भक्तपुर । विद्यार्थीको स्वास्थ्यप्रति विशेष चासो दिँदै विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले साउन ६ गते एकदिने दन्त स्वास्थ्य शिविरको आयोजना गरेको छ । काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ मध्यपुरको सहआयोजनामा आयोजित शिविरमा विद्यालयका प्राथमिक तहमा अध्ययनरत २५० भन्दा बढी विद्यार्थीहरूको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको उक्त शिविरमा काठमाडौँ मेडिकल कलेजका दन्त चिकित्सकहरू तथा सहयोगी कर्मचारीहरूले दाँतको समस्या भएका विद्यार्थीलाई आवश्यक परीक्षण तथा परामर्श दिएका थिए ।
शिविरमा अभिभावकहरूका समेते उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले स्वस्थ शरीर भएकै कारण व्यक्तिमा तीव्रता र उत्कृष्टता विकसित हुने विश्वास राख्दै विनायक शिक्षा निकेतन स्थापना कालदेखि नै विद्यार्थीको सम्पूर्ण स्वास्थ्य र समग्र विकासमा ध्यान दिदै आएको जानकारी दिए ।
विद्यालयले समय–समयमा विविध स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । प्रिन्सिपल प्रजापतिका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा स्वास्थ्यप्रति चेतना वृद्धि हुने र अभिभावकमा पनि स्वास्थ्यसम्बन्धी सचेतना प्राप्त हुने विश्वास लिइएको छ ।