काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको अवसर पारेर नागरिक अगुवा डा. महेश मान श्रेष्ठलाई सम्मान गरेको छ ।
डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि सामाजिक क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरेको हो । कार्यक्रममा डा. श्रेष्ठले नेपालमा तीन वटा धार मध्ये पश्चगामी र यथास्थितिवादी धार देशको लागि अभिशाप रहेको ठहर गर्दै नेपालमा नयाँ ढंगको संघीय जनगणतन्त्र बहाल गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो समयमा विभाजित रहेका बामपन्थी शक्ति एकै ठाउँमा आउँनुपर्ने पनि धारणा राखे । देशघाती, भ्रष्टाचार र उत्पीडित आदिवासी जनजातिदेखि अन्य समुदायलाई दमन गरेको हुनाले देश नाजुक अवस्थामा पुगेको उनको आरोप छ ।
नेपालमा विदेशी मोडलको जनगणतन्त्र नभई नेपालको आफ्नै मौलिक शैलीको व्यवस्था लागू गर्नसके देश विकास हुने डा. श्रेष्ठको दाबी छ । कार्यक्रममा मोर्चाका अध्यक्ष पवन मान श्रेष्ठले भाषा, संस्कृति, राजनीतिक अधिकार, नेवाः स्वायत्त प्रदेश, स्वशासन र पहिचानको लागि मोर्चा गठन भएको जानकारी दिए । यसको लागि धेरै व्यक्तिले जीवन उत्कर्ष गरेकोदेखि बेपत्ता हुनुपरेको स्मरण गरे । त्यसो भएपनि बामपन्थी आन्दोलनका तत्कालीन शिर्ष नेतृत्वले राष्ट्रिय र वर्गीय आत्मसमर्पण गरेकोप्रति उनको असन्तुष्टि रहेको छ । अहिले पुनः एकढिक्का भएर अधिकारको लागि संघर्ष गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल, सीताराम तामाङ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, प्रा.डा. जगदिशचन्द्र, मोर्चाका उपाध्यक्ष सुरेश श्रेष्ठ, महासचिव शिव श्रेष्ठलगायतको सहभागिता थियो ।