९० वर्ष पुगे दलाई लामा, नयाँ अवतारबारे चीनलाई कडा सन्देश

0


काठमाडौं ।
भारतमा निर्वासनको जीवन बिताइरहेका तिब्बती धर्मगुरु १४ औं दलाई लामाले आफ्नो ९० औं जन्मदिनको अवसरमा चीनलाई चेतावनीमूलक सन्देश दिँदै आफूलाई पछ्याउने आध्यात्मिक संस्थाको निरन्तरतामा बाह्य हस्तक्षेप अस्वीकार्य हुने बताएका छन् । उनले आफ्नो मृत्युपछि १५औं दलाई लामाको अवतार पहिचान गर्ने सम्पूर्ण अधिकार गादेन फोड्राङ ट्रस्टलाई मात्रै रहने पनि स्पष्ट पारेका छन् ।

बुधबार धर्मशालाबाट सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत दलाई लामाले भने, “मेरो नाममा रहेको शताब्दी पुरानो आध्यात्मिक संस्था मेरो मृत्युपछि पनि जारी रहनेछ र मेरो उत्तराधिकारी चयन गर्ने अधिकार बेइजिङ सरकारसँग होइन, मेरो सचिवालयसँग हुनेछ ।”

सन् १९३५ जुलाई ६ मा तिब्बतको ताक्सेरमा जन्मिएका दलाई लामाको वास्तविक नाम ल्हमो थोन्डुप हो । उनी सन् १९५९ मा चिनियाँ कम्युनिस्ट शासनको दमनका कारण भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा निर्वासित भएदेखि त्यहीँबाट तिब्बती निर्वासित समुदायको नेतृत्व गरिरहेका छन् । चीनले तिब्बतलाई आफ्नो अविभाज्य हिस्सा घोषणा गरेसँगै दलाई लामालाई ‘विभाजनवादी’ भनेर चित्रित गर्दै आएको छ । नेपाल सरकारले समेत तिब्बतलाई चीनको अभिन्न अङ्गका रूपमा मान्यता दिँदै एक चीनको नीति कायम राख्दै दलाई लामाका गतिविधिहरूमा रोक लगाउँदै आएको छ ।

दलाई लामाको अवतारवाद बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधिसत्त्व दर्शनमा आधारित छ । तिब्बती मान्यताअनुसार दलाई लामा बोधिसत्त्व अवलोकितेश्वरका पुनर्जन्मका रूपमा अवतरित हुने मान्यता रहेको छ । नयाँ अवतार पहिचानका लागि सपनादेखि पवित्र ल्हामो तालसम्मका संकेतहरू अध्ययन गरिन्छ भने पहिलाको दलाई लामाका सामग्रीहरू चिनाउने परीक्षण समेत गरिन्छ ।

दलाई लामा भन्छन्, “धर्मको मामिलामा अधिनायकवादी सरकारको हस्तक्षेप अमान्य छ । अवतार चिन्ने निर्णय धार्मिक विधिसम्मत र आध्यात्मिक संकेतमा आधारित हुनेछ, राजनीतिक स्वार्थमा होइन ।” सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका दलाई लामालाई अमेरिकीलगायतका पश्चिमी मुलुकहरूले समर्थन गर्दै आएका छन् ।  चिनियाँ नेतृत्वले भने आगामी १५औं दलाई लामाको चयन प्रक्रियामा संलग्न हुने संकेत दिँदै आएको छ । यद्यपि, दलाई लामाको पछिल्लो अभिव्यक्तिलाई यसप्रति स्पष्ट अस्वीकारको रूपमा हेरिएको छ ।

दलाई लामाको ९०औं जन्मोत्सव आगामी आइतबार मनाइँदैछ । धर्मशालामा त्यसको तयारी तीव्र गतिमा भइरहेको जनाइएको छ ।

                                                                                                                                   - एजेन्सीकाे सहयाेगमा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top