- बाल स्वास्थ्यका सूचकहरूमा अग्रपङ्तिमा भक्तपुर
भक्तपुर । भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्लाका रूपमा पुनः औपचारिक घोषणा गरिएको छ। जिल्लाभित्रका चारवटै स्थानीय तहमा लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरेको पुष्टि भएपछि शनिबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई प्रमाणपत्र हस्तान्तरण गरे।
यसअघि २०७५ सालमै भक्तपुर पहिलोपटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भए तापनि पछिल्लोपटकको मूल्याङ्कनमा दिगोपनाका संरचना, अनुगमन तथा नियमित कार्यान्वयनका आधारमा नयाँ मापदण्ड पुरा भएपछि पुनः घोषणा गरिएको हो।
कार्यक्रममा मन्त्री थापाले खोप सुनिश्चिततालाई दीर्घकालीन रूपमा कायम राख्न ‘घरदैलोमै स्वास्थ्य सेवा’ दिने नीति अघि सारिएको बताए। उनले नसर्ने रोगहरूको पहिचानका लागि स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिंदै भक्तपुर र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हबका रूपमा विकास गरिने बताए। अस्पतालमा २४ सै घण्टा सेवा, प्रविधि अभिवृद्धि, जनशक्ति थप र पूर्वाधार विकास मन्त्रालयको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले नियमित खोप कार्यक्रमले बाल मृत्युदरमा ८० प्रतिशतले कमी ल्याएको उल्लेख गर्दै, कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिन स्थानीय तह, जनशक्ति, बजेट र सामुदायिक सहभागिता अपरिहार्य भएको बताइन्। “खोप कार्यक्रम सरकारी मात्र नभई सामुदायिक अभियान हो,” उनले जोड दिइन्।
भक्तपुर जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काका अनुसार जिल्लाभित्रका १६ देखि २३ महिनासम्मका ५,९०६ बालबालिकाले सम्पूर्ण खोप प्राप्त गरिसकेका छन्। तीमध्ये भक्तपुर नगरपालिकामा ७२०, मध्यपुर थिमीमा २,९१५, सूर्यविनायकमा १,३५३ र चाँगुनारायण नगरपालिकामा ९१८ बालबालिका रहेका छन्।
खड्काले खोप कार्यक्रमको सफल कार्यान्वयनमा महिला स्वयंसेविका, स्वास्थ्य चौकी र स्थानीय सरकारको महत्वपूर्ण योगदान रहेको बताउँदै भनिन्, “सहकार्यकै परिणामस्वरूप आजको यो ऐतिहासिक उपलब्धि सम्भव भएको हो।”
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख ईश्वरबहादुर थापाले खोप सुनिश्चितता घोषणा महत्वपूर्ण भए पनि यसको दिगोपनालाई कायम राख्न नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तार अपरिहार्य रहेको बताए।
प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने खोप कार्यक्रमलाई राज्यले सर्वोच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। “स्वस्थ बालबालिकामै समृद्ध भोलिको जग बस्छ,” उनले भने।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, खोप महाशाखा प्रमुख डा. अभियान गौतम, प्रदेशसभा सदस्यहरू भुवनकेशरी श्रेष्ठ भवना, धनेश्वरी प्रजापति, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको उल्लेखनीय सहभागिता रहेको थियो।
समापनमा मन्त्री थापाले चारै नगरपालिकासहित महिला स्वयंसेविका, स्वास्थ्यकर्मी र सरोकार निकायलाई खोप अभियानमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेका थिए।
स्वास्थ्य सेवा पहुँच, खोप सुनिश्चितता र समन्वयको सशक्त उदाहरण बनेको भक्तपुरले अब व्यवहारमै बाल स्वास्थ्य सूचकहरूमा देशको अग्रपङ्तिमा उभिनुपर्ने सरोकारवालाहरूको भनाइ छ।