मध्यपुर थिमि । विद्यार्थीहरूमा वातावरण सम्बन्धी सचेतना जगाउन तथा हाम्रो वातावरण हामी आफैले नै संरक्षण गर्नुपर्छ भन्ने व्यावहारिक ज्ञान दिन विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले जेष्ठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रमको आयोजना गरी मनाएको छ ।
विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु सहभागी भई मनाइएको उक्त कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरुले पूर्व प्रा वि ब्लक पाटी विहारमा फुल तथा विभिन्न थरिका बोटबिरुवा रोपी मनाएका थिए भने कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले सिद्धिकाली मन्दिर र त्यसको आसपासका क्षेत्रमा फूल तथा वृक्षारोपण गरी कार्यक्रमलाई सफल बनाएका थिए ।
त्यस्तै विद्यालयका विभिन्न बाल क्लबहरूमध्ये विनायक इको क्लब र विनायक इन्ट्राक्ट क्लबले जिल्ला वन कार्यालय एवम् विभित्र नर्सरीहरुबाट प्राप्त विभिन्न प्रजातिका बोटबिरुवाहरू ल्याएर तथा विद्यार्थीहरु आफैले समेत ल्याएका बिरुवाहरू निलबाराही मन्दिर परिसर तथा आसपासका क्षेत्रमा वृक्षारोपण गरी वातावरण सम्बन्धी सचेतना जगाउन कार्यक्रम सफल पारेका जनाएको छ । त्यस्तै सोही अवसरमा विद्यालयमा आयोजना गरिएको नारालेखन तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थीहरूलाई विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले ट्रफी एवं पुरस्कार वितरण गरेको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शैक्षिक रुपान्तरणका लागि व्यावहारिक र सीपमूलक एवं प्रयोगात्मक शिक्षाका लागि विद्यालय लागिपरेको बताउँदै स्वच्छ, सफा र हराभरा वातावरण खातिर विद्यार्थीहरुले थालेको वातावरण संरक्षण तथा बचाउ अभियानको सफलताको शुभकामना दिएको थियो ।
कार्यक्रम निलबाराही क्षेत्र संरक्षण सरोकार समितिको आह्वानमा विनायक इको क्लब तथा इन्ट्राक्ट क्लबको संयोजनमा भएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
