काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले आफ्नो चिकित्सा सेवामा ऐतिहासिक सफलता हासिल गर्दै पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरेको छ । ५६ वर्षीय पोखराबासी ईश्वरबहादुर कार्कीको कलेजो उनका २६ वर्षीय छोरा आयुष कार्कीले दान गरेका थिए । जेठ ८ गते सम्पन्न उक्त शल्यक्रिया नेपालकै चिकित्सा इतिहासमा एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।
कलेजो प्रत्यारोपण चिकित्सा विज्ञानमा अत्यन्तै जटिल प्रक्रिया मानिन्छ जसमा अनुभवी र बहु–विषयगत टोलीको समन्वय आवश्यक पर्छ । दाताको शल्यक्रियामा ९ घण्टा र प्राप्तकर्ताको शल्यक्रियामा १३ घण्टा लागेको थियो । भारतको अमृता अस्पतालसँग सहकार्य गर्दै मेडिसिटीको चिकित्सक टोलीले यो जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
आयुष कार्कीका अनुसार, “हामी उपचारको खोजीमा दुईपटक भारत गएका थियौं तर सन्तोषजनक सल्लाह नपाएपछि नेपालमै सम्भव भएको जानकारी पायौं । मेडिसिटीको सेवा र सुविधाले हामीलाई विश्वास दिलायो ।” उनले उपचार नेपालमै गराउँदा समय र खर्च दुवै बचत भएको उल्लेख गरे ।
मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले यो सफलतामा अस्पतालको दक्ष बहु–विषयगत चिकित्सक टोलीको योगदान रहेको बताए । उनले भने, “हाम्रो लक्ष्य नेपाली नागरिकलाई आफ्नै देशमा विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।”
ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. उमिद कुमार श्रेष्ठका अनुसार, बिरामी ईश्वरबहादुरको कलेजो र मिर्गौला दुवै गम्भीर रुपमा प्रभावित थिए । उनलाई पेटमा पानी जम्ने, होस गुम्ने, र रगत वान्ता हुनेजस्ता लक्षण देखिएका थिए । त्यस्ता जोखिमका बीच सफल प्रत्यारोपण गर्नु चिकित्सकीय दृष्टिकोणले उल्लेखनीय सफलता हो ।
कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले भने, “हामीले बिरामी र परिवारलाई सम्भावित जोखिमहरूबारे स्पष्ट जानकारी दिएका थियौं । मिर्गौला समस्यालाई पछि सम्बोधन गर्ने योजना बनाएका थियौं र कलेजो प्रत्यारोपणपछि त्यसमा उल्लेखनीय सुधार देखिएको छ ।”
नेपालमा वार्षिक करिब २००–३०० जनालाई कलेजो प्रत्यारोपण आवश्यक पर्ने देखिन्छ । तर, एम्बेसी अफ नेपाल, दिल्लीका अनुसार, सन् २०२३–२४ मा मात्रै ७० भन्दा बढी नेपालीले भारतमा कलेजो प्रत्यारोपण गराएका छन् । मेडिसिटीको सफल प्रयासले यस प्रवृत्तिमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसअघि मेडिसिटी अस्पतालले ४५ भन्दा बढी मिर्गौला प्रत्यारोपण र ५०० भन्दा बढी हिप तथा जोर्नी प्रतिस्थापन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अब सफल कलेजो प्रत्यारोपणको थालनीले अस्पतालको अन्तर्राष्ट्रियस्तरको सेवा विस्तारमा नयाँ आयाम थपेको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
