भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ हटाउने प्रयास भए वर्तमान सरकारलाई कांग्रेसले समर्थन जारी नराख्ने चेतावनी दिएको छ । मंगलबार ४३औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिको आयोजनामा भएको विचार गोष्ठी तथा नेपाल तरुण दलको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेको हो ।
शर्माले निजामति सेवामा दुई वर्षे कुलिङ पिरियडलाई हटाउने कुनै पनि कदम गलत हुने उल्लेख गर्दै भने, “कुलिङ पिरियड सम्बन्धी जसले गल्ती गरे पनि कारवाही हुन्छ । सायद २ वर्षको साटो साढे २ वर्ष होला, तर कुलिङ पिरियड हट्दैन । राष्ट्रिय सभाबाट यसलाई समाधान गरिन्छ । यदि प्रधानमन्त्रीले हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरित काम भयो भने कांग्रेस सरकारमा बस्दैन ।”
भूमि विधेयकको सन्दर्भमा उनले समितिमा लैजाँदै व्यापक सहमतिका आधारमा अघि बढाइने जानकारी दिए । पत्रकार रवि लामिछानेको मुद्दाबारे टिप्पणी गर्दै उनले कांग्रेस, एमाले वा सरकार कसैले पनि प्रतिशोध साँधेर उनलाई जेल पठाएको भन्ने आरोप आधारहीन भएको बताए । “संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा कानुनअनुसार निकायले छानबिन गरी मुद्दा दर्ता गरेको हो, र अदालतले कानुन बमोजिम नै पुर्पक्षमा पठाएको हो,” उनको भनाइ थियो ।
महामन्त्री शर्माले वर्तमान राजनीतिक मार्गदिशालाई बीपी कोईरालाको विचारधारासँग जोड्दै पहिला बीपीका विचारको पक्ष र विपक्षमा बहस हुन्थ्यो, अहिले सबै पार्टीहरूले बीपीलाई आत्मसात गर्दै अगाडि बढेकोले देश लेीपीको नीतिमा अघि बढेको दावी गरे ।
राजतन्त्रसँग सहकार्य गरेर प्रजातन्त्र स्थापना गर्न खोज्ने बीपीको प्रयासलाई बुझ्न नसकेकै कारण राजतन्त्रको अन्त्य भएको टिप्पणी गर्दै शर्माले यदि बीपीलाई कांग्रेस, राजतन्त्र र अन्य दलहरूले राम्ररी बुझेका भए, राजा नागार्जुनको जंगलमा सीमित हुन नपर्ने र कम्युनिस्टहरूले पनि बीपीलाई बुझेको भए नेपालमा १० वर्षे युद्ध गर्नु नपर्ने धारणा व्यक्त
तरुण दलको भूमिका सन्दर्भमा महामन्त्री शर्माले समाजमा विद्यमान कुरीति र कुसंस्कार अन्त्य गर्नुपर्ने जिम्मेवारी तरुण दलको रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस भक्तपुरका सभापति तथा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले शेखर कोइराला नेतृत्वको सरकार बन्ने भनेर अफवाह फैलाउने काम अराजकता निम्त्याउने प्रयास भएको आरोप लगाए । उनले कांग्रेसले सबै भ्रम, अफवाह र चुनौती चिर्दै आगामी २०८४ सालको निर्वाचनमा केन्द्र र स्थानीय तहमा बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
थापाले पार्टीका भ्रातृ संस्थाको अधिवेशन महँगो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई समयअनुसार परिमार्जन गर्नुपर्ने धारणा राखे उनले, मध्यपुर थिमि तरुण दलको अधिवेशनको परिणामले भविष्यमा भक्तपुर कांग्रेसको नेतृत्व निर्धारण गर्न सक्ने रूपमा लिन आग्रह गरे ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापति हरीदास प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
