भक्तपुर । मध्यपुर थिमि नगरका अग्रज बामपन्थी नेता एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार तथा विभिन्न सामाजिक संघसस्थामा कार्यरत रही समाजसेवा गरिरहनु भएका कृष्णलाल गोजा श्रेष्ठको असामयिक निधन भएको छ ।
७३ वर्षको उमेरमा श्रेष्ठको मध्यपुर थिमि–४ को तछुटोल सिचुननी स्थित निजी निवासमा असामयिक निधन भएको हो । मधुमेहको नियमित औषधि सेवन गरिरहेका श्रेष्ठको स्वास्थ्यमा समस्या थिएन । सोमबार बिहान करिब साढे ९ बजे घरमै बसिरहेका बेला उनको देहान्त गएको र अस्पतालसम्म पनि पुर्याउन नपाएको पारिवारिक श्रोतले जनाएको छ ।
२०१८ सालदेखि बामपन्थी राजनीतिमा क्रियाशिल कृष्णलाल नेकपाको चौथो महाधिवेश, एकता केन्द्र र जनमोर्चा हुँदै नेकपा (माओवादी केन्द्र)को राजनीतिमा सक्रिय रहेका थिए । भूमि ब्यवस्था आयोगको पूर्व जिल्ला सदस्य र सामुदायिक बन उपभोक्ता समितिका सदस्यसमेत रहेका कृष्णलाल सौम्य र इमान्दारीका पर्याय थिए । स्थानीय संघसस्थाको सफलतापूर्वक नेतृत्व गरी उनले मध्यपुर थिमि क्षेत्रका लागि अमूल्य योगदान गरेका छन् ।
उनको निधनलाई पार्टी र कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षती पुगेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिलिप प्रजापतिले बताएका छन् । उनको पार्थिव शरीरलाई सोमबारनै सूर्यविनायक नपाको दधिकोटस्थित क्वाछें मन्दिर परिसरमा रहेको दाहसंस्कार गरिने क्षेत्र दक्षिण बाराही घाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले पार्टीको झण्डा ओढाइ सम्मानसहित अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको माओवादी केन्द्र मध्यपुर थिमि नगर समितिले जनाएको छ ।
त्यस्तै उनको पार्थिव शरीरमा नेपालभाषा आन्दोलनको अग्रणी संस्था विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले गुथिको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गुथिका पुर्व अध्यक्ष कृष्णभक्त वोडे श्रेष्ठले जानकारी दिए । श्रेष्ठ गुथिका आजीवन सदस्यसमेत हुन् ।
कृष्णलालका सुनिल श्रेष्ठ र सुन्दरलाल श्रेष्ठ दुई छोरा र दुई छोरी छन् ।