भँगेरो – यो सानो, सौम्य चरो, जो सदियौँदेखि मानिससँगै बसेको छ । विशेषगरी नेवार समुदायको परम्परागत झिंगटी घरहरूमा यसले सजिलै बासस्थान पाउने गथ्र्यो । ती घरहरूका विभिन्न तहहरू – भुईँतलाको ‘छेली’, पहिलो तल्लाको ‘मातं’, दोस्रो तल्लाको ‘च्वतं’, तेस्रो तल्लाको ‘बइगः’, कौसीको ‘कसि’ र छतको ‘पोंता’ – यी सबै संरचनाले एउटा विशिष्ट परम्परागत घरको चित्र बनाउँछ ।
तर यति मात्रले नेवार समुदायको घरलाई परिभाषित गर्न पर्याप्त छैन । यस्ता घरहरूमा खासगरी भँगेरो बसोबास गर्न बनाइने सानो प्वाल पनि यत्तिकै राखिएको थिएन । सायद अरु समुदायमा पनि यस्ता प्वालहरू पाइन्थे । तर किन राखिन्थे यस्ता प्वालहरू ? भँगेरोलाई बास दिनुका पछाडि के रहस्य थियो ? यो प्रश्न सोच्नलायक छ ।
मेरो ध्यान यतातिर जानु बाबुकाजी श्रेष्ठका कारण हो । उहाँ मेरो पुरानो घरको छिमेकी हुनुहुन्छ । उहाँ भँगेरो संरक्षण अभियानमा जुटिरहनुभएको रहेछ । पहिलो भेटमै उहाँले भने, “भँगेरोलाई बास दिनुपर्छ ।” त्यसपछि अर्को भेटमा उहाँले परम्परागत घरझैँ प्वाल बनाइ भँगेरोलाई सुरक्षित बास दिने विचार साझा गर्नुभयो ।
उहाँले यो विचार धेरैसँग बाँडिसक्नुभएको रहेछ । वडास्तरदेखि नगरपालिकाको कार्यालय र दिल्लीसम्म पुगेर भँगेरोको बासस्थलका पक्षमा आवाज उठाउनुभयो । हालै, थिमिको निगुपुखु परिसरमा वडा र नगरपालिकाको सहकार्यमा नमुना भँगेरो बासस्थानसहितको घरसमेत निर्माण गरिएको छ । यो अभियानमा तुईराम प्रजापति, रामसुन्दर (ध्याको) श्रेष्ठ, संजय था श्रेष्ठ, दुर्गा मोहन श्रेष्ठ, श्रीराम हाकुतरी, वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, मथिनपा मेयर सुरेन्द्र श्रेष्ठलगायत थुप्रै व्यक्तिहरूको योगदान उल्लेखनीय छ ।
बाबुकाजी श्रेष्ठको भनाइअनुसार, नयाँ घरको नक्सा पास गर्दा भँगेरोको लागि प्वाल राख्न अनिवार्य बनाउने प्रस्ताव पनि नगरपालिकासमक्ष राखिसकिएको छ । यो विषय विस्तृत छलफलको खाँचो भएको मलाई लाग्या े।
नेपाली समाजमा भँगेरोलाई शुभ र सौम्य चरो मानिन्छ । घरमा यसलाई देख्दा शुभ हुन्छ भन्ने विश्वास छ । पर्यावरणीय सन्तुलनमा पनि यसको भूमिका महत्वपूर्ण छ – यसले बालीमा लाग्ने हानिकारक किराहरू खान्छ । यस्ता उपयोगी र सांस्कृतिक दृष्टिले महत्वपूर्ण चरालाई हाम्रो पुर्खाहरूले आफ्नै घरमा बास दिएर संरक्षण गर्नु तिनको दूरदर्शिता नै मान्नु पर्दछ ।
तर आधुनिकता र शहरीकरणको होडमा, मानिसहरूले नयाँ घर बनाउँदा यस्ता प्वाल राख्न छोडेका छन् । नतिजा – भँगेरो बास खोज्दै बिजुलीको तारमा बस्न बाध्य भयो । त्यसले गर्दा यो असुरक्षित बन्न पुग्यो । कतिपयलाई गुलेलीले मारिएको पनि देखिएको छ ।
भँगेरोको संख्या दिनानुदिन घट्दो छ । के अब हामी मूकदर्शक मात्र बन्ने त ? के यो चराको संरक्षण हाम्रो जिम्मेवारी होइन ? के हाम्रो चेतनाको स्तर प्रकृति र पर्यावरणप्रति यति कमजोर भइसकेको हो ?
स्थानीय सरकार तथा सम्पूर्ण चेतनशील व्यक्तिहरूलाई यस विषयमा गम्भीर मनन गर्न म आग्रह गर्दछु । भँगेरो संरक्षण अभियानमा सहकार्य र समर्थनका लागि म पनि आह्वान गर्दछु ।
अन्ततः, मलाई पनि यही लाग्छ – भँगेरोलाई बास खोइ ?