काठमाडौं । टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालय, अमेरिका का प्रा.डा. माया प्रकास भट्टले काठमाडौँको बागमती नदीलाई मात्र छ महिनामा पूर्ण रूपमा निर्मल बनाउने प्रविधि आफूसँग रहेको दाबी गरेका छन्। एभरेष्ट इन्जिनियरिङ कलेजमा सम्पन्न ‘विश्वव्यापी जलको उपलब्धता, गुणस्तर, चुनौती तथा समाधान’ विषयक गोष्ठीका प्रमुख वक्ता रहेका प्रा.डा. भट्टले सरकारले आवश्यक सहयोग प्रदान गरेमा उक्त प्रविधिको प्रयोग गरेर बागमतीको प्रदूषण अन्त्य गर्न सकिने बताए।
त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका र अमेरिका तथा अन्य देशका प्रतिष्ठित विश्वविद्यालयहरूमा विद्यावारिधि र पोष्ट-डक्टरल अनुसन्धान गरेका प्रा.डा. भट्टले करिब दुई दशकदेखि जलस्रोत तथा वातावरणसम्बन्धी शिक्षण र अनुसन्धानमा सक्रिय छन्।
गोष्ठीमा बोल्दै उनले आफू र आफ्ना सहकर्मीहरूद्वारा विकसित ‘आयोन एक्सचेन्ज’, ‘रिभर्स अस्मोसिस (RO)’ र ‘नानो फिल्ट्रेसन’ प्रविधिहरूको प्रयोगमार्फत अत्यधिक प्रदूषित पानीलाई समेत प्रयोगयोग्य बनाउने सफल अनुसन्धान गरिसकेको जानकारी दिए।
उनका अनुसार, कुनै समय अत्यधिक प्रदूषित फ्रान्सको सीन नदी तथा युरोपको राइन नदीजस्ता जलाशयहरूमा पनि यिनै प्रविधिको उपयोग गरी पानीलाई पौडिन योग्य बनाइएको उदाहरण विश्व सामु छ। प्रा.डा. भट्टले व्यक्तिगत स्तरमै बागमती नदीको पानीको गुणस्तर र प्रदूषणका कारणहरूको वैज्ञानिक अध्ययन गरिरहेको जानकारी दिँदै प्रविधिको व्यावहारिक प्रयोग नेपालमा गर्न इच्छुक रहेको बताए।
गोष्ठीमा त्रिभुवन विश्वविद्यालय किर्तिपुर तथा त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरू, नेपाल इन्जिनियरिङ कलेज भक्तपुर तथा एभरेष्ट इन्जिनियरिङ कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो। मुख्य प्रस्तुति पश्चात विद्यार्थीहरूले आफ्ना अनुसन्धान विषयसँग मेल खाने विभिन्न जिज्ञासा राखेका थिए।
गोष्ठीमा उनले नेपाली अनुसन्धानकर्ता तथा विद्यार्थीहरूसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गर्दै, नेपाली विद्यार्थीहरूलाई विद्यावारिधि तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अवसरमा सिफारिस गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।