हाल सम्म साकार हुन सकेको छैन ।

सारांश

एकै व्यक्तिमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मृर्गौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षत्रले ठूलो फड्को मार्न सम्भब भएको छ।

अंग फेल भएका गरीब नेपाली जनताको ज्यान बचाउन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आफ्नै एक इन्च पनि भवन नभएको, उपलब्ध भवन अत्यन्तै साँघुरो भएको तथा केन्द्र आफैँले ३०० बेडको भवन बनाउन सक्षम रहेको हुँदा उपयुक्त जग्गा तत्काल उपलब्ध गराउनको लागि नेपाल सरकार सँग जोडदार माग गर्दछ । मस्तिष्क मृत्यू पश्चातको अंगदान र प्रत्यारोपण संसारमै कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यस सम्बन्धि व्यापक जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्च्छिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यू पश्चात हुने अंगदान बाट हुन सक्दछ र देश अंग प्रत्यारोपण्मा आत्म निर्भर हुन सक्दछ।

यो कार्य यहाँ सम्म आइपुग्न सहयोग गर्ने पत्रकार, कालाकार राजनीतिज्ञ, समाजसेवी तथा चिकित्साकर्मी सबैमा आभार व्यक्त गर्दछौं ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर

२०८२ जेष्ठ ११ गते, आइतवार




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top