![]() |
गाजा क्षेत्रमा राहत लिनका लागि लागेको
लाइन । तस्बिरः बिबिसी |
एजेन्सी । गाजा क्षेत्र फेरि एकपटक विश्वसामु मानवताविरोधी व्यवहारको उदाहरण बनेको छ । बीबीसीसहितका अन्तर्राष्ट्रिय संचारमाध्यमले सार्वजनिक गरेको विवरण अनुसार, राहतका लागि लाम लागिरहेका भोका र थकित प्यालेस्टाइनीहरूमाथि इजरायली पक्षबाट अमेरिकाको आडमा गोली चलाउने कार्य भएको छ, जसमा पूर्व इजरायली सुरक्षा निकायसँग आबद्ध व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको गम्भीर आरोप लगाइएको छ ।
यो घटना कुनै युद्धमैदानको होइन, मानवीय राहत वितरणस्थलको हो – जहाँ शान्तिपूर्वक खाना लिन पुगेका नागरिकहरूमाथि गोली चलाइएको हो । पूर्व सुरक्षाकर्मीहरूका अनुसार, राहत लिन जाँदै गरेका मानिसहरू विस्तारै हिँडेको भन्दै उनीहरूमाथि गोली चलाइएको हो । यो दाबी आफैँमा अमानवीयता र निन्दनीय चरित्रको गम्भीर प्रतीक हो ।
इजरायली संस्था ‘गाजा ह्युमनिटेरियन फाउन्डेसन’ (न्ज्ँ) ले उक्त आरोप अस्वीकार गर्दै घटनालाई सामान्यीकरण गर्न खोजे पनि अन्तर्राष्ट्रिय निकायहरूका तथ्यांकले त्यहाँको अवस्था भयावह रहेको उजागर गर्छ । राष्ट्रसङ्घ तथा त्यस क्षेत्रका चिकित्सकहरूको अनुसार, जिएचएफले राहत वितरण थालेपछि करिब ४ सय प्यालेस्टाइनी नागरिक मारिएका छन् – ती सबै मानवीय सहायताको खोजीमा निस्किएका व्यक्ति थिए ।
यो घटना कुनै एक दिनको दुर्घटना होइन, इजरायली नाकाबन्दी र दमनकारी नीतिको निरन्तरता हो । इजरायलले गाजामा ११ साता राहत अवरुद्ध गरिरहँदा सयौं नागरिक भोकै, औषधिविहीन र सुरक्षित आश्रयबिनाको जीवन बिताउन बाध्य भएका थिए । जब राहत वितरण सुरु भयो, तब पनि शान्तिपूर्ण नागरिकहरूलाई लक्षित गरी गोली हानिनु अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघन हो । इजरायलको तेल अभिभमाथि इरानको आक्रमणका क्रममा मानव अधिकारको गम्भीर उल्लंघन र युद्ध अपराध भएको देख्ने न्यतान्याहु प्रशासन आफैले प्यालेस्ताइनमा गरेको क्रुरताको बारेमा मौन रहनु र पश्चिमा राष्ट्रहरु इजरायलको निन्दनीय कार्यमा पनि मौन बस्नुबाट मानवताको लागि इजरायल भविष्यमा खतरनाक साबित हुनेछ । यो पश्चिमा राष्ट्रकै लागि पनि भोलीका दिनमा विश्व राजनिितमा इजरायलको दबदबामा रहनु पर्ने स्थितिको सिर्जना हुनेछ ।
मानवअधिकारको गम्भीर उल्लंघन
सन् १९४९ को जेनेभा सन्धिले युद्धपीडित जनतामाथिको सुरक्षालाई आधारभूत मानव अधिकारको रूपमा सुनिश्चित गरेको छ । तर गाजामा भइरहेको व्यवहार – चाहे राहत अवरुद्ध गर्ने नीति होस् वा राहत लिन गएका नागरिकहरूलाई गोली हान्ने कार्य – दुवै मानवीय मर्यादाको घोर उल्लंघन हुन् ।
अझ चिन्ताजनक पक्ष यो हो कि यस घटनामा अमेरिकासमेत अप्रत्यक्षरूपमा संलग्न रहेको देखिएको छ । यदि अमेरिकी संस्थाबाट राहत वितरण गरिँदै थियो भने, तिनका सुरक्षा संयन्त्रहरूले यस्ता क्रियाकलाप गर्न दिनु हुन्नथ्यो । यस्ता घटनाले अमेरिकी भूमिका र नियतप्रति पनि गम्भीर प्रश्न उठाउँछ । गाजामा राहत वितरणमै नागरिकलाई गोली हानिनु केवल युद्ध रणनीति नभई सोझै नरसंहारतर्फ उन्मुख प्रवृत्ति हो । यसले इजरायलको सुरक्षा सोच, प्यालेस्टाइनीहरूलाई हेर्ने दृष्टिकोण, र अन्तर्राष्ट्रिय समुदायको मौनतालाई पुनः प्रश्नको घेरामा ल्याएको छ ।
प्यालेस्टाइनी जनतालाई ‘मानव’को दृष्टिकोणले नहेर्ने नीति, तिनका जीवनको मूल्य नमान्ने व्यवहार, र ‘सुरक्षाको नाममा’ गरिएको अन्धाधुन्ध हिंसा मानवता विरोधी अपराध हुन् । आज आवश्यक छ कि अन्तर्राष्ट्रिय समुदाय, विशेषतः राष्ट्रसंघ, मानवअधिकार परिषद् र क्षेत्रीय शक्तिहरूले निष्पक्ष, साहसी र दण्डमूलक कदम चालून् – किनकि गाजामा भइरहेको घटनामा ‘मौन’ रहनु स्वयं सह–अपराध बन्नु हो ।